लामाे समयदेखि रिक्त रहेका कर्णाली प्रदेशको संसदीय समितिले पूर्णता पाएको छ। गत वैशाख यता विभिन्न समयमा रिक्त रहेका तीन वटा संसदीय समितिले पूर्णता पाएका हुन्।
नव नियुक्त संसदीय समतिका सभापतिहरूले बिहीबार पद तथा गाेपनियताकाे सपथ लिएका हुन्। नवनियुक्त लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री चयन भएका छन्। उनीहरूलाई कार्यवहाक सभामुख यसाेदाकुमारी न्यापानेले सपथ गराएकी हुन्।
यसअघि लेखा समितिका सभापति रहेका ऐमालेका जितबहादुर मल्लले १५ असोजमा राजीनामा दिएका थिए। अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत गत वैशाख १८ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो।
सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी गत साउन २० गते सामाजिक विकास मन्त्री बनेपछि उक्त समिति पनि सभापतिविहीन थियो।
चारमध्ये प्रदेश मामिला समितिको सभापतिमा भने लामो समयदेखि एकीकृत समाजवादीका सांसद कल्याणी खड्का छन्।
लामाे समयसम्म संसदीय समिति रिक्त हुँदा सरकारका कामकारबाहीकाे निगरानीदेखि संसदीय समितिमा गएका विधेयक उपर छलफल अघि बढ्न सकेकाे छैन।