दाङमा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेतिर लु ३२ प ९४८ नम्बरको स्कुटर दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।
दुर्घटनामा परि बाँके कारकाँदो निवासी अन्दाजी २८ वर्षीय स्कुटर चालक सुशील गैरे र त्यसमा सवार प्यूठान नगरपालिका वडा नं. ५ निवासी अन्दाजी २१ वर्षीय कविराम भण्डारीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रविन्द्रबहादुर खड्काले जानकारी दिए । राप्ती गाउँपालीका वडा नं. १ भालुवाङमा शुक्रबार बिहान भालुवाङबाट प्यूठान जाँदै गरेको स्कुटर दुर्घटनामा परेको थियो ।
यसैबीच, तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा मोटरसाईकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी साविक फूलवारी ६ बखरीया निवासी ३० वर्षीया जानकी चौधरीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए ।
चौधरीलाई शुक्रबार बिहान सात बजेतिर बखरीयास्थित उनको घर नजिकै बिहान सात बजेतिर रा १ प ४३३७ नम्बरको मोटरसाईकलले ठक्कर दिएर घाइते बनाएको थियो । बाँकेको उपचारपछि थप उपचारका लागि भारततर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको हाे ।