हिन्दु जागरण नेपाल दाङले जिल्लामा यातायात बन्द आह्वान गरेको छ । बन्दका कारण शुक्रबार बिहानैदेखि जिल्लामा यातायात ठप्प भएको छ भने जनजीवन प्रभावित भएको छ ।
आफ्ना जिल्ला सदस्य रणबहादुर घर्तीको अपहरणपछि भएको हत्याको विरोधमा जिल्लामा यातायात बन्द गरिएको हिन्दु जागरण नेपाल दाङका अध्यक्ष यमबहादुर भण्डारीले जानकारी दिए । तर, विद्यालय तथा अत्यावश्यकका सवारी साधनहरु भने निर्बाध रूपमा सञ्चालनमा आएको उनले बताए ।
बन्दको प्रभावले तुलसीपुर क्षेत्रमा व्यापारीले पसल सञ्चालन गरेका छैनन् भने दाङबाट बाहिरिने र भित्रिने सवारी साधान सञ्चालनमा आउन नसकेको प्रहरीले बताएको छ । बन्द बेलुका ५ बजे खुल्ने बताइएको छ ।
उनको शव राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको शव गृहमा राखिएको छ । आफ्नो माग पूरा भएमात्र शव बुझ्ने घर्तीका परिवारले बताएका छन्। घर्तीका परिवारले अपहरण र हत्यामा संलग्नहरुलाई आजीवन कारावासको सजाय हुनुपर्ने, घर्तीका छोराहरुको उच्च शिक्षासम्मको ग्यारेन्टी हुुनुपर्ने , परिवारलाई आयआर्जनको व्यवस्था हुनुपर्ने माग गर्दै आएका छन् ।
दाङका प्रमुख जिल्ला अधिकारी गेहन्द्रबहादुर श्रेष्ठले गत हप्ता घर्तीको निवासमै पुगेर उनका आफन्तलाई शव बुझेर सघाउन र पक्राउ परेका विरुद्ध जाहेरी दिन आग्रह गर्दा पनि उनीहरुले शव बुझ्न मानेका छैनन् ।
व्यापारको सिलसिलामा रुकुम जाँदै गर्दा अपहरणकारीले आफ्ना जिल्ला सदस्य घर्तीको अपहरण पश्चात निर्मम हत्या गरेकोमा दुख व्यक्त गर्दे मृतकका परिवारलाई उचित क्षतिपूर्तिका साथै हत्याराहरुलाई कडा सजायको माग समेत गरिएको छ ।
घर्तीको शव तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको शव फेला परेकै स्थान सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ४ झिम्पेको घना जंगलमा असार २७ गते बिहान फेला परेको थियो ।