कोशी प्रदेश सभा बुधबारको बैठकको सुरूमै एउटा गीत गुन्जियो-
‘भिजिट भिसामा हजुर, भिजिट भिसामा,
भुइँ छाडेर उड्ने हजुर, पश्चिम दिशामा’
महसञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’ का लागि निशान भट्टराई र अन्जु पन्तले गाएको यो गीत प्रदेशसभामा गाएरै सुनाउने सांसद थिए गोम्बु शेर्पा।
नेकपा माओवादी केन्द्र सोलुखुम्बु १ का प्रदेश सांसद शेर्पाले बैठकको सुरूमै शून्य समयमा यो गीत गाएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।
‘अहिले नेपाल सरकारको अवस्था देख्दा मलाई एउटा गीत याद आयो सभामुख महोदय,’ भन्दै बोल्न सुरू गरेका उनले गीतका यी हरफ गाए। उनले लय हालेर गीत गाउँदा संसद् बैठकमा उपस्थित अरू सांसद भने मुसुमुसु हाँसेका थिए।
‘विदेश जाने बेरोजगार युवाबाट रकम असुल्ने लुट धन्दाको मुख्य संरक्षक गृहमन्त्री देखिएको छ,’ उनले भने, ‘बद्नाम पात्रहरू गृहमन्त्रीको सचिवालयमा देखिएको छ। यसको संरक्षण गृहमन्त्रीबाटै भएको छ।’
उनले अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए।
उनीपछि बोलेका कांग्रेस सांसद प्रदीपकुमार सुनुवारले भने केन्द्र सरकारसँग जोडिएको भिजिट भिसा प्रकरण प्रदेश सभामा उठाउँदा संघीय संसद्को अपमान हुने दाबी गर्दै प्रतिवाद गरेका थिए।
‘संसद्को आफ्नो मर्यादा हुन्छ। विषयलाई अतिरञ्जित गर्ने काम भएको छ,’ उनले भने, ‘अनुसन्धान र कारबाहीको एउटा प्रक्रिया हुन्छ। तर, यहाँ कुनै मिडियाले लेख्यो भनेर अतिरन्जित गरिएको छ।’