राष्ट्रपति कार्यालयले सरकारसँग एउटा बुलेट प्रुफ गाडी र त्यसको अगुवापछूवा गाडी खरिदका लागि पत्र मात्र लेखेको जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता मनप्रसाद वाग्लेले गाडी खरिदका लागि सरकारलाई भनेको तर किटान गरेर पैसा नमागेको सेतोपाटीलाई बताए।
'विदेशी राष्ट्राध्यक्ष आउँदा उनीहरुलाई चढ्न दिन तथा राष्ट्रपति आफ्नै लागि पनि सवारी साधन आवश्यक थियो। राष्ट्राध्यक्षको सुरक्षा संवेदनशीलताका हिसाबले पनि बुलेट प्रुफ गाडी चाहिन्छ भनेर सरकारलाई एकवर्ष अघि यो कार्यालयले चिठी लेखेको हो,' उनले भने, 'त्यसबाहेक राष्ट्रपतिले यति मूल्यको गाडी र यस्तो गाडी भनेर माग गर्नु भएको भन्ने कुरा साँचो हैन।'
राष्ट्रपति कार्यालय स्रोतका अनुसार २०७२ फागुन २८ मा कार्यालयका सचिव भुपेन्द्र पौडेलले अर्थमन्त्रालयलाई चिठी लेखेर एउटा बुलेट प्रुफ गाडीको व्यवस्था गरिदिनु भनेका थिए।
'सम्माननीय राष्ट्रपतिज्यूको सवारी प्रयोजनको लागि एउटा बुलेटप्रुफ जिप र सो जिपको अगुवा पछुवा प्रयोजनको लागि दुईवटा जिप खरिद गर्न आवश्यक रहेकोले रकम निकासा गरिदिन अनुरोध गर्दछु', सचिव पौडेलले लेखेको चिठीमा उल्लेख थियो।
अर्थमन्त्रालयले ०७२ साल चैत ३ मा खरिद प्रक्रिया अघि बढाउने निर्णय गर्यो। त्यसपछि राष्ट्रपति कार्यालयलाई नै के–कस्तो गाडी चाहिने भनेर सोध्यो।
त्यसपछि भने राष्ट्रपति कार्यालयले यस्तो खरिद रक्षा मन्त्रालय अन्तर्गत गर्न भन्दै अर्को पत्र लेखेको थियो।
'०७३ साल असार ९ गते फेरि सचिव पौडेलले सुरक्षा सम्बन्धी सवारी भएकाले रक्षामन्त्रालयबाटै खरिद प्रक्रिया मिलाउनु भनेको थियो', स्रोतले सेतोपाटीसँग भन्यो।
राष्ट्रपति कार्यालयका सचिवले ०७३ असार ९ मा रक्षा मन्त्रालयलाई लेखेको उक्त चिठीमा उल्लेख थियो, 'बुलेटप्रुफ गाडी सुरक्षा सम्बन्धी सवारी भएकाले रक्षामन्त्रालयबाट खरिद प्रक्रिया अगाडि बढाउँदा उपयुक्त हुने हुनाले खरिदपश्चात सवारी साधनहरु यस कार्यालयलाई हस्तान्तरण गर्ने गरि एक बुलेट प्रुफ गाडी र अगुवा पछुवा गाडी २ समेत थान ३ को साधन को खरिद कारबाहि अघि बढाइदिन अनुरोध छ।'
एक वर्षअघि पठाएका ती चिठीबाहेक राष्ट्रपति कार्यालयले कुनै अरु माग नराखेको स्रोतको दाबी छ।
'त्यसपछी कुनै माग गएको छैन पैसा मागेको पनि हैन, यी चिठीहरुबारे उनीहरुले के के गरिरहेछन् थाहा पनि छैन छैन', स्रोतले भन्यो।