प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा सोमबार अपराह्न छलफल भयो।
सदनको गतिरोध अन्त्य गर्नेलगायत विषयमा उनीहरूबीच छलफलकेन्द्रित थियो।
उक्त छलफलमा प्रधानमन्त्री ओलीले सदन खोल्नुपर्ने कुरा राखेका थिए।
‘गृहमन्त्रीको राजीनामा होइन, संसद खोलेर अघि बढ्नुपर्छ भनेर प्रधानमन्त्री र गृहमन्त्रीले कुरा राख्नुभयो,’ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘हाम्रो तर्फबाट सुशासनलाई केन्द्रित गरेर विषयवस्तु राखेका हौं भन्ने कुरा भयो। छलफल गर्दै जाऔं भन्ने कुरा भयो।’
भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन् भने सत्तापक्षले गृहमन्त्री उक्त प्रकरणमा नजोडिएकोले राजीनामा नदिने र सदनमा बोल्न पाउनुपर्ने माग गरिरहेका छन्।
माओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषय यथावत नै रहेको बताएका थिए।
‘जुन कुरा हामीले सदनमा राखेका छौं, त्यो भनेको भिजिट भिसाको विषय हो, गृहमन्त्रीले यस विषयमा मार्गप्रशस्त गरिदिनु पर्छ,’ प्रमुख सचेतक पाण्डेले भने, ‘कर्मचारीको कुरा हो त्यसकारण गृहमन्त्रीको राजीनामा आवश्यक पर्दैन भन्ने सत्ता पक्षको कुरा थियो।’
उनले गणतन्त्रवादीहरू एकताबद्ध भएर अघि बढ्ने विषयमा पनि कुराकानी भएको बताए।
छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले नेपालको संविधान रक्षा गर्ने कुरामा कम्तीमा तीन ठूला दल एक ठाउँमा रहने बताए।
‘संसद अवरूद्ध हुन हुँदैन भन्ने कुरा राखिएको छ, यसमा प्रतिपक्षी दलले पनि हामी छलफल गर्छौं भन्नुभएको छ,’ उनले भने, ‘हाम्रो बुझाइमा भोलिदेखि संसद बैठक चल्छ।’