जीवन बुझिसाध्ये छैन। जति बुझ्यो उति कठिन। ठूलाठूला विद्वान्हरूले त बुझ्न सकेनन्, म त को नै हुँ र ? तैपनि बुझ्न मन लागिरहन्छ। कहाँ थिएँ ? कहाँ पुग्दैछु ? प्रश्नहरूको ओइरो लाग्छ मनमा। धेरै आत्माहरूजस्तै म पनि भड्किँदै आज यो ठाउँमा छु। यो ठाउँ अर्थात् अस्ट्रेलियामा विगत १ दशकको हाराहारीको यात्रा तय गरिएछ। रोबर्ट फ्रस्ट भन्छन् – “In three words I can sum up everything I’ve learned about life: it goes on”। जीवन चलिरहन्छ, जसरी पनि। यही चलिरहने गतिसँगै म पनि अहिले यस कर्मभूमितिर धकेलिएको हुँ जस्तो लाग्छ। कथा धेरैका उस्तै छन् तर दुरुस्तै होइन। सबैलाई पीर छ, मर्का छ, व्यथा छ। सबैका सुखदुःख छन्। सबैका सपना छन्। सबैलाई जीवन उकास्नु छ।
म त कोही होइन। न त मेरो अस्तित्वले कसैलाई असर गर्ला न कसैले मेरो कुरा सुन्ला। त्यही पनि एउटा अँध्यारो कुनाबाट हेरिरहन सक्दिनँ। सोध्न मन लाग्छ। तपाईंहरूलाई चाहिँ सोध्दिनँ। आफैलाई सोध्छु। ममा पनि केही मात्रामा तपाईंहरुकै जस्तो मन हुनुपर्ने हो आखिर हामी एउटै देशबाट आएका। धेरै कुरा, विचार, वानीव्यहोराहरू मिल्नुपर्ने तर पनि किन यति धेरै फरक ? किन हाम्रा सोचाइ यति विघ्न भिन्न ? किन हाम्रा व्यवहारहरूमा यति सारो अन्तर ? उत्तर म भेट्टाउन सक्दिनँ। तपाईंहरूले सघाउनु होला मेरो उत्तर खोज्न यदि थाहा छ भने।
परदेशमा भैकन पनि यति धेरै नेपाली मनहरू भेट्छु कि कहिलेकाहीँ मलाई परदेशमा छु जस्तो लाग्दैन। साँच्चै, नेपालीहरू आजकल जताततै गएका छन्, यहाँ पनि धेरै नै छन्। तथ्यांक भन्छ – विद्यार्थी, पिआर र सिटिजनशिप लिएका सबैलाई जोड्न हो भने लगभग ६० देखि ८० हजार नेपाली मनहरू यस भूमिमा बसोबास गरिरहेका छन्। खुशी लाग्छ। यति धेरै नेपाली हुनु राम्रो कुरा हो। तर पनि म आज केही बेथितिका कुराहरू मात्र राख्न चाहन्छु।
हो, मैले यहाँका नेपाली मनहरू बीच केही बेथिति पनि देख्छु। थाहा छैन, यो मेरो मात्र हेराइ हो कि अरूले पनि नजर गरेका छन्। यति धेरै नेपालीहरू बीच आफू पनि एउटा आत्मा भएकोमा जति गर्व लाग्छ, त्यो अनुभूति सबैले गरेकै हुनुपर्छ। जहाँजहाँ मेरा चक्षुले हेर्न भ्याए, त्यहाँत्यहाँ असल मान्छेहरू, शिक्षित अनुहारहरू मात्र देख्न पाउँदा लाग्छ मान्छेहरू जीवन खुशीसाथ बाँचिरहेछन्।
यहाँ प्रायः सबैले दुःख भोगेका छन्। विद्यार्थी भएर आएका हुन् या कामकै लागि किन नहोस् दुःख नगरी बाँच्न सकिन्न भन्ने सबैले बुझेकै देख्छु। विकास के हो प्रायःले देखेकै छन्। सