लामो समय उमेर र एसएलसी प्रमाणपत्र विवादमा मुछिएका कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले आइतबार संसदीय सुनुवाइ क्रममा अरु सबै भने, यही दुइटा कुरा भने उच्चारणै गरेनन्।
सुनुवाइ समितिका १४ सदस्यीय सांसदहरुलाई 'न्यायाधीश' को पगरी गुथेका पराजुलीले आफ्नो परिचय क्रममा न जन्ममिति खुलाए न त शैक्षिक योग्यताको विषय नै उप्काए। उनलाई प्रश्न सोधेर प्रधानन्यायाधीश हुन योग्य छ कि छैन भनी निर्क्यौल गर्नुपर्ने सांसदहरुले पनि कसैले उनको प्रमाणपत्र र उमेर विवादको कुरा उठाएनन्।
पराजुलीसँग जोडिएका दुई महत्वपूर्ण विवादमा प्रश्नै नउठाई संसदीय सुनुवाइ समितिले उनको नियुक्तिलाई सर्वसम्मत अनुमोदन गर्यो। यसअघि सर्वोच्च अदालत प्रवेश बेला चित्रबहादुर केसीले पराजुलीको विपक्षमा मत हालेका थिए।
पराजुलीले आफ्नो परिचय दिने क्रममा बुवा र आमाको नाम बताए। एघार सन्तानमध्ये आफू पाँचौं छोरा भएको सुनाए। आफूले २०४८ कात्तिक ११ गते न्याय सेवामा प्रवेश गरेको भन्न भ्याए। तीन वर्ष एक महिना २० दिनअघि यसैगरी संसदीय सुनुवाइमा आएको पनि सम्झे। तर, उनले आफ्नो जन्ममिति खुलाएनन्। शैक्षिक योग्यताको विषय पनि उप्काएनन्।
संसदीय सनुवाइमा आफूविरुद्ध उजुरी नआउनुले आफ्नो कार्यसम्पादन राम्रो देखिएको उनले आफैं विश्लेषण गरे। संसदीय कठघरामा उभिन आइपुगेका पराजुलीले 'नूतन व्यक्तित्व र परिस्कृत तथा परिमार्जित माननीय सदस्यहरुलाई भेट्न पाउँदा खुसी लाग्यो' भन्दै सांसदहरुको गुणगान गाउन पनि भ्याए।
सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले व्यंग्यात्मक शैलीमा भने, 'अमेरिकामा राष्ट्रपतिलाई सुनुवाइको क्रममा १२ वर्षको उमेरमा केटी जिस्क्याएको पनि सोधिएको थियो।'
पराजुलीको उमेर विवाद न्याय परिषद्ले जेठ ३० मा टुंगो लगाइसकेको छ। प्रधानन्यायाधीशका रुपमा सिफारिस गर्दै गर्दा उनको जन्ममिति २०१० वैशाख १६ लाई सदर गरेको हो। त्यसअघि सुशीला कार्की प्रधानन्यायाधीश रहँदा पराजुलीको जन्ममिति २००९ साउन २१ गतेलाई कायम गरिदिएकी थिइन्।