शुक्रबार सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु (अन्तिम छेड्ने काम) हुँदै छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडकखण्डको सबैभन्दा अप्ठ्यारो मानिएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण भइरहेको छ। सोही सुरुङमार्गको ब्रेक थ्रु समारोहका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बुटवल आउँदै छन्।
सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले सुरुङको ब्रेक थ्रुका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए। आयोजनाको तर्फबाट ब्रेक थ्रुको लागि साढे १ मिटर भाग मात्रै बाँकी राखेर सुरुङमार्गको अन्य भाग दुईसाता पहिले नै खनिसकिएको र अहिले टनेलको प्रवेशद्वार सरसफाई लगायत अन्य सुरक्षाको काम भइरहेको जानकारी दिए।
‘ब्रेक थ्रुको लागि आयोजनाको तर्फबाट सबै तयारी पूरा भएको छ, ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री समेत आउने भएपछि सडक विभागको टिम पनि बुटवल आइसकेको छ,’ अधिकारीले भने।
सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको झण्डै ४ किलोमिटर सडक वर्षा होस् या हिउँद सधै पहिरोको उच्च जोखिममा पर्छ। सडकदेखि तल तिनाउ नदितर्फ अप्ठ्यारो भीर सहितको छांगो र माथितर्फ अग्लो चट्टान सहितको पहाड भएकाले वर्षामा मात्र होइन हिउँदमा समेत सुख्खा पहिरो झर्ने गर्छ।
पहिरोको सोही जोखिमलाई मध्यनजर गरी सुरक्षित आवागमनका लागि सुरुङमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइरहेको छ। यो सुरुङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरुको आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
सुरुङमार्गको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ। सुरुङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउँदै छन्।
पाँच वर्षमा सक्ने गरी २०७८ साल फागुनमा ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त कम्पनीले २०७९ साल अन्तिमतिर मात्र निर्माण कार्य सुरु गरेको थियो।
आयोजना प्रमुख अधिकारीका अनुसार निर्माण कम्पनीले झण्डै एकवर्ष ढिलो गरी काम थालेपनि सुरुङ खन्न सुरु गरेको ९/१० महिनामै ब्रेक थ्रु को अवस्थामा पुगेको बताए।
‘सुरुवाती काम केहि ढिलो भयो, रुख काट्ने, टनेलका रिब बाध्ने लगायतका काम गरेपछि पनि पहिरोले पोर्टलमा समस्या ल्याइदियो, गत जेठदेखि ब्लास्ट गरेर सुरुङ खन्न थालेपछि कुनै समस्या नआएरै अहिले ब्रेक थ्रु को अवस्थामा पुगेका छौं,’ अधिकारीले भने।
आयोजनाका अनुसार कुल एक हजार १२६ मिटर लामो सुरुङमार्गको खन्नुपर्ने भित्री भाग भने एकहजार ८९ मिटर मात्रै रहने छ। ब्रेक थ्रु का लागि साढे १ मिटर भाग सुरक्षित रुपमा राखेर १०८७.५ मिटर सुरुङ दुईसाता पहिले नै खनेर सकिएको छ। शुक्रवार प्रधानमन्त्री ओलीको उपस्थितीमा बाँकी रहेको साढे १ मिटर भागलाई ब्लास्टिङ गरेपछि सिद्धबाबा मन्दिर र विद्युत हेडवर्क्स तर्फबाट खन्दै आएको सुरुङको मुख एकआपसमा जोडिने छ।
आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीका अनुसार सिद्धबाबा मन्दिरतर्फबाट ६०८ र विद्युतको हेडवर्क्सबाट ४७९.५ मिटर सुरुङ खनिएको छ। सुरुङमार्गमा कुनै समस्या आइपरे आपतकालीन निकासका लागि तिनवटा बाइपास सुरुङ राखिएको छ। १५१ मिटर, १६१ मिटर र १३० मिटर गरी तीनवटै बाइपास सुरुङ पनि यसअघि नै ब्रेक थ्रु भइसकेका छन्।
अहिले मुख्य टनेलको ब्रेक थ्रु को तयारीसँगै सुरुङभित्र पानी तर्काएर बेन्चिङ, लाइनिङ र भित्रको ढलानको काम भइरहेको छ। निर्माण कम्पनीसँग गरिएको सम्झौता अनुसार निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार २०८३ चैतभित्र सुरुङमार्गको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने छ।
आयोजना प्रमुख अधिकारीले निर्माण कम्पनीले पछिल्लो वर्ष गरेको कामको प्रगति हेर्दा तोकिएको अवधीमै सुरुङमार्ग निर्माणको काम सम्पन्न हुने अपेक्षा गरिएको बताए। अधिकारीका अनुसार अहिले सुरुङमार्गको ४० प्रतिशत काम सम्पन्न भएको छ।
यस्तै प्रधानमन्त्री ओलीले भोलि नै बुटवल गोरुसिंगे सडकको शिलान्यास पनि गर्दै छन्।
आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार दिउसो २ बजे प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा बुटवल गोरुसिंगे सडकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक बनाउँदैछ। पहिलो चरणमा बन्न लागेको बुटवल–गोरुसिंगे खण्डको ५० किलोमिटर सडकको शिलान्यास भोलि हुन लागेको हो।
उक्त सडक निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले दुई भागमा गरि ठेक्का सम्झौता गरेका छन्। बुटवलदेखि रुपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते ठेक्का सम्झौता भएको आयोजना प्रमुख कुशलता न्यौपानेले जानकारी दिईन्।
कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँको लागतमा निर्माण हुने ५० किलोमिटर सडकमध्ये बुटवलदेखि कोठिनदी सम्मको २५ किलोमिटरका लागि ७ अर्ब ८९ करोड र कोठिनदिदेखि गोरुसिंगेसम्मको २५ किलोमिटरका लागि ५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। सम्झौता अनुसार २०८४ असोजभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने छ।
यस्तै प्रधानमन्त्री ओलीले शुक्रबार नै पाल्पाका दुईवटा गाउँपालिका भवनको उद्घाटन र एउटा मन्दिर शिलान्यास गर्ने कार्यक्रम पनि तय भएका छन्। प्रधानमन्त्री ओलीले सबैभन्दा पहिले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने छन्। ओली बिहान १० बजे काठमाण्डौंबाट हेलिकप्टरमार्फत सिधै बगनासकाली जाने छन्।
भवन उद्घाटनपछि बगनासकालीबाट पाल्पाकै तिनाउ गाउँपालिका जाने छन्। तिनाउमा पनि प्रधानमन्त्री ओलीले गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि मात्रै ओलीले सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु र बुटवल गोरुसिंगे सडकको शिलान्यास गर्ने छन्।