अपहरण पछि हत्या गरिएका घोराहीका व्यवसायी रणबहादुर घर्तीको शव अझै अस्पतालमा छ। हत्यामा संलग्नहरुलाई जन्म कैदको घोषणा नहुँदासम्म शव नबुझ्ने घर्तीको परिवारजनले अडान लिदैं आएका छन्।
घर्तीका दुई छोराको उचित शिक्षाको सुनिश्चित व्यवस्था हुनुपर्ने र घर्तीको श्रीमतीलाई रोजगारीको व्यवस्था हुनुपर्ने माग राख्दै शव बुझ्न नमानेको दाङका प्रहरी प्रमुख एवं एसपी धिरज प्रताप सिंहले जानकारी दिए।
पीडित पक्ष र प्रहरी प्रशासनको बीचमा शुक्रबार छलफल भएपनि कुरा मिल्न नसकेको सिंहले बताए। ‘घर्तीको परिवारलाई उचित क्षतिपुर्ती , बच्चाको शिक्षाको लागि प्रमुख जिल्ला अधिकारी मार्फत सिफारिस गर्छौं भन्ने आग्रह गर्दा पनि पीडित पक्षले मान्नु भएन,’ एसपी सिंहले भने, ‘उहाँले शव नबुझ्दा प्रहरीलाई दोषिमाथि कारबाहीको प्रक्रिया अघि बढाउन समस्या भएको छ।’
घर्तीको शव परिवारले तीन दिनदेखि नबुझ्दा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा छ। उनको शव असार २७ गते विहान फेला परेको भएपनि दुई दिन पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको थियो।
गत जेठ २६ गते व्यापरको शिलशिलामा रुकुम तर्फ जाँदै गरेका घोराही उपमहानगरपालिका वडा नं–१२ हापुर निवासी ३१ बर्षीय रणवहादुर घर्तीलाई अपराधिक समुहले अपहरण पछि हत्या गरेको थियो। घर्ती संगै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ६० बर्षीय व्यवसायी राजकुमार श्रेष्ठ पनि अपहरण पछि विभत्स हत्या भएको थियो। व्यवसायी राजकुमार श्रेष्ठलाई अपरहणगर्ने योजना सहित ढुकेर बसेका अपहरणकारीलाई चिनको हुँदा पोल खुल्ने डरले अपहरणकारीले घर्तीको अपहरणपछि हत्या गरेको वयान पक्राउ परेकाहरुले दिएको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
जेठ २६ गते साँझ पौने नौ बजेतिर स्काभेटर ठेक्का लगाए वाफतको पैसा लिन रुकुम जान लागेका घर्ती सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङ्ग र रिमकोबीच जंगलमा पर्ने शितल बजारबाट राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका थिए। अपरहणको तीन दिन पछि जेठ २९ गते पहिला घर्ती र त्यसपछि श्रेष्ठको हत्या गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ।
मौन जुलुश प्रदशन
यसैबीच घोराहीका व्यवसायी रणबहादुर घर्ती र तुलसीपुरका ब्यबसायी राजकुमार श्रेष्ठका हत्यारालाई जन्मकैदको माग गर्दै घोराहीमा शुक्रवार मौन जुलुस प्रदशन भएको थियो।
घोराहीको ट्राफिक चोकबाट निकालिएको विरोध प्रदशन घोराही बजारका विभिन्न भागको परिक्रर्मा पछि जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना दिएको थियो।
सल्यानको झिम्पे – ४ को घना जंगलमा अपहरणपछि हत्या गरिएका घर्ती र श्रेष्ठको शव फेला परेको थियो। तुलसीपुरका व्यवसायी श्रेष्ठको शव असार १६ गते फेला परेको भएपनि घर्तीको शव भने असार २७ गते फेला परेको थियो। श्रेष्ठ र घर्तीको अपहरण र हत्यामा सम्लग्न भएको आरोपमा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। व्यवसायी श्रेष्ठ र घर्तीको अपरहण पछि भएको हत्याको सवत्र विरोध हुँदै आएको छ।