भारतका विभिन्न राज्यमा प्रख्यात परिकार हुन् — पावभाजी, खोमन ढोक्ला, लिट्टी चोखा, डोसा र इड्ली साम्बर।
यी स्वादिला परिकार केजरीवाल परिवारले नेपालको जनकपुरधाममा पस्किरहेको छ।
शिवचोकदेखि भानुचोकको सडक खण्डमा छ उनीहरूको पसल 'राधारानी रसोइ'। यो रसोइ (भान्सा) ले विभिन्न परिकारको स्वाद मात्र पस्किँदैन, केजरीवाल परिवारको संघर्ष र आँटको प्रेरणादायी कथा पनि भन्छ।
केही दिनअघि हामी पुग्दा उमा केजरीवाल तन्दुरमा लिट्टी सेकिरहेकी थिइन्। जनकपुरमा पाइलैपिच्छे लिट्टी पाइन्छ। उमा भने फरक तरिकाले बनाउँछिन् — बिहारको पटनामा पाइने जस्तै स्वादमा, अर्थात् लिट्टी र टमाटर, भन्टाको चोखा।
लिट्टी चोखा बनाउन उमा गहुँको आँटा र सत्तु (सातु) मसला प्रयोग गर्छिन्।
'पहिले घरमै आधा पाक्ने गरी सेक्छु, अनि यहाँ ल्याएर तन्दुरमा पकाउँछु। पछि मुनिबाट आगो बालेर कोइलामाथि राखेजस्तै गरी तारमाथि राखेर सेक्छु। यसले लिट्टीको स्वाद विशेष बनाउँछ,' उनले भनिन्।
जनकपुरमै सबभन्दा फरक स्वादको लिट्टी भन्दै चाख्न आउनेको यहाँ लाइन हुन्छ। लिट्टीबाहेक इड्ली साम्बर, वडापाव, खोमन ढोक्ला, पावभाजी, छाँछ (मही), चिया खानेहरू प्रशस्तै हुन्छन्। यहाँ चिया पनि विशेष प्रकारको कपमा राखेर दिइन्छ जुन जनकपुरमा अन्त नपाइने उमाले बताइन्।
यी सबै परिकार उमा र उनका श्रीमान रोहितले बनाउँछन्। उनीहरूले भारत जाँदा यी परिकारको बजार देखेका थिए।
'उपचारका लागि मुम्बई जाँदा हामीले ठेलामा वडापाव खायौं। खुब मनपर्यो र बनाउन सिक्यौं,' उमाले भनिन्, 'खोमन ढोक्ला, इड्ली साम्बर र लिट्टी चोखा पहिल्यै बनाउन आउँथ्यो।'
केही वर्षअघि केजरीवाल परिवार अर्कै व्यापारमा थियो, लाखौंको कारोबार हुन्थ्यो। उमाका श्रीमान रोहित मार्बल र इलेक्ट्रोनिक (बिजुलीका) सामानको होलसेल पसल चलाउँथे। आम्दानी राम्रो थियो।
एकाएक फैलिएको कोरोना महामारीले व्यापार ठप्प भयो। पछि बिस्तारै लयमा आउँदै थियो, उनीहरूमाथि अर्को आपत आइपर्यो।
तीन वर्षअघि रोहितको मुखमा क्यान्सर भयो। उपचारका निम्ति श्रीमानश्रीमती दुवै एक वर्षसम्म मुम्बईमा बस्न बाध्य भए। एकातिर, भएको पैसा उपचारमा सकिँदै गयो, अर्कातिर हेर्ने मान्छे नहुँदा व्यापार सुक्न थाल्यो। ऋण र ब्याज थपियो। व्यापार धराशायी भयो। ऋण लिएर बनाएको उनीहरूको घर पनि आखिरमा लिलाम हुने अवस्था आयो।
'४० वर्ष पुरानो होलसेल पसल थियो। व्यापारमा ऋण हुनु स्वाभाविक हो। तर कोरोनाले शिथिल भएको व्यापार उक्सिन नपाई श्रीमानलाई रोग लाग्यो। हामी एक वर्ष बाहिर भएपछि ८ जना कर्मचारीलाई तलब दिन सक्ने अवस्था पनि रहेन। भाडा, ब्याजले हामी झन् थला पर्यौं,' उमाले भनिन्, 'सायद भगवानले लेखेको कसैले मेटाउन सक्दैन, हामी सडकमा आयौं।'
उमाका अनुसार हाल उनीहरूको घर लिलाम भइसकेको छ। अदालतमा रोहितविरूद्ध मुद्दा पनि चलिरहेको छ।
उपचार सकेर जनकपुर फर्किँदा केजरीवाल परिवारको कथा अर्कै भइसकेको थियो। लाखौंको व्यापार गर्दै आएको परिवारलाई छाक टार्नै मुस्किल पर्यो। चार सन्तानसहितको ठूलो परिवारलाई एकाएक आर्थिक समस्या पर्दा जमिन धसिएझैं भयो।
रोहितको होलसेल पसलमा सामान पनि थिएन। साहुसँग ऋण लिएका थिए, तिर्न नसकेपछि सबै उठाएर लगे। थोरै बिजुलीका सामान मात्र बाँकी रह्यो।
अब के गर्ने भन्ने चिन्ताले उमा र रोहितको छटपटी बढ्यो।
केही त गर्नैपर्छ भन्ने सोच्दा सोच्दै एक दिन उमाले सोचिन् — मलाई लिट्टी चोखा, ढोक्ला, पावभाजी बनाउन आउँछ। यसकै व्यापार गर्नुपर्छ कि के हो!
उनले श्रीमानलाई सुनाइन्। दुवैले सल्लाह गरेर यही काम गर्ने निधो गरे।
उनीहरूले बाँकी रहेका बिजुलीका सामान पनि बेच्ने सोचे। शिवचोक र भानुचोकको बीचमा मासिक ७० हजार रूपैयाँ तिर्ने गरी एउटा सटर भाडामा लिए। सटरभित्र बिजुलीका सामान राखे। बाहिर बरन्डामा खानेकुरा पकाउने र खाने ठाउँ बनाए। बरन्डामाथि छानो राख्न र पुरानो काठको टेबल-कुर्सी बनाउन ५० हजार रूपैयाँ लाग्यो। भाँडाकुँडा लगायत बाँकी सामान घरबाटै ल्याए।
अनि सुरू भयो 'राधारानी रसोइ'।
यहाँ उनीहरूले पावभाजी, खोमन ढोक्ला, लिट्टी चोखा, डोसा र इड्ली साम्बर बनाएर बेच्न थाले।
सुरूदेखि नै ग्राहकले राधारानी रसोइका खानेकुरा मनपराए। बिजुलीका सामान पनि बिकेर छाँटियो। अनि उमा र रोहितले बिजुलीको सामानको पसल हटाएर भान्सा नै विस्तार गरे।
'मलाई सानैदेखि खाना बनाउन मनपर्थ्यो। हाम्रो मारवाडी परिवारमा शुद्ध शाकाहारी परिकार बनाउने चलन छ। त्यसैले मैले पनि शाकाहारी नै पकाउने सोचेँ,' उमाले भनिन्, 'हामीकहाँ पाइने परिकार तेलरहित हुन्छ। इड्ली, साम्बर, खमन ढोक्ला सबै बफ्याएर पकाइन्छ। त्यसैले डाक्टरहरूले समेत स्वस्थकर खाना खुवाँउछन् भनेर तारिफ गर्छन्।'
त्यस्तै यो क्षेत्रमा यी परिकार ठूला रेस्टुरेन्टमा मात्रै पाइन्छ। सामान्य वर्गका मान्छेलाई ती ठाउँमा गएर खान किफायती हुँदैन। त्यसैले आफूहरूले खानेकुराको भाउ सकेसम्म कम राखेको उनी बताउँछिन्।
पसल सुरू गरेपछि राम्रै चले पनि उनीहरूका चुनौती रोकिएका थिएनन्। लगत्तै रोहित लेनदेन मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाको थुनामा पुगे। १३ दिन जेल बसेर आए। त्यो समयमा उमाले पसल बन्द गर्नुपर्यो। परिवारको थप बिचल्ली भयो।
के गर्ने भनेर परिवारै घोत्लियो।
उनीहरूले सोचे — यहाँ घर पनि छैन, ऋणले थिचेको छ। बरू सबै सल्टाएर जनकपुर छाडेर अन्तै जाने कि!
फेरि सोचे — हाम्रो जन्म यहीँ भयो, मृत्यु पनि यहीँ हुन्छ। यहीँबाट संघर्ष गरेर सबैको ऋण तिर्छौं। भागेर समस्या समाधान हुन्न, हामी लड्छौं। थप मेहनत गर्छौं।
यसपछि केजरीवाल परिवारले फेरि हिम्मतसाथ 'राधारानी रसोइ' खोलेको हो।
अहिले उमा बिहान ६ बजे नै पसल खोल्छिन्। काम सकेर बन्द गर्दा राति १० बज्छ। श्रीमान रोहितसँगै छोरी जानवी, प्राची, खनक र छोरा रचितले पनि उमालाई काममा भरपुर सघाउँछन्। छोराछोरी पढ्न जाने समयबाहेक यहीँ खटिरहेका हुन्छन्।
'पहिले त हामी भान्साको काम केही गर्दैन थियौं। एक गिलास पानी पनि आफै सारेर खाएनौं। समयले सबै सिकायो,' जानवीले भनिन्, 'आमालाई हेर्दै हामीले काम सिक्यौं। अहिले सबै परिकार बनाउन सक्छौं।'
राधारानी रसोइमा हाल दैनिक ८ देखि १२ हजार रूपैयाँसम्मको व्यापार हुन्छ। लिट्टी चोखा, इड्ली साम्बर र वडापावको माग सबभन्दा धेरै छ।
यसरी कठिन परिस्थिति सामना गर्दै अघि बढिरहेको केजरीवाल परिवार अब समाजमा आफ्नो पुरानै स्थान बनाउने प्रयासमा छ।
'हामी हिम्मत गरेर अगाडि बढेका छौं। अहिलेसम्म राम्रै भएको छ। व्यापार विस्तार गर्ने योजना छ,' ४० वर्षीया उमाले भनिन्, 'तर यो व्यवसाय हाम्रा लागि पैसा कमाउने माध्यम मात्र होइन, लडेर, उठेर, फेरि बाँच्ने प्रयास पनि हो। जीवनको एक अध्याय बन्द भएपछि अर्को खोल्ने साहस पनि हो।'