नेपालबाट अमेरिका गएका धेरैजसोले केही वर्षमै घर जोडेको कुरा सुनाउँछन्। नेपालमा रहेका हामीजस्ता धेरैलाई लाग्न सक्छ, ओहो! उनीहरूले कति छिटो टन्न कमाएर घर जोडे!
हुन पनि नेपालमा घर जोड्न टन्न पैसा कमाउनपर्छ। कसैले काठमाडौं वा कुनै सहरमा घर किनेको वा बनाएको छ भने ऊ आर्थिक रूपमा सबल छ भन्ने मानिन्छ।
अमेरिकाको टेक्सस राज्यस्थित डालासमा रियल्टर (रियल-इस्टेट एजेन्ट) का रूपमा कार्यरत सूर्य थापाका अनुसार अमेरिकामा घरजग्गा जोड्नेको कथा नेपालको भन्दा धेरै फरक छ।
अमेरिकामा आप्रवासीले जग्गा किनेर आफै घर बनाउनुभन्दा तयारी घर किन्न सजिलो हुन्छ। वैधानिक हैसियतले घुमफिर, पढाइ वा यस्तै कुनै प्रयोजनले अमेरिका पुगेका आप्रवासीहरूले पनि त्यहाँ सहजै घर किन्न सक्छन्।
'अमेरिकामा घर किन्नु त्यति धेरै ठूलो कुरा मानिँदैन। घरको मूल्यको पाँच प्रतिशतसम्म डाउनपेमेन्ट (अग्रिम भुक्तानी) गरेपछि घर पाइन्छ,' उनी भन्छन्, 'घर किन्ने व्यक्तिको क्रेडिट स्कोर (पेमेन्ट हिस्ट्री) राम्रो हुनुपर्छ। त्यसो भयो भने बैंकले ऋण पत्याउँछ।'
क्रेडिट हिस्ट्री राम्रो हुँदा ऋणको ब्याजदर पनि कम हुन्छ नत्र महँगो पर्छ। कोरोनाको समयमा त्यहाँका निजी बैंकहरूले घर किन्न ३ प्रतिशत ब्यादजरमै ऋण दिएका थिए। अहिले चल्तीको ब्याजदर ७ प्रतिशत हाराहारी छ। डाउनपेमेन्टको पनि फरक फरक सुविधा हुन्छ। सैनिक सेवामा काम गरेका लगायत केहीले डाउनपेमेन्टबिनै घर किन्न ऋण पाउँछन्।
सूर्यका अनुसार जुन देशको नागरिक भए पनि वैधानिक तरिकाले अमेरिका प्रवेश गरेको छ भने उसले त्यहाँको 'सोसल सेक्युरिटी नम्बर' प्राप्त गर्छ। उसको काम र आम्दानीको अभिलेख त्यही नम्बरमा रहन्छ।
क्रेडिट कार्ड लिएको, गाडी वा घरजस्ता भौतिक सम्पत्ति जोडेको लगायत सबै अभिलेख सोसल सेक्युरिटी नम्बरमा हुन्छ। आपराधिक गतिविधि गरेको छ भने पनि अभिलेख रहन्छ।
'कसैले घर वा अपार्टमेन्ट भाडामा लिन चाहेको छ भने घरबेटीले सोसल सेक्युरिटी नम्बरबाट कस्तो व्यक्ति हो भनेर थाहा पाउने व्यवस्था छ,' उदाहरण दिँदै सूर्यले भने, 'बैंकले ऋण पत्याउनुअघि पनि ग्राहक कस्तो व्यक्ति हो, यसअघि ऋण लिएको छ कि छैन, ऋण लिएको भए ठीक समयमा किस्ता तिरेको छ छैन भन्ने कुरा सोसल सेक्युरिटी नम्बरबाट हेर्न मिल्छ।'
राम्रो पेमेन्ट हिस्ट्रीसँगै काम, आम्दानी र बचतको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। नियमित आम्दानी गर्नेलाई अमेरिकामा घर किन्न अप्ठ्यारो छैन।
ऋणको अवधि ३० वर्षसम्मको हुँदा किस्ता तिर्न खासै भार पर्दैन। अरू कुनै ऋण नहुँदा दुई-चार वर्ष काम गरेपछि नेपालीहरूले ठिक्कको सहरमा घर किन्न सक्छन्।
पछिल्लो समय अमेरिकामा भाडामा भन्दा पनि आफ्नै घरमा बस्ने नेपालीको संख्या बढ्दै छ। यसको मुख्य कारण बैंकबाट सहज रूपमा ऋण उपलब्ध हुनु नै हो।
'नेपालमा धेरैजसोले दुई-तीन करोड रूपैयाँ तत्कालै तिरेर घर किनिरहेका हुन्छन्। अमेरिकामा कुनै नेपालीका चार-पाँच वटा घर छन् भने पनि ऋणमा किनेका हुन्छन्,' उनले भने।
सूर्य काम गर्ने क्षेत्र डालासमा धेरै नेपालीले घर किनेका छन्। उनका अनुसार अन्य सहरको तुलनामा डालासमा कम मूल्यमा घर पाइन्छ। त्यो सहर व्यवस्थित पनि छ। त्यहाँ नेपालीहरूले चार लाखदेखि १५ लाख अमेरिकी डलरसम्म मूल्यका घर किन्ने गरेका छन्। धेरैजसोले चार लाख डलर आसपासमा किन्छन्।
अमेरिकामा घर किन्दा के कुरामा ध्यान दिनुपर्छ त?
