नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन्।
आइतबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोँच नरहेको बताए।
‘यो सरकारले राम्रो काम गरिरहेको छैन। त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन। हामीलाई सरकार चाहिएको छैन। त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौं,’ उनले भने।
माओवादी केन्द्रले भदौ तेस्रो साताबाट विगतमा स्थगन भएको अभियानलाई पुनः सुरू गर्ने र त्यसपछि पुनः केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेण्डासहित अघि बढ्ने उनको भनाइ थियो।
‘त्यसैले हाल सरकारभन्दा जनताका कुरा सुन्नतर्फ पार्टीलाई केन्द्रित गरिरहेका छौं। जनताको गुनासो र ती गुनासा समाधानका लागि अभियान पुनः सञ्चालन गर्न लागिएको हो,’ उनले भने।
हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको भन्दै उनले बैठकले गरेका निर्णय कार्यान्वयनमा आउने बताए।
फरक प्रशंगमा उनले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको र त्यहाँ द्रूतगतिमा काम अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे।