महिला तथा समाजिक समितिको सभापति किरणकुमार साह र नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कोसारीबीच सहमति भएको छ।
समिति बैठकमा सभापति साहले सांसद मियाँको व्यक्तिगत जीवनसँग सम्बन्धित विषयमा टिप्पणी गरेका थिए। त्यसपछि सांसद मियाँले साहलाई नेमप्लेट र माइक प्रहार गरेकी थिइन्।
सभामुख देवराज घिमिरेले उक्त घटनाबारे दुबैलाई नयाँ बानेश्वरस्थित संसद भवनको कार्यकक्षमा डाकेका थिए। सभामुखले उनीहरूलाई आत्मालोचना गरी आउन आग्रह गरेका थिए।
छलफलमा दुबै पक्षबीच उक्त घटनाबारे समीक्षा गर्ने समझदारी भएको सभापति किरणकुमार साहले सेतोपाटीलाई बताए।
‘दुबै जनाले गल्ती महसुस गरेर आइन्दा समितिमा क्रियाकलाप नगर्ने गरी सभामुखले सहमति गराइदिनुभयो,’ साहले भने, ‘आत्मालोचना कसैले गर्नुपरेन। तर भोलिका दिनमा यस्तो क्रियाकलाप कसैले नगर्ने भन्ने समझदारी भयो।’
सांसद साहले दुबै जनाबाट सानो त्रुटि भएको बताए।
‘मैले पनि सभापतिको हैसियतले एग्रेसिभ भएर बोलेँ। त्यस्तो बोल्नु हुँदैन थियो,’ साहले भने, ‘उहाँले पनि अभद्र व्यवहार गर्नुहुँदैन थियो भन्ने कुरा भयो। अनि मिल्यो।’
सांसद मियाँले पनि सभापति साहसँग मिलापत्र भएको बताइन्।
‘हाम्रो समझदारी भयो। मैले पनि माइक हान्न हुने थिएन,’ मियाँले भनिन्, ‘उहाँले पनि त्यस्तो शब्दहरू प्रयोग गर्न हुने थिएन। उहाँले छलफलमा मैले रिसको झोकमा नचाहिने आरोप लगाएँ भन्ने खालको कुरा गर्नुभयो। अनि के रिसराग गर्ने भन्ने भयो। हामी मिल्यौँ।’
सांसद मियाँले पहिला पहिला मिलेर काम गरेको तर कहिलेकाहीँ मनमुटाव हुनु स्वाभाविक भएको बताइन्।
‘यसलाई इगो लिएर बस्ने कुरा भएन,’ मियाँले भनिन्, ‘कहिलेकाहीँ हानाहान हुन्छ। भनाभन हुन्छ। त्यसलाई परिवार भित्र नै मिलाइयो।’
माओवादी सांसद कुसारीले किन हानिन् सभापतिलाई नेमप्लेट र माइक? बैठकको अडिओ सुन्दा यस्तो देखियो कारण
माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले बुधबार संसदीय समितिको बैठकमै सभापित किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेको घटना चर्चामा छ।
उनले सिंहदरबारस्थित प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको कार्यकक्षमा बैठक चलिरहँदा साहलाई माइक र नेमप्लेट प्रहार गरेकी थिइन्।
बैठककै बीचमा सांसद कुसारी किन त्यसरी आक्रोशित भइन् भन्ने आमचासोको विषय बनेको छ।
सेतोपाटीले यसको कारण थाहा पाउन बुधबारको उक्त बैठकको रेकर्डिङ सुनेको छ। रेकर्डिङ सुन्दा हामीले के थाहा पायौं भने, सभापति साहले सांसद कुसारीको निजी जीवनसँग सम्बन्धित विषयमा फोटो सार्वजनिक गर्ने धम्की दिएका थिए।
रातको समय आफू बाहिर निस्किएको विषयलाई सभापति साहले ठूलो अपराधका रूपमा प्रस्तुत गरेको भन्दै सांसद कुसारीले प्रतिवाद गरेकी थिइन्। त्यही क्रममा उनले सभापति साहमाथि नेमप्लेट र माइक प्रहार गरेकी हुन्।
बैठकको अडिओअनुसार नेपाली कांग्रेसकी सांसद सीता कुमारी रानाले गण्डकी प्रदेशका बालसुधार गृह, वृद्धाश्रम लगायतमा देखिएको व्यवस्थापनको कमजोरीबारे धारणा राखेकी थिइन्। उनले गण्डकी प्रदेशमा अनुगमनमा जानुअघि सांसदहरूका लागि दुईवटा गाडी व्यवस्थापन गरिएको भनिए पनि एउटै गाडीमा भेडाबाख्रा कोचेजस्तो कोचेको भन्दै आपत्ति जनाएकी थिइन्।
गाडीमा सांसदहरूलाई पिउने पानी व्यवस्थापन नगरिएको र चौकीका प्रहरीले समेत नटरेको उनले बताइन्। कहाँ जाने, कसलाई भेट्ने केही पनि निर्धारण नगरी अनुगमन कार्यक्रम अघि बढाएकोमा उनले आपत्ति जनाइन्।
सांसद रानाले व्यवस्थापनबारे प्रश्न उठाएपछि समिति सभापति साहले जबाफमा भने, 'तथ्यगत रूपमा बोल्नुहोस् माननीयज्यू, मनगढन्ते होइन। तपाईंले भन्नुपर्दैन पानीबारे। भेडाबाख्रा लगेको होइन।'
