लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले अन्न उब्जाउने खेत मासेर सरकारी संरचना बनाउनु गलत भएको बताएका छन्।
अन्न उत्पादन नहुने स्थानमा भौतिक संरचना निर्माण गर्नुपर्नेमा धान उब्जने खेत मासेर लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाइएको बताए।
राष्ट्रिय मानव अधिकार आयोग स्थापनाको २५ औं वर्ष पुगेको अवसरमा मंगलबार बुटवलमा आयोजित रजत महोत्सवमा बोल्दै प्रदेश प्रमुख घर्ती मगरले प्रदेश सरकारले खेतीयोग्य जमिन मासेर दरबार बनाएको टिप्पणी गरे।
‘मैले बुटवलमा बसेर यसो भनेको कुरा प्रदेश राजधानी देउखुरी हुनुहुँदैन थियो भन्नेसँग सम्बन्धित छैन तर, जसरी लहलह धान उब्जने खेत मासेर जसरी मिनी सिंहदरबार बनाइएको छ, त्यो राम्रो होइन,’ प्रदेश प्रमुख घर्तीमगरले भने।
उनले कृषि प्रधान मुलुक भनिएको नेपालमा अहिले पनि भारतबाट आयात गरेर खाद्यान्नको आपूर्ति भइरहेको उल्लेख गर्दै खेतीयोग्य जमिन मासेर भौतिक संरचना निर्माण गर्दा त्यसले दीर्घकालसम्म क्षति गरिरहने बताए।
प्रदेश प्रमुख घर्तीमगरले आफूले विगतदेखि नै सुशासन र समृद्धिको विषयमा कुरा उठाइरहेको उल्लेख गर्दै जनताको सेवा गर्छु भन्दै कसम खाएर जनप्रतिनिधि बनेकाहरू जनताप्रति जिम्मेवार र मितव्ययी बन्नुपर्ने बताए।
आफूलाई यसअघि पटकपटक सांसदका लागि प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गर्दै आएको भन्दै पछिल्लो पटक प्रदेश प्रमुखका लागि आएको प्रस्तावलाई भने स्वीकार गर्न विवश भएको बताए।
प्रदेश प्रमुख बनेपछि पनि सुशासनका लागि बोल्दै आएको र पदमाा रहेको लाभ लिएर कुनै पनि सुविधा नलिएको दाबी गरे।
‘म लुम्बिनीको प्रदेश प्रमुख भएर आएको १० महिना भयो यो अवधिसम्म एकपटक पनि हवाई जहाज चढेको छैन, भत्ता लगायतका सुविधा पनि लिएको छैन,’ प्रदेश प्रमुख घर्तीमगरले भने।
उनले बुटवलदेखि उत्तरतिरका दुई वटा पहाडमा दुई वटा केबलकार नियमित संचालनमा रहे पनि आफू अहिलेसम्म कुनै केबलकारमा नचढेको बताए।
बुटवलदेखि नुवाकोट हिँडेरै गएको र भ्रमणभत्ता पनि नलिएको भन्दै सुशासन कायम गर्ने हो भने ठूलाबडा हौं भन्नेहरूबाटै अनावश्यक र फजुल खर्च कटौती गर्नुपर्ने बताए।
प्रदेश प्रमुख घर्तीमगरले जनताको सुरक्षा, उनीहरूको अधिकार संरक्षण र संवर्द्धनका लागि काम गर्न जनप्रतिनिधि र स्थानीय प्रशासनलाई आग्रह गरे।