बुटवलको ऐतिहासिक सहर पुरानो बटौलीमा रहेको बिटौरी जग्गाको लालपुर्जा बनाइदिन्छौं भन्दै केही मानिसहरूले उक्त जग्गामा बसोबास गर्ने बासिन्दासँग रकम असुली गरेको पाइएको छ।
बुटवल उपमहानगरपालिका-२ मा रहेको टोल सुधार समितिका अध्यक्ष महेन्द्रराज राजभण्डारीको नेतृत्वमा पैसा असुल्ने काम भइरहेको हो।
पुरानो बटौली बजारका सिद्रा टोल र उजिरसिंह टोलका बासिन्दासँग राजभण्डारी नेतृत्वको समूहले लालपुर्जा बनाउने 'खर्च असुलेको' स्थानीयले बताएका छन्।
रकम संकलन गर्न राजभण्डारीसँगै सोही समितिका उपाध्यक्ष प्रवीण उदय, कोषाध्यक्ष अर्जुन श्रेष्ठ, मिलेन्द्र श्रेष्ठ, रामबहादुर खड्कालगायतको संलग्नता छ। कोषाध्यक्ष श्रेष्ठ भने अहिले विदेशमा छन्। अहिलेसम्म यो समूहले ८ लाख रुपैयाँ उठाइसकेको छ।
पुरानो बटौलीको सिद्राटोल र उजिरसिंह टोलका करिब २ सय परिवारले चार पुस्ता अघिदेखि बसोवास गर्दै आएको भए पनि अहिलेसम्म लालपुर्जा पाउन सकेका छैनन्।
लालपुर्जा बनाइदिन्छौं भनेर टोल सुधार समितिका अध्यक्षकै नेतृत्वमा रकम असुल गरेको स्थानीय बासिन्दाले बताएका छन्।
‘हजुरबुवाको पालोदेखि बस्दै आएको जग्गाको लालपुर्जा पाउन सकिएको छैन, १०/२० हजार खर्च गरेर लालपुर्जा पाइन्छ भनेर पैसा दिएका छौं,' एक स्थानीयले भने।
सँगैको जग्गामा पछि आएर बसेका सुकुम्बासीहरूले लालपुर्जा पाइसकेकाले आफूले बिटौरी जग्गाको लालपुर्जा पाइन्छ भन्ने लोभले पैसा दिएको उनले बताए।
उनले टोल विकासका अध्यक्ष राजभण्डारीको समूहलाई ऋण गरेर पैसा दिएका थिए। सिद्रा टोलमै सानो पसल चलाएर बस्ने अर्का स्थानीयले पनि ऋण गरेर पैसा बुझाएको बताए।
‘राम्रो गर्यौं कि गल्ती गर्यौं के भन्ने? पैसा नदिँदा आफ्नो मात्र लालपुर्जा आएन भने झनै पछुतो हुन्छ भनेर २ प्रतिशत व्याज तिर्ने गरी २५ हजार रुपैयाँ ऋण खोजेर बुझाएको हो,' सिद्रा टोलमा पसल सञ्चालन गरेका उनले भने।
राजभण्डारी नेतृत्वको समूहले लालपुर्जाको लागि सबै प्रकृया मिलाउने व्यक्तिलाई पैसा दिनुपर्ने भन्दै रकम उठाएका थिए।
उक्त समूहले बिटौरी जग्गामा बस्ने २ सयमध्ये ४० भन्दा बढी घरबाट २५ हजारको दरले पहिलो चरणमा रकम उठाइसकेका छन्।
उक्त पैसा दिनेहरूले यो कुरा खुलेर बोल्न सक्ने अवस्थामा छैनन्।
‘बोल्यो भने किन बोलिस् भन्छन्, कसैलाई नभनौं भने १० महिना बढी भयो पैसा लगेको न त ऋण तिरेर सकेको छु न त लालपुर्जा नै हातमा आएको छ,' अर्का एक स्थानीयले भने।
आफूकहाँ राजभण्डारी र उदयले पटक-पटक आएर लालपुर्जा चाहिने भए २५ हजार दिनु होइन भने तिम्रो जग्गाको लालपुर्जा पाउँदैनौं भनेकोले पैसा दिएको उनले बताए। उनीहरूकै आग्रह र सुरक्षाका लागि नाम सार्वजनिक गरिएको छैन।
रकम उठाउँदै हिँडेका राजभण्डारी नेकपा कार्यकर्ता हुन् भने प्रवीण उदय र दिलेन्द्र श्रेष्ठ नेपाली कांग्रेस कार्यकर्ता हुन्।
