सोलुखुम्बु, तिङ्ला गाविसको टिम्बुरबोटेमा २०३१ पुस १ गते नेपाली कांग्रेसका १३ जना नेता मारिए। कांग्रेस पञ्चायत व्यवस्थाविरुद्ध सशस्त्र विद्रोहमा ओर्लिएको समय थियो त्यो।
४३ वर्षअघि राजाको प्रत्यक्ष शासनविरुद्ध विद्रोह गरेको सोलुको त्यही ठाउँ अहिले पनि आन्दोलित छ। स्थानीय तह पुनर्संरचना गर्दा विभेद भएको भन्दै नेचा सल्यान गाविस वडा नम्बर ६ मा पर्ने तिङ्लावासीले निर्वाचन बहिष्कार गरेका छन्। यहाँ न कोही उम्मेदवार छन् न त कोही मतदान गर्न गएका छन्।
तिङ्लामा रहेका पाँच मतदात केन्द्रमा अहिलेसम्म एक जना पनि भोट हाल्न नआएको सिंहकाली मावि मतदान केन्द्रका निर्वाचन अधिकृत नारायण तामाङले बताए। 'यो वडामा त कोही उम्मेदवार छैनन्, गाउँपालिका प्रमुखका लागि पनि अहिलेसम्म एक भोट खसेको छैन,' उनले सेतोपाटीसँग भने, 'बिहानदेखि हामी कुरेर बसेका छौं, कोही नआए पनि बेलुकी पाँच बजेसम्म बस्छौं।' स्थानीयले मतदाता परिचय पत्रसमेत लिन नआएको उनले बताए।
एउटा सिंगो गाँवैले मतदान बहिस्कार गर्नुको कारण स्थानीय तह पुनर्संरचनामा उनीहरुको विरोध हो।
'स्थानीय तह पुनर्संरचना गर्दा राज्यले विभेद गर्यो, त्यसैले हामीले शान्तिपूर्ण विद्रोह गरेका हौं,' सिंहकाली माविका प्रधानाध्यापक तथा स्थानीय थीरबहादुर कार्कीले टेलिफोनमा सेतोपाटीसँग भने, 'यहाँबाट उम्मेदवार पनि कोही छैनन्, भोट पनि कसैले हाल्न आएका छैनन्।' यहाँ कांग्रेस, एमाले र माओवादीसहित प्रमुख दलहरुले नै मिलेर चुनाव बहिष्कार गरेको उनले बताए।
'सिंगो तिङ्ला र तिङ्गालीहरु आन्दोलनमा छन्, को कांग्रेस, को एमाले र को माओवादी भन्ने नै छैन,' उनले भने।
तिङ्लाको मुख्य विवाद भनेको यसलाई सोलु दूधकुण्ड नगरपालिकामा गाभ्ने कि नेचा सल्यान गाउँपालिकामा गाभ्ने भन्ने हो। अहिले नेचा सल्यान गाउँपालिकामा गाभिएको छ, जबकि स्थानीयवासी सोलु दूधकुण्ड नगरपालिकामा रहन चाहन्छन्। यति मात्र होइन, तिङ्लालाई दुई वडामा नबाँडिएकोमा पनि स्थानीयको विरोध छ।
स्थानीयका अनुसार नेचा सल्यान गाउँपालिकाको केन्द्र बेतघारी भन्ने ठाउँमा छ, जहाँ पुग्न तिङ्लावासीलाई ८ घन्टा लाग्छ। उता, तिङ्लाबाट सोलु दूधकुण्ड नगरपालिका २० मिनेट पैदल दुरीमा पर्छ। यति नजिकको नगरपालिकाबाट छुट्टयाएर लगभग दिनभरि लाग्ने नेचा सल्यान गाउँपालिकामा गाभिएकाले तिङ्लावासी रुष्ट भएका हुन्।
स्थानीय तह पुनर्संरचना छलफलका क्रममा तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामै गाभ्न जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस गरेको थियो। तिङ्लाका जनताको चाहना पनि यही रहेको प्रधानाध्यापक कार्की बताउँछन्। उनका अनुसार सार्वजनिक सुनुवाइका क्रममा स्थानीयले यही धारणा राख्दै आएका थिए।
[caption id="attachment_53732" align="aligncenter" width="720"]
स्थानीय तह पुनर्संरचनाको विरोधमा आन्दोलित तिङ्लावासी।[/caption]
