द कन्भरसेसन- ३४
पृथ्वीमा तीन किसिमका प्राणी छन् —
एक, जो धर्तीमा बस्छन्, मान्छे जस्तै।
दोस्रो, जो पानीमा पौडिन्छन्, माछा जस्तै।
र तेस्रो, जो आकाशमा उड्छन्, चरा जस्तै।
धर्तीमा बस्ने मान्छे माछाझैं पानीमा पौडिन पनि सक्छ। पानीमा बस्ने धेरै जीवहरू धर्तीमा पनि समय बिताउन सक्छन्। तर चराझैं उड्न कोही सक्दैन।
मान्छेले जति नै कोसिस गरून्, मेसिनको सहयोगबिना आकाशमा उड्ने उसको सपना सायदै पूरा होला।
यही गुणले चरालाई विशेष बनाउँछ।
चरामा यो गुण कसरी आयो?
के चराहरूले सृष्टिदेखि नै उड्न जानेका थिए? कि पछि सिकेका हुन्, हावामा कावा खान?
सेतोपाटी कन्भरसेसनमा आज हामी यिनै चराहरूबारे कुराकानी गर्नेछौं। हामीसँग छन्, अमेरिकाको नर्थ डकोटा स्टेट युनिभर्सिटीबाट चरामा पिचएडी गरेका डा. अनुज घिमिरे।
काठमाडौंको सामाखुसीस्थित रानीबारी सामुदायिक वनमा गरिएको भिडिओ कुराकानीमा उनले चराको प्राग् इतिहासदेखि जीवनचक्र, आनीबानी, उडान र बसाइँसराइको कथा विस्तारमा वर्णन गरेका छन्।
कुन चरा कसरी उड्छ? कुन बेला पखेटा फड्फडाउँछ? कुन बेला पखेटा सिधा राखेर हावामा कावा खान्छ?
चराहरू किन बसाइँसराइ गर्छन्? साइबेरियादेखि नेपालसम्म आउँदा उडेको उड्यै गर्छन् कि बीचमा थकाइ पनि मार्छन्? थाकेर वा बिरामी भएर कसैको मृत्यु भयो भने के हुन्छ? उनीहरू दिउँसो उड्छन् कि राति? बसाइँसराइ गरेर आएकाहरू सबै फर्केर जान्छन् कि कोही यतै बस्छन्?
यति मात्र होइन, चरा जगतमा भालेले पोथी फकाउन के-कस्ता व्यवहार देखाउँछन्? उनीहरूको यौनिक छनौट कसरी निर्धारण हुन्छ? संसर्ग कसरी हुन्छ? प्रजनन् कसरी हुन्छ? यस्ता विषयमा पनि चराविद् घिमिरेले विस्तारपूर्वक वर्णन गरेका छन्।
चराहरूका अतिरिक्त हामीले घिमिरेसँग उनको व्यक्तिगत कुरा पनि गरेका छौं। उनमा चरा जगतप्रति रूचि कसरी जाग्यो र उनी नेपाल फर्केर के गर्न चाहन्छन् भनेर सोधेका छौं।
हेर्नुहोस्, चराविद् डा. अनुज घिमिरेसँगको भिडिओ कुराकानी, सेतोपाटी कन्भरसेसनमा —