भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले गरेको सार्वजनिक यातायात बन्द गलत भएको भन्दै जिम्मेवार भएर अघि बढ्न अनुरोध गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको पूर्वाधार समितिमा बोल्दै उनले सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात व्यवसायीहरूले यातायात सञ्चालन गर्नुपर्ने भएपनि हालसम्म सञ्चालन नभएको बताएका हुन्।
‘यातायात बन्दै गर्ने सन्दर्भको कुराहरू गलत छ। ठिक छैन। किनभने नेपाल भनेको यातायातको क्षेत्रमा निजी क्षेत्रले मात्रै सञ्चालन गरेको छ। साझा यातायात सहकारीमार्फत सञ्चालन भएको छ,’ उनले भने, ‘त्यो शतप्रतिशत निजीले सञ्चालन गरेको हो। यो कुरामा जिम्मेवार भएर बढ्नुपर्छ। बन्दै गर्नेकुरा र जनतालाई दुःख दिने काम उहाँहरूले गर्नु हुँदैन।’
सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको छ।
गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरूले आन्दोलन गर्दै आएका छन्।
उनले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता केन्द्र सरकारले नगरेको स्पष्ट पार्दै केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्याएकाले बाँकी कुराहरू विधेयकमार्फत सम्बोधन हुने बताए।