नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्षको पाँच लाख मानिसलाई रोजगारी दिनुपर्ने अवस्था रहेको बताएका छन्।
प्रधानमन्त्रीले चाहेर पनि पाँच लाख मानिसलाई रोजगारी दिन नसक्ने उनले बताए।
नवलपरासीको प्रतापपूर २ स्थित आदर्श क्याम्पसमा बिहीबार भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘वर्षको करिब पाँच लाख मानिसलाई नेपालमा रोजगारी दिनुपर्छ। कोही प्रधानमन्त्री भयो र यो वर्ष सबैलाई रोजगारी दिन्छु भन्यो भने पाँच लाख रोजगारी सिर्जना हुनुपर्छ। प्रधानमन्त्रीले कहाँ रोजगारी सिर्जना गर्न सक्छ- सेना, प्रहरी, अस्पताल लगायतमा गरेर करिब २० हजार नाघ्दैन। चार लाख ८० हजार बाँकी रहन्छन्, उनीहरूलाई कसले काम दिन्छ?’
सरकारलेभन्दा पनि निजी क्षेत्रले काम दिन सक्ने उनले बताए।
‘काम कहिल्यै पनि सरकारले दिन सक्दैन। निजी क्षेत्रले दिन्छ, संसारभर यही हो,’ उनले भने, ‘सरकारले रोजगारी दिन्छु भन्यो भने नपत्याउनु, कसैले पनि दिन सक्दैन। सरकारले केबल वातावरण बनाउन सक्छ।’
क्षमताका आधारमा निजी क्षेत्रले काम दिन सक्ने पनि उनले बताए। बजारको मागअनुसार विद्यार्थीलाई शिक्षा दिन सकेमा उनीहरूले रोजगारी पाउने पनि थापाले बताए।
उनले नेपालमा रोजगारीको मुद्दा सबैभन्दा ठूलो भएको पनि बताएका छन्। ‘युवाहरूले यहाँ काम नपाएकोले बाहिर जान बाध्य छन्, यहाँ काम सिर्जना गर्न सकियो भने धेरै हिसाबकिताब मिल्छ,’ उनले भने।