अपहरणपछि हत्या गरिएका दाङ घोराहीका रनबहादुर घर्तीको शव उनको परिवारले बुझेका छन् । घर्तीका परिवारले उनको शव बुझ्न नमान्दा दाङको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा शव थन्किदै आएको थियो ।
पीडित परिवार र स्थानीय प्रशासन बीचमा भएको लगातारको छलफलपछि परिवारले शव फेला परेको १४ दिनपछि सोमबार बेलुका शव बुझेको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । मृतक परिवार र स्थानीय प्रशासनका बीचमा घर्तीका दुई छोराको उचित शिक्षा दिक्षाको व्यावस्था, श्रीमतीलाई रोजगार र राज्यले दिन सक्ने क्षतिपूर्तिका लागि पहल गर्ने सहमतिमा परिवारले शव बुझेको प्रजिअ श्रेष्ठले जानकारी दिए । यसअघि घर्तीका परिवारले श्रेष्ठको अपहरण र हत्यामा संलग्नहरुलाई आजिवन कारावासको माग गर्दै आएका थिए । स्थानीय प्रशासनले शव बुझेर रनबहादुर घर्तीको अपहरण र हत्यामा संलग्नहरुलाई कानूनी कारबाहीको लागि जाहेरी दिएमा पीडित परिवारको माग सम्बोधन गर्न सहज हुने आश्वासन दिएको छ । दुईजना व्यापारीको अपहरण र हत्यामा संलग्न भएकामध्ये दश जनालाई प्रहरीले हालसम्म नियन्त्रणमा लिइसकेको छ ।
व्यापारको सिलसिलामा रुकुम जाँदै गर्दा घोराही उपमहानगरपालिका वडा नं. १२ का २८ वर्षीय रनबहादुर घर्ती जेठ २६ गते राति सल्यानबाट अपहरणमा परेका थिए । उनको शव सल्यानको जंगलमा असार २७ गते फेला परेको थियो । पक्राउ परेकाहरुले अपहरणपछि घर्ती र अर्का व्यापारी राजकुमार श्रेष्ठको हत्या जेठ २९ गते गरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर ५ का ६० वर्षीय व्यापारी राजकुमार श्रेष्ठसँगै घर्ती अपहरणमा परेका थिए । श्रेष्ठलाई अपहरण गर्न भनी ढुकेर बसेका अपहरणकारीसँगको पुरानो चिनजानका कारण संयोगवस त्यहाँ पुगेका घर्तीलाई अपहरणकारीले पोलखुल्ने त्रासले अपहरणपछि हत्या गरेका थिए । दुवै जनाको शव कपुरकोट गाउँपालिका वडा नं. ४ झिम्पे जंगलमा फेला परेको थियो । तर श्रेष्ठको शव असार १६ गते नै फेला परेको भएपनि घर्तीको शव भने सोही जंगलमा असार २७ गते मात्रै फेला परेको थियो ।