गृहमन्त्री रमेश लेखकले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने हुँदाको अवस्था र अहिलेको विषयमा आधारभूत रूपमा अन्तर रहेको बताएका छन्।
बुधबार अपराह्न संघीय संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै लेखकले अहिलेको भिजिट भिसा प्रकरणमा मुछिएर राजीनामा मागेको विषय र रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा भिन्नता देखाएका हुन्।
उनले रवि लामिछानेविरूद्ध त्यतिबेला जाहेरी दर्ता भएको, आफै अनुसन्धानको घेरामा रहेको र गृह मातहत रहेन प्रहरीले नै अनुसन्धान गरी राय दिनुपर्ने अवस्था रहेको बताए।
‘सिधै जाहेरी दरखास्त भएको थियो। स्वयम् अनुसन्धानको दायरामा हुनुहुन्थ्यो। तेस्रो प्रहरीले नै अभियोजन र राय प्रतिवेदन गर्ने जिम्मा प्रहरीको थियो। आजको अवस्था त्यही हो?,’ उनले सोधे, ‘अहिले मेरा विरूद्धमा अनुसन्धान भइरहेको छैन। राष्ट्रसेवकको विरूद्धमा अनुसन्धान भइरहेको छ।’
उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक निकाय रहेको र कसैको पनि मातहत नरहेको उनले बताए। त्यतिबेला लामिछानेले पनि राजीनामा नदिएको उनले बताए।