सल्यानमा भएको बस दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । दुई जना घाईतेको उपचाकार क्रममा जिल्ला अस्पताल सल्यान खलंगामा मृत्यु भएको सल्यानका प्रहरी प्रमुख एवं डिएसपी श्यामवहादुर खत्रीले जानकारी दिए। यो खबर तयार पार्दा सम्म मृतकको पहिचान भने हुन नसकेको उनले बताए ।
तर एकजना मृतकको साथबाट सल्यान निवासी रातु खड्का नाम उल्लेख भएको जग्गा धनि पूर्जा फेला परेको प्रहरीले बताएको छ। उनका अनुसार बस दुर्घटनामा परि २३ जना पुरुष , ५ महिला र दुई वालिका घाईते भएका छन्।
दाङको घोराहीवाट यात्रु बोकेर तुलसीपुर–सल्यान हुँदै रुकुमको रुकुमकोट तर्फ जाँदै गरेको ना ४ ख ५७५४ नं को बस आइतबार विहान ९ बजेतिर दुर्घटना भएको हो ।
सिस्ने हिमाल यातायता व्यवसायी समिति रुकुमको उक्त वस सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ५ सल्लेखोलामा दुर्घटनामा परेको डिएसपी खत्रीले जानकारी दिए। उनले घाइते मध्य १० जना जतिको अवस्था गम्भीर रहेकोले उनीहरुलाई दाङ तर्फ उपचारका लागि पठाइएको जानकारी दिए। घाइतेहरुलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर, जिल्ला अस्पताल सल्यान र श्रीनगर अस्पतालमा उपचारका लागि पठाइएको डिएसपी खत्रीले बताए।