दैलेखमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २५ वर्षीय खगेन्द्र भण्डारी र २४ वर्षीय गोविन्दबहादुर शाहीलाई शनिबार बेलुकी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले जानकारी दिए।
शुक्रबार राति १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी बरालले जानकारी दिए।
बालिकाका अभिभावहरुले किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
शुक्रबार तीजको अवसरमा भएको नाचगान हेरेर फर्किँदै गर्दा उनीहरूले सामूहिक बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
तीज नाचबाट साथीहरूसँग फर्कँदै गर्दै जंगलनजिक पुगेपछि ती दुई पुरूषहरूले लखेटेको जाहेरीमा उल्लेख छ।
बालिकाहरू भाग्न थालेपछि उनीहरूले लखेट्दै ढुंगा हानेका थिए। उनीहरूले हानेको ढुंगा लागेर ती बालिका लडेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी बरालले जानकारी दिए।
बालिका लडेपछि उनीमाथि दुई जनाले पालैपालो बलात्कार गरेका थिए।
यता सँगै गएका बालिकाहरू भागेर गाउँ पुगेपछि गाउँलेहरूलाई घटनाबारे जानकारी दिएका थिए।
त्यसपछि अभिभावकहरू र स्थानीय पुगेर बालिकाको उद्धार गरेका थिए।
'गाउँले आएको थाहा पाएपछि अचेत अवस्थाकी बालिकालाई सडक किनारमै छोडेर उनीहरु भागेका थिए। त्यसपछि घटनाबारे राति नै प्रहरीलाई स्थानीयले खबर गरेका थिए,' डिएसपी बरालले भने।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर लालबहादुर सुनारका अनुसार बालिकाको उपचार भइरहेको छ। घटनाबारे पनि थप अनुसन्धान भइरहेको उनले भने।