उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएसँगै नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम आजै छुट्ने भएका छन्।
अदालतले पत्र पठाएसँगै उनी आजै छुट्ने भएको कारागार कार्यालय नख्खुका जेलर भीमराज कोइरालाले जानकारी दिए।
‘उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ पत्र पठाएको छ। सोही अनुसार उहाँ आजै छुट्नुहुँदैछ,’ उनले भने।
आलमसहित चार जनालाई आज सफाइ दिएको थियो।
न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनीहरूलाई बुधबार सफाइ दिएका हुन्।
जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको नरसंहारको अभियोगमा उनलाई दोषी ठहर गरेको थियो।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका रजिस्ट्रार दीपक भण्डारीका अनुसार आलमसहित चार जनाले सफाइ पाएका हुन्।
‘वरदात पुष्टि हुन नसकेकोले जिल्ला अदालतको फैसला उल्टाउँदै उहाँहरूलाई उच्च अदालतले सफाइ दिएको हो,’ उनले भने, ‘मोहम्मद अफताब आलम, उनका भाइ मोहम्मद महताव आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले सफाइ पाएका हुन्।’
उनीहरूमाथि इँटाभट्टामा ज्युँदै मानिस पोलेको भन्दै विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरको अभियोग थियो। रौतहट जिल्ला अदालतबाट मोहम्मद अफताब आलम सहितलाई जन्मकैदको सजाय भएको थियो।
२०६४ चैत २७ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा बिस्फोट भएको थियो।
प्रहरीको अनुसन्धानको क्रममा आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरूलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाएको देखिएको थियो।