पुस माघ महिना घाम प्यारो हुने समय हो। पुसको चरम चिसो माघ लागेसँगै क्रमशः मत्थर हुँदै जाने हुनुपर्ने हो।
तर काठमाडौं लगायत विभिन्न ठाउँहरूमा दुई तीन दिनदेखि दिउँसोको समयमा चरक्कै पोल्ने घाम लाग्न थालेको छ।
अधिकतम तापक्रम असामान्य रूपमा बढेको छ।
बुधबार काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि २३ देखि २५ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान छ।
बुधबार सबभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ।
२१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ। बुधबार न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार माघ लागेपछि तापक्रम बिस्तारै बढ्दै जान्छ तर अहिले बढेको तापक्रमको 'ट्रेन्ड' भने अलि बढी नै हो।
'माघ लागेपछि विस्तारै बढ्ने क्रम सुरू हुन्छ। तर कतिपय ठाउँहरूमा बढी नै बढेको देखिन्छ। काठमाडौंको हकमा पनि अलि बढि नै बढेको देखिन्छ,' उनले भने।
झन्डै मध्य माघसम्म आइपुग्दा पश्चिमी न्यूनचापीय प्रणाली कमजोर देखियो, धुलो मार्नेसम्मको पानी परेन। पानी नपर्दा सुक्खा बढ्यो जसले तापक्रम पनि केही बढेको अधिकारी बताउँछन्।
उनकाअनुसार यो समयमा तापक्रम बढ्नुमा अर्को कारण पनि छ, भारतको उच्च चापीय प्रणाली।
न्यूनचापीय प्रणालीले पानी पार्ने, हिमपात गराउने हुँदा तापक्रम घटाउन भूमिका खेल्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्ने अधिकारीले बताए।
यद्यपि यही दरमा तापक्रम बढिनरहने उनले बताए।
'आज, भोलिदेखि नै त्यो उच्चचापीय प्रणाली पनि सिफ्ट हुन्छ। त्यही भएर पनि यहीअनुसार हुरहुरि बढ्ने देखिँदैन,' उनले भने।
आजै बेलुकादेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागरूमा अधिकतम तापक्रममा केही गिरावट आउने र विस्तारै देशभरि नै तापक्रम केही घट्दै जाने उनले बताए।