लालपुर्जा दिलाइदिने भन्दै सर्वसाधारणसँग पैसा असुलेको विषयमा नेकपाको वडा कमिटीमा समेत छलफल भइसकेको छ।
लालपुर्जा दिलाइदिने भन्दै रकम असुल गर्नु गलत कार्य भएको भन्दै वडा र नगर कमिटीको बैठकमै तुरुन्त फिर्ता गरिदिन निर्देशन दिइएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।
नेपाल कम्युनिष्ट पार्टी बुटवल वडा २ कमिटी अध्यक्ष नारायण अर्यालले भने बैठक कक्ष बाहिर केही साथीहरूले आफूहरूले पैसा दिएर पनि लालपुर्जा नपाएको भन्ने प्रसंग कोट्याएको तर आधिकारीक रूपमा कमिटीमा छलफल नभएको बताए।
‘बैठकमा उक्त बिषयमा कुरा उठेको नभई बाहिर छलफल भएको थियो, तर रकम दिएको प्रमाण नभएकोले बैठकमा कसैले कुरा उठाउनु भएन,' अर्यालले भने ।
स्थानीयका अनुसार उनीहरूले पटक-पटक काठमाडौं गएर खर्च गरेको भन्दै रकम असुलेका थिए। रकम असुलेकाहरूले लालपुर्जासम्बन्धी फाइल राष्ट्रपति कार्यालय पुगेको र त्यहाँबाट सदर हुने प्रक्रियामा रहेको भनेका छन्।
रकम उठाएको आरोप लागेका स्थानीय टोल सुधार समितिका अध्यक्ष राजभण्डारीले पनि रकम उठाएको स्वीकार गरेका गरे। पुस्तौंदेखि बसोबास गरेकालाई लालपुर्जा दिलाउन बुटवल उपमहानगरपालिकाले बेवास्ता गरेकोले आफूहरूले दिलाउने पहल गर्न पैसा उठाएको उनको तर्क छ।
'उपमहानगरपालिकाले पहल गरेको भए हामीले यसरी रकम उठाउन पर्ने थिएन, जग्गा नापजाँचको लागि मानिसलाई ल्याउन लैजानको लागि पनि रकम खर्च हुन्छ,’ उनले भने।
लालपुर्जाकै लागि १४/१५ पटकसम्म काठमाडौं र भैरहवा धाइरहनु पर्ने भएकाले सबैबाट रकम उठाएर खर्च गरिएको उनले बताए। उनले लालपुर्जाको लागि काठमाडौं धाइरहेको बताए पनि कहाँ कसलाई भेट्न गएका थिए भन्ने उनले बताउन चाहेनन्।
'हामी १४-१५ पटक काठमाडौं र भैरहवा गएका छौं, जाँदाआउँदा खर्च लाग्छ,' उनले भने ‘उनीहरूले भनेजस्तो २५ हजार तोकेर नभइ कसैबाट ३०/४० हजार त कसैबाट ४/५ हजार उठाएका हौं, मेरो आफ्नै पनि अहिलेसम्म ८० हजार बढी खर्च भएको छ।’
बुटवल उपमहानगरपालिका-२ का वडाअध्यक्ष रमेश नेपालले २ सय भन्दा बढी कित्तामा बसोबास गर्नेहरूको जग्गा बिटौरी भएकोले लालपुर्जा नपाएको बताए। सरकारले बिटौरी जग्गामा जोतभोग गरेकाहरुलाई लालपुर्जा दिने नीति अख्तियार गरेको र सो को प्रक्रिया अगाडी बढेको उनले बताए।
भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले बुटवलको मात्र नभएर बिटौरी जग्गामा बसोवास गर्दै आएकाहरूको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको बताइन्।
देशभरिको भूमिहीन अव्यवस्थित र सुकुम्बासी व्यवस्थापनका लागि तयारी गरिरहेको बेला बुटवलमा लालपुर्जा बनाई दिन्छौं भन्दै पैसा असुलेको थाहा पाएकोले त्यहाँ भने लालपुर्जा दिन रोक्का गरिने मन्त्री अर्यालको भनाइ छ।
'यो सरासर बदमासी हो, ज-जसले लालपुर्जाका लागि पैसा दिए, उनीहरूले लालपुर्जा पाउँदैनन्,' मन्त्री अर्यालले भनिन्।