दाङबाट सल्यान हुँदै रूकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना हुँदा कम्तिमा ३० जना घाइते भएका छन् ।
दाङको घोराहीबाट यात्रु बोकेर सल्यान हुँदै रूकुमको रूकुमकोट तर्फ जाँदै गरेको ना ४ ख ५७५४ नं. को बस आइतबार बिहान करिब ९ बजे दुर्घटना भएको हो।
सिस्ने हिमाल यातायात व्यवसायी समिति रूकुमको उक्त बस सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ५ सल्लेखोलामा दुर्घटनामा परेको सल्यानका प्रहरी प्रमुख एवम् डिएसपी श्यामबहादुर खत्रीले सेतोपाटीलाई जानकारी दिए। प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा कम्तिमा ३० जना जति घाईते भएको र केहीको अवस्था गम्भीर रहेको डिएसपी खत्रीले बताए । उनले घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेकोले उनीहरुलाई उपचारका लागि दाङ पठाइएको जानकारी दिए।
घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुर, जिल्ला अस्पताल सल्यान र श्रीनगर अस्पतालमा उपचारका भइरहेको छ।
बस सल्लेखोलाको भिरबाट सय मिटर तल खेतमा खसेको थियो।
प्रहरी र स्थानीयले ख घाइतेको उद्धार गरिरहेको घटनास्थलमा रहेका स्थानीय सुनिल थापाले बताए। थापाले एक जनाको घटनास्थलमै मृत्यु भइसकेको जानकारी दिएका छन्। यद्यपी प्रहरीले त्यसको पुष्टी गरिसकेको छैन।