स्थानीयवासी तथा एमाले जिल्ला कमिटी सदस्य सोभित बस्नेतले तिङ्लालाई षड्यन्त्रपूर्वक नेचा सल्यान गाविसमा पारिएको आरोप लगाउँदै यसैको विरोधमा आफूहरु तीन महिनायता आन्दोलन गरिरहेको बताए। 'निर्वाचन बहिष्कार त्यही आन्दोलनको निरन्तरता हो,' उनले भने।
उनका अनुसार तिङ्लावासीको निम्ति सामान किनमेलदेखि प्रशासनिक कामका लागि समेत सोलु दूधकुण्डमा पर्ने सल्लेरी बजार नजिक पर्छ। सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारबाट तिङ्ला दक्षिणतिर पर्छ। सल्लेरीलाई अरु जिल्लासँग जोड्ने ठाउँ नै तिङ्ला हो। यहाँ माथिल्लो सोलु, तल्लो सोलु र सहास ऊर्जा गरी तीनवटा जलविद्युत आयोजना निर्माणाधीन छन्।
'तिङ्ला भनेको सोलु जिल्लाकै सबभन्दा मजबुत गाउँ हो,' बस्नेतले भने, 'यो ठाउँ नगरपालिकामा नपर्नुपर्ने कुनै कारण छैन।'
तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा गाभ्न सिफारिस गर्ने स्थानीय पुरर्संरचना प्राविधिक समितिको अन्तिम बैठकमा कांग्रेसले भाग लिएको थिएन। सोलुखुम्बुका कांग्रेस नेता बलबहादुर केसीले तिङ्लालाई नेचा सल्यानमा गाभ्न चाहेको र उनकै दबाबमा कांग्रेसका प्रतिनिधि नआएको बस्नेतको आरोप छ।
नेपाली कांग्रेस तिङ्ला गाउँ इकाई अध्यक्ष नयनबहादुर कार्की पनि तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामै गाभ्नुपर्ने बताउँछन्।
'हामीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाललाई समेत भेटेर तिङ्लालाई नेचा सल्यानमा नगाभ्न अनुरोध गर्यौं,' उनले, 'हाम्रो सुनुवाइ भएन। आयोगले निर्णय गरिसकेछ। हाम्रो कुरा सुनुवाइ नभएपछि हामी आन्दोलनमा होमिन बाध्य भएका हौं।'
उम्मेदवारी मनोनयनको दिन नेपाली कांग्रेसले टंकबहादुर कार्कीलाई यहाँको वडाअध्यक्ष बनाउने निर्णय गरेको थियो। तर, तिङ्लावासीको विरोधका कारण उम्मेदवारी दर्ता हुन सकेन। तिङ्लाका कांग्रेस नेताहरुले पनि पार्टी निर्णयमा असहमति जनाउँदै एमाले र माओवादीसँगै निर्वाचन बहिष्कारको बाटो समात्यो।
यही क्रममा तिङ्लाको वासी भन्ने ठाउँमा झडप नै भएको बस्नेतले जानकारी दिए। त्यहाँ प्रहरीले ६-७ जनालाई पक्राउ गरेको थियो। तीमध्ये संघर्ष समितिका संयोजक बालकुमार राई प्रहरी हिरासतमै छन्। उनी कांग्रेसका प्रतिनिधि हुन्। त्यस्तै, समितिका सहसंयोजक तथा एमाले प्रतिनिधि रामकुमार राई र माओवादीका ललित कार्की पनि हिरासतमा छन्।
जनसंख्याको हिसाबले पनि तिङ्लालाई दुईवटा वडामा बाँड्नुपर्ने स्थानीयको राय छ। एउटै वडा बनाएकोमा उनीहरु असन्तुष्ट छन्।
'एक त हाम्रो गाविसको नाममा हाम्रो तिङ्लाको नामै रहेन, पहिचानै भएन। सल्यानमा केन्द्र राखेको भए पनि आन्दोलन गर्दैनथ्यौँ,' कार्कीले भने, 'बेतघारी त ओखलढुंगाको सीमाना हो, पुग्नै ८ घण्टा लाग्छ। हिँडेरै यत्रो बाटो काट्नुपर्छ। हामीले यत्रो आन्दोलन गरेपछि अब राज्यले सुन्ला कि!'