प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका नेताहरूसँग आज भेटवार्ता गरेकी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र कांग्रेसका नेताहरूबीच आज बिहान करिब २ घन्टा कुराकानी भएको हो।
प्रधानमन्त्री कार्की र कांग्रेसका नेताहरू देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाई, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौलाबीच कुराकानी भएको हो।
निर्वाचनको वातावरण बनाउने सन्दर्भमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने गरेकी छन्। आजको भेट त्यसैको निरन्तरता भएको बताइएको छ।
प्रधानमन्त्रीले छलफलमा बोलाएपछि आफूहरू बालुवाटार पुगेर कुराकानी गरेर फर्किएको नेता गुरूराज घिमिरेले जानकारी दिए।
‘प्रधानमन्त्रीज्यूले फागुन २१ गतेको प्रतिनिधि सभा चुनाव गराउन सरकार प्रतिबद्ध छ, नेपाली कांग्रेससहित सबै राजनीतिक दल चुनावमा लाग्नुपर्छ, चुनावका लागि वातावरण बनाउनुपर्छ भन्ने कुरा गर्नुभयो,’ उनले भने, ‘हामीले पनि सरकारले समयमै चुनाव गराउनुपर्ने कुरामा जोड दियौं। हामी ८ जना गएका थियौं, पालैपालो सबैले कुरा राख्यौं।’
प्रधानमन्त्रीसँग कुराकानी गरेर फर्किएका अर्का नेता राजेन्द्र बजगाईले फागुन २१ को चुनाव गराउन प्रधानमन्त्री प्रतिबद्ध रहेको पाइएको जानकारी दिए।
‘चुनावका लागि राजनीतिक दलहरूले सहयोग गर्नुपर्छ भन्नुभयो, हामीले चुनाव समयमै हुनुपर्छ भन्यौं,’ उनले भने, ‘उहाँ लोकतन्त्र, कानूनको शासन र निष्पक्ष चुनाव गराउन पूर्ण रूपमा प्रतिबद्ध देखिनुभएको छ।’