समिति अनुगमनमा गएका बेला गृहमन्त्री रमेश लेखकको पनि भ्रमण परेकाले प्रहरी प्रशासनले आफूहरूलाई समय दिन नसकेको उनले प्रस्टीकरण दिए।
व्यवस्थापनका सम्बन्धमा प्रतिसांसद २ हजार ५ सय रूपैयाँ बजेट भएकाले समस्या आएको औंल्याउँदै उनले भने, 'पैसा बचाउन सामूहिक बसेको हो। लजिङ र फुडिङबापत २५ सय रूपैयाँ हातमा राखिदिएको भए यो समस्या हुने थिएन। गत वर्ष बारा, पर्साको अनुगमनमा जाँदा हेटौंडामा राम्रै व्यवस्था गरेको हो। तर कल्पना मियाँ कुसारीसहित केही माननीय जिद्दी गरेर वीरगन्जमा बस्नुभयो।'
यसरी गण्डकीको विषयमा छलफल भइरहँदा सभापति साहले गत वर्षको भ्रमणको कुरा उठाएपछि सांसद कुसारीले प्रतिवाद गरिन्।
उनले विषय नमोड्न आग्रह गर्दै सभापति साहलाई भनिन्, 'तपाईं हेटौंडाको कुरा किन निकाल्नुहुन्छ? गण्डकीको अनुगमनको कुरा गर्दा विषयवस्तु किन डाइभर्ट गर्नुहुन्छ? हामी वीरगन्ज गयौं कि कहाँ गयौं, त्यो तपाईंको सरोकारको विषय भएन।'
त्यसपछि सभापति साहले बैठकमा प्रश्न उठेपछि आफूले जबाफ दिनुपर्ने भन्दै कुसारीको प्रतिवाद गरे।
'आफू गल्ती गर्ने अनि सभापतिलाई दोष लगाउने, तपाईं को हो?' साहले भने, 'अराजक नहुनुहोस्।'
सभापति साहले गल्ती गरेको भनेपछि सांसद कुसारी बसिरहेको ठाउँबाट उठिन् र होस पुर्याएर बोल्न सभापति साहलााई चेतावनी दिइन्।
साह झनै आक्रोशित भए।
'के होस् गर्नुस्? तपाईं जथाभाबी हिँड्ने, मसँग प्रमाण छ। वीरगन्जमा के के गर्नुभयो, फोटो छ। होटलमा कोसँग बस्नुभयो, त्यसको प्रमाण छ,' सभापति साहले सांसद कुसारीको व्यक्तिगत जीवन र चरित्रको कुरा उठाउँदै भने, 'को थियो ड्राइभर? गाडी ल्याउने को थियो?'
यसरी व्यक्तिगत जीवन र चरित्रमाथि प्रश्न उठेपछि सांसद कुसारीले आफ्नो अगाडि भएको नेमप्लेटले सभापति साहलाई प्रहार गरेकी थिइन्।
त्यो नेमप्लेट साहलाई लागेन।
त्यसपछि उनले अगाडि राखिएको माइक तानेर सभापति साहलाई दोस्रोपटक प्रहार गरिन्।
तारमा जोडिएको माइक भएकाले सभापति साहसम्म पुगेन।
समिति बैठकका अर्का एक सांसदका अनुसार त्यसपछि दुई जनाबीच तँ तँ र म म भएको थियो।
सभापति साहले भने सांसद कुसारी आफ्नो अनुमतिबेगर समितिमा बोल्न थालेकाले भनाभन परेको बताए।
'उहाँ ढिला आउनुभयो। अनुमतिबिनै बोल्न सुरू गर्नुभयो। माइक फाल्नुभयो। धन्न मतिर आएन, सांसदहरू भएतर्फ गयो। उहाँले अनुगमनमा गएको विषय उठाउन खोज्नुभएको थियो। तर बैठक टुंगिन लागेको बेला एकदमै रिसाएर प्रस्तुत हुनुभयो,' सभापति साहले भने, 'महिला बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषय थियो।'
सांसद कुसारीले भने समिति सभापति साह सधैं आफै संयोजक भएर अनुगमनमा जाने गरेको र आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको आरोप लगाइन्। अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको विषयमा प्रश्न उठेपछि साह आक्रोशित भएको उनले बताइन्।
सभापति साहले आफ्ना छोरालाई पनि अनुगमनमा सँगै लगेका थिए। समिति सचिव इन्द्रविलास पौडेलले भने सभापतिका छोरा आफ्नै खर्चमा बुबासँग गएको जानकारी समितिमा दिएका थिए।
सांसद कुसारीले आफूले माइक र नेमप्लेटले सभापति साहलाई प्रहार गरेको सेतोपाटीसँग स्वीकार गरेकी छन्।
'मैले माइक र नेमप्लेटले हानेको हो। लागेन, भनाभन भयो,' कुसारीले भनिन्, 'बैठकमा भएको भनाभनपछि सभामुखलाई पनि ध्यानाकर्षण गराएको छु।'
महिला सांसदलाई सभापति साहले उपेक्षापूर्ण व्यवहार गर्ने गरेको उल्लेख गर्दै उनले भनिन्, 'हरेक अनुगमनमा आफै संयोजक भएर जानुहुन्छ। पिएसएओदेखि सबै हुन्छन्। इस्युमा बैठक राख्नुहुन्न। बाहिर एनजिओ र आइएनजिओ मिलाएर घुम्न जाने गर्नुहुन्छ।'
सभापति साह र कुसारीबीच द्वन्द्व भएपछि समिति बैठक सकिएको थियो।