नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दुई ठूला दलहरू कांग्रेस र एमालेबीच असमझदारी भए कसैले सरकार ढल्छ भनिरहन नपर्ने बताएका छन्।
बुधबार प्रेस चौतारीले घोराहीमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले दुई दलबीच समझदारी रहुन्जेल सरकार कायम रहने र असमझदारी भए सरकार ढल्छ भनेर हल्लै गर्न नपर्ने बताएका हुन्।
'जबसम्म दुइटा पार्टीका बीचमा समझदारी रहन्छ यो सरकार टिकिरहन्छ भन्ने कुरा त निश्चित नै छ त,’ उनले भने, ‘दुइटा पार्टीको बीचमा असमझदारी उत्पन्न भयो भने कसैले हल्ला गर्नै पर्दैन। दुइटा पार्टीबीचमा समझदारी हुन्जेलसम्म सरकार परिवर्तन हुँदैन भन्ने कुरा पनि नबुझिकन हरेक महिनाजसो सरकार परिवर्तनको हल्ला चलाउने खेतपाती गर्ने काम भइरहेको छ।’
त्यसकारण सरकार ढल्छ भनेर चलाइएको हल्ला निराधार रहेको र गठबन्धन २०८४ को चुनावसम्म निरन्तरता पाउने उनले बताए।
महासचिव पोखरेलले सबै मानिसहरू बाध्यतामा मात्रै विदेश जान्छन् भन्ने भाष्य गलत रहेको बताए। रहरमा जानेहरुले पनि बाहिर गएपछि देश निर्माणका कुरा गरिरहेको उनले बताए।
‘हाम्रा युवाहरुमा हामी बनाउँछौं हाम्रो देश भन्ने भावना जगाउन सक्नुपर्छ,’ उनले भने, ‘त्यो भावना जगाउने कामको नेतृत्व यही पार्टीले गर्नुपर्छ।’
युवाहरुलाई देश भित्रै बसेर केही गर्नका लागि उप्रेरित गर्ने राजनीतिक भावनाको विकास गर्न नसक्ने हो भने युवा विदेश पलायन भइ रहने र देश बन्ने प्रक्रिया संधै अवरुद्ध भइ रहने अवस्था सिर्जना हुने उनले बताए।
महासचिव पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा फर्काउने नाममा जेठ १५ गतेबाट गर्न खोजेको आन्दोलन जनताविरुद्ध रहेको पनि बताए।
‘त्यो कुनै राजनीतिक दलका विरुद्धमा होइन, त्यो व्यवस्थाविरूद्ध मात्रै होइन त्यो नेपाली जनताविरुद्धको आन्दोलन हो हामीले जनतालाई बताउन सक्छौं कि सक्दैनौं,’ उनले भने।