'अमेरिकामा सम्पत्ति भनेकै पेमेन्ट हिस्ट्री हो। क्रेडिट भनेको इज्जत हो भनौं न! अमेरिकामा ठूलो सम्पत्ति भनेकै क्रेडिट हो,' सूर्य भन्छन्, 'क्रेडिट एकदमै राम्रो हुनुपर्छ। क्रेडिट कार्ड लिएको छ, ऋण लिएको छ भने समयमा तिर्नुपर्छ।'
घर किन्दा छोराछोरीलाई विद्यालय पठाउन सहज हुने ठाउँ हेर्नुपर्ने उनको सुझाब छ। आपराधिक गतिविधि कम हुने र आफूलाई कामका लागि पायक पर्ने ठाउँ हेर्नुपर्छ।
'भविष्य पनि सोच्नुपर्छ। भोलिका दिनमा तपाईंले त्यो घर बेच्नुपर्ने हुनसक्छ,' उनले भने, 'पछि बिक्छ कि बिक्दैन, भाडामा लाग्छ कि लाग्दैन भन्ने कुरा विचार गर्नुपर्छ।'
आपराधिक गतिविधि कम हुने; विद्यालय, अस्पताल र अन्य सेवासुविधा नजिकै भएको ठाउँमा घर भए सहजै बिक्री हुन्छ।
किन्नुअघि घरको कन्डिसन (भौतिक अवस्था) मा पनि ध्यान दिनुपर्छ। घरको जग कति बलियो छ, छानो कस्तो छ, पाइप कस्तो छ; सबै बुझेर मात्रै किन्नुपर्छ।
पछिल्लो समय नेपालीहरूले जग्गाको कारोबार पनि गरिरहेको उनले बताए।
जग्गा किन्दा पनि धेरै कुरामा ध्यान दिनुपर्ने उनको सुझाब छ। आवासका लागि हो कि व्यावसायिक प्रयोजन हो भन्ने प्रस्ट हुनुपर्छ। कुनै जग्गामा पानी र बिजुली पुगेको हुँदैन। बिजुली जोड्न सकिने अवस्था छ कि छैन भन्ने पनि विचार गर्नुपर्छ।
सूर्य अमेरिकामा धेरै कारोबार गर्नेमध्येका रियल्टर हुन्। उनी वर्षमा एक सय वटा हाराहारी घरजग्गा किनबेचमा सहजीकरण गर्छन्। अमेरिकामा अरू धेरै नेपाली पनि रियल्टर छन्।
घर किन्नेको संख्या बढ्दै गएको र कमाइ राम्रो हुने भएका कारण धेरै नेपालीको रोजाइमा रियल्टर परेको उनको भनाइ छ। रियल्टर बन्न लाइसेन्स लिनुपर्छ।
उनी भन्छन्, 'रियल्टरलाई नियमन गर्ने छुट्टै सरकारी निकाय हुन्छ। काम गर्दा सरकारी नीतिनियम पालना गर्नुपर्छ।'
अमेरिकामा घरजग्गा कारोबार पारदर्शी हुन्छ। नेपालमा जस्तो रियलस्टेट एजेन्टलाई अविश्वास गर्ने अवस्था हुँदैन। त्यहाँ रियल्टरहरूले आफ्नो वेबसाइटमा घरजग्गाको विवरण राख्छन्।
संसारमा घरजग्गा कारोबार निकै ठूलो छ। धेरै परिमाणमा पैसाको कारोबार हुन्छ। मान्छेले आफ्नो जीवनकालमा कमाएको सम्पत्ति घरजग्गामा लगानी गरेको हुन्छ। यस कारणले पनि घरजग्गा किनबेच व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ।
'नेपालमा घरजग्गा कारोबार गर्दा बीचको मान्छे (बिचौलिया) ले मनलाग्दी पैसा खान्छ भन्ने धारणा छ। कानुनी पाटो पनि थाहा हुँदैन। कारोबारमा एकदमै अन्योल हुन्छ,' सूर्यले भने, 'अमेरिकामा बीचको मान्छेले कति लियो भन्ने कुरा घरजग्गा किन्ने र बेच्ने दुवैलाई प्रस्ट थाहा हुन्छ।'
बीचको मान्छेले यति लियो भन्ने थाहा हुँदा ढुक्क भएर कारोबार गर्न सकिने उनले बताए।
अमेरिकामा रियलस्टेट एजेन्टले कारोबार रकमको ३ प्रतिशत कमिसन पाउँछ। कमाइका आधारमा सरकारलाई कर तिर्नुपर्छ।
अमेरिकामा जग्गा किनबेच गर्दा नेपालमा जसरी मालपोत कार्यालयमा दिनभर लाइन बस्नुपर्दैन। छुट्टै 'टाइटल' कम्पनी हुन्छ। त्यस्तो कम्पनीले मालपोत कार्यालयसँग सहजीकरण गरिदिन्छ।
'अमेरिकामा घरजग्गा किन्न जाँदा ल अफिस (कानुनसम्बन्धी कार्यालय) ले चिया, कफी, पानी खुवाएर एकदमै भिआइपी तरिकाले फर्ममा राखेर काम गरिदिन्छ,' उनले भने, 'ग्राहक त्यहाँ कुरेर बस्नु पर्दैन। ल अफिसले नै डकुमेन्ट (कागजपत्र) मालपोत कार्यालयमा पठाइदिन्छ।'
नेपालमा पनि एजेन्ट नियमन गर्ने छुट्टै निकाय भए सहज हुने उनको धारणा छ। एजेन्टलाई लाइसेन्स दिएर के कति कमाइ वा खर्च हुन्छ भन्ने पारदर्शी बनाउन सके अविश्वास गर्ने अवस्था हुँदैन।
'मालपोत कार्यालयमा मात्रै नभएर अन्य ठाउँबाट पनि किनबेच अनुमति दिने वा जग्गा पास गर्ने व्यवस्था हुने हो भने धेरै सजिलो हुन्छ,' उनी भन्छन्, 'यसो गर्दा सरकारको भार पनि घट्छ। मालपोतमा गएर लाइन लाग्नु पर्दैन। नेपालले पनि अमेरिकाबाट यस्तो कुरा सिक्न सक्छ जस्तो लाग्छ।'
अमेरिकामा घर बनाउँदा सरकारी नियम ठिक ढंगले पालना गर्नुपर्छ। एउटा बस्तीमा कसैले एकतले, कसैले तीनतले र कसैले पाँचतले घर बनाउने अनुमति हुँदैन। त्यहाँ एउटा बस्तीमा एकै किसिमका घर बनाउने नियम हुन्छ।
'बिजनेस कम्प्लेक्स त सय-डेढ सयतले पनि हुने भए तर परिवार बस्ने घर (सिंगल फेमिली होम) एक-दुई तले मात्रै हुन्छ। कतै टाउन होम भनेर तीन-चार तलाको पनि हुन्छ तर डिजाइन अनुसार टाउन होम एक ठाउँमा हुन्छ,' सूर्यले भने, 'सिंगल होम एक ठाउँमा हुन्छ। घर बनाउन अनुमति दिने तरिका पनि एकदमै व्यवस्थित हुन्छ।'
अमेरिकामा एक घरमा एक परिवार बस्छ भन्ने अवधारणा अनुसार घरको डिजाइन भएको हुन्छ। एउटा बस्तीमा लगभग कति जनसंख्या छ र त्यो जनसंख्याका लागि विकासका पूर्वाधारहरू के कति चाहिन्छ भन्ने पनि स्पष्ट हुन्छ।
अमेरिकामा जस्तै नेपालमा पनि बैंकबाट कम ब्याजदरमा लामो समयका लागि सहजै ऋण पाउने हो भने धेरै मानिसले घर किन्ने थिए र अपनत्व महसुस गर्न पाउने थिए भन्ने उनलाई लाग्छ।
भन्छन्, 'अमेरिकामा एकदमै व्यवस्थित तरिकाले काम भइरहेको देख्दा नेपालमा पनि यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्छ।'
नेपालमा पत्रकारिता गर्दागर्दै सन् २०१० मा अमेरिका छिरेका गुल्मी सिमलटारीका सूर्य हाल सपरिवार अमेरिकामै बस्छन्।
उनी अमेरिका पुगेर पनि केही समय नेपाली पत्रकारितामै रमाए। रियल्टरका रूपमा काम गरेको चार वर्ष भयो। अझै केही वर्ष अमेरिका बसेर उमेरले पाँच दशक नकट्दै स्वदेश फर्किने उनको विचार छ।
भन्छन्, 'ज्यान अमेरिकामा छ, मन नेपालमा। जतिखेरै देशको चिन्ता लागिरहन्छ। बेलाबेला अहिल्यै फर्किहालौं जस्तो पनि हुन्छ तर व्यवहारले दिँदैन, बाध्यता छ।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]