अपहरणपछि हत्या गरिएका घोराही हापुरका युवा रनवहादुर घर्तीको शव फेला परेको छ। सल्यान छत्रेश्वरी ४ झिम्पेको खर्सुगैरा जंगलमा बुधबार बिहान घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डिएसपी श्यामबहादुर खत्रीले सेतोपाटीलाई जानकारी दिए।
घर्तीको शव खोजी गर्ने क्रममा घना जंगलको बीचमा ढुंगाको चेपमा शव सडेको अवस्थामा फेला परेको खत्रीले बताए।
तुलसीपुरका प्रतिष्ठित व्यापारीसँगै अपहरणमा परेका घोराही हापुरका युवा घर्तीको पनि अपहरणपछि हत्या गरेको मंगलबार मात्रै प्रहरीले सार्वजनिक गरेको थियो। त्यसपछि खोजिका लागि पुगेको अस्थायी प्रहरी चौकी पोखरीडाँडा र स्थानीयले बुधबार बिहान घर्तीको शव घना जंगलको बीचमा ढुङ्गाको चेपमा फेला पारेको डिएसपी खत्रीले बताए। उनले अहिले आफू पनि शव फेला परेको स्थान तर्फ जान लागेको बताए।
मंगलबार मात्रै तुलसीपुरमा पत्रकार सम्मेलन गरी प्रहरीले श्रेष्ठ र घर्तीको अपहरण र हत्याका एकै दिन भएको रहस्य सार्वजनिक गरेको थियो। श्रेष्ठ र घर्तीको अपरहणपछि हत्याका मुख्य योजनाकारको बयानका आधारमा घर्तीको समेत हत्या जेठ २९ गते नै भएको प्रहरीले बताएको थियो।
जेठ २६ गते राति श्रेष्ठ र घर्ती एकै दिन सल्यानबाट अपहरण परेका थिए। त्यसको तीन दिन पछि २९ गते दुबै जनाको हत्या गरेको बयान पछिल्लो सयम पक्राउ परेकाले दिएको प्रहरीले मंगलबार मात्रै दाङमा सार्वजनिक गरेको हो ।
तुलसीपुरका व्यापारी ६० वर्षीय राजकुमार श्रेष्ठको शव गत जेठ १६ गते नै फेला परेको थियो।
श्रेष्ठको शव फेला परेको ठाउँदेखि झन्डै १ सय ५० मिटर मुनि घना जंगलको ढुंगाको बीचमा रनबहादुरको शव फेला परेको अस्थायी प्रहरी चौकी पोखरीडाँडाका हवल्दार देवजंग शाहले जानकारी दिएको सल्यान प्रहरी प्रमुख खत्रीले बताए।
अपराध लुकाउन घर्तीको पनि हत्यायसैबीच प्रहरीले अपराध लुकाउन घोराही हापुरका ३३ वर्षीय रनबहादुर घर्तीको पनि हत्या गरेको अनुसन्धानबाट खुलेको बताएको छ। ‘अपहरणकारीको उद्धेश्य रनवहानुर घर्तीलाई अपहरण गर्ने थिएन। तर, घर्ती व्यापारको सिलसिलामा जेठ २६ गते पौने ९ बजेतिर भारतीय व्यक्तिहरु सँगै रुकुम जाँदै गरेका व्यक्ति हुन्।’
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ६० बर्षीय व्यापारी श्रेष्ठलाई अपहरणगर्न अपहरणकारीले तुलसीपुर ६ स्याली बजारकै २० बर्षीय युवती पुजा घर्तीलाई प्रयोग गरेर सल्यान पुर्याएका थिए। योजनासहित श्रेष्ठलाई अपहरणगर्न बाटो ढुकेर बसेका अपहरणकारीले श्रेष्ठ भन्दा पहिला त्यहाँ पुगेका रनवहादुर घर्ती सवार भारतीय नम्वर प्लेटको एचपी ११८६४८ नं.को भारतीय नम्वर प्लेटको गाडिमाथि ढुङ्गा मुढा गरेका थिए।
त्यसपछि श्रेष्ठ नरहेको भन्ने पत्ता लागेपछि उनीहरुले माफी माग्दै आफूले अर्कौ व्यक्तिलाई कुरेको हुँदा जान घर्ती लगाएतका व्यक्तिलाई आग्रह गरेका रहेछन्। तर गाडीको फुटेको सिसाको क्षतिपूर्तीको सवालमा कुरा चल्दा चल्दै हत्या गरिएका रनवहादुर घर्तीले ‘दाजु तपाँई र म सँगै जेल बसेको त हो नि , मलाई चिन्नु भएन,’ भन्ने शब्द प्रयोग गरेपछि पहिचान खुल्ने डरले घर्तीलाई मात्रै अपहरण गरेर लगेको तर सँगै रहेका तीन जना भारतीय नागरिकलाई त्यँही छोडेको प्रहरीको अनुसन्धानले बताउँछ।
त्यसको ५/७ मिनेटमा सल्यान जान हिडेका तुलसीपुरका व्यापारी श्रेष्ठ बा ११ च १०७१ नम्वरको निजी कारमा त्यहाँ पुगेपछि जेठ २६ गते साँझ पौने ९ बजेतिर दुबैलाई अपहरणकारीले सँगै लगेका थिए ।
जेट २७ गते बिहान व्यापारी श्रेष्ठको बा ११ च १०७१ नम्वरको निजी कार र भारतीय नम्वर प्लेटको एचपी ११८६४८ नं.को भारतीय नम्वर प्लेटको गाडी सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ५ मेलखोलास्थित भित्री कच्ची सडक खण्डको घना जंगलमा फेला परेको थियो। श्रेष्ठको कारको हावा फालिएको अवस्थामा फेला परेको थियो।
अपहरणपछि उक्त क्षेत्रमा व्यापक प्रहरी परिचालन र हल्ला खल्ला भएपछि पोल खुल्ने त्रासले जेठ २९ गते दिउँसो सुरूमा घर्तीको हत्या गरेपछि त्यसको आधा घन्टा पछि व्यापारी श्रेष्ठको पनि हत्या गरेको बयान मंगलबार पक्राउ परेकाहरूले दिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
जेठ २६ गते साँझ शुक्रबार अपहरणमा परेका श्रेष्ठको शव असार १६ गते शुक्रवारकै दिन सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ को रैजेखुटीस्थित घना जंगल (झिम्पे टावरको मुनी) श्रेष्ठको शव फेला परेको थियो।
ठिक त्यसको डेढ सय मिटरको दुरीमा असार २८ गते हत्या गरिएका घर्तीको शव फेला परेको प्रहरीले जनाएको छ। दाङका प्रहरी प्रमुख एवं एसपी धिरज प्रताप सिंहले भने ‘आफ्नो पहिचान खुल्ने त्रासले अपहरणकारीले घर्तीको हत्या भएको देखिन्छ।’ घर्तीको शव दाङ ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
अपहरणका मुख्य योजनाकार को थिए?प्रहरीले मंगलवार श्रेष्ठ र घर्तीको अपहरण पछि हत्या गर्ने मुख्य योजनाकारलाई सार्वजनिक गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ निवासी ३० वर्षीय खुमबहादुर केसी र तुलसीपुर ८ निवासी २८ वर्षीय भूपेन्द्र भण्डारी अपहरण र हत्या काण्डका मुख्य योजनाकार भएको एससी सिंहले जानकारी दिए। पक्राउ परेका मध्ये खुमबहादुर केसीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको हो। त्यस्तै श्रेष्ठलाई फोन गरेर सल्यान घुम्न जानका लागि आग्रह गरेर अपहरणमा सघाउने तुलसीपुर ६ स्याउली बजार बस्ने २० वर्षीया पूजा घर्ती, उनका बाबु ३९ वर्षीय टिकाराम घर्ती र पूजाका मामा नाता पर्ने सल्यान जिल्लाको झिम्पे साविक कोरवाङ गाविस वडा नं. ५ घर भई हाल दाङको साविक हेकुली गाविस वडा नं. ४ बस्ने ३७ वर्षीय मानवहादुर भण्डारीलाई बाँकेको डुरुवा गाउँपालिका वडा नं. ६ स्थित नेपाल भारतको सीमानामा पर्ने हिरमोनिया भन्ने स्थानवाट पक्राउ गरिएको जानकारी दिएको छ।
त्यसैगरी तुलसीपुर ९ बस्ने ४१ बर्षीय नारायण वली र भण्डारीलाई तुलसीपुर वाटै पक्राउ गरिएको एसपी सिंहले बताए ।
यसअघि सार्वजनक थप चार जनायसअघि प्रहरीले असार १६ गते श्रेष्ठको शव फेला पारेको दिन तुलसीपुरका पत्रकार सम्मेलन गरि थप चार जनालाई सार्वजनिक गरेको थियो । त्यतिबेला रोल्पा जिल्लाको जम्कोट १ घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं. ४ बस्ने ४० वर्षीय रमेश भन्ने मनबहादुर पुन, पवन नगर १ हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी २३ वर्षीय रुगत थापा मगर, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी २५ वर्षीय कमल भन्ने अविरल महतरा र घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बजार निवासी ३८ वर्षीया जमा पुनलाई प्रहरीले श्रेष्ठको अपहरण र हत्यामा सम्लग्न भएको भनि सार्वजनिक गरेको थियो।
यी चार जनाको बयानको आधारमा पछिल्लो सयम थप पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पूजाले आमालाई गरेको फोनले पक्राउ गर्न सहज भयोप्रहरीले पूजा लगायत उनका बुवा र मामा नाता पर्ने मानवहादुर भण्डारीलाई बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ स्थित नेपाल भारतको सीमामा पर्ने हिरमोनिया भन्ने स्थानबाट पक्राउ गरिएको जानकारी पत्रकार सम्मेलनमा दिएको भए पनि प्रहरीको उच्च स्रोतले भने उनीहरुलाई भारतको हिमाञ्चल प्रदेशको सिमलाबाट पक्राउ गरिएको जानकारी दिएको छ।
एक दिन पूजाले घरमा आफ्नी आमालाई फोन गरेपछि त्यही फोनको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले स्रोतले बताएको छ। भारतको सिमला क्षेत्रमा लुकिछिपी बस्दै आएका पूजा, उनका वुवा र मामा भण्डारीलाई नेपालबाट गएको विशेष टोलीले भारतीय प्रहरीको सहयोगमा प्रक्राउ गरेर नेपाल ल्याएको प्रहरी उच्च स्रोतले बताएको छ ।
पत्रकार सम्मेलनमै भण्डारी रोएप्रहरीले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रहरीकै शब्दमा मुख्य योजनाकार भनिएका भूपेन्द्र भण्डारीले आफू निर्दोश रहेको भन्दै बचाउ गर्न खोजेका थिए। उनले रूँदै भने, ‘म निर्दोश छु, मलाई प्रहरीले अनाहकमा फसाउन खोजेको छ।’
भण्डारीले रुँदै आफ्नो बचाउ गरेपछि अञ्चल प्रहरी प्रमुख एसएसपी ज्ञान विक्रम शाहले प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेकाले निर्दोश भए पनि नभए पनि आत्तिनु नपर्ने बताए। ‘पक्राउ परेका व्यक्तिको बयानका आधारमा आशंका लागेर प्रकाउ गरिएको हो, निर्दोश सावित गर्ने काम अदालतको हो,’ शाहले भने।
अझैं पनि अपहरण र हत्याको सवालमा खोज अनुसन्धान जारी रहेकोले थप अरू पनि पक्राउ पर्न सक्ने वा पक्राउ परेका मध्य कतिपय निर्दोष सावित हुन सक्ने सम्भावना उनले औंल्याएका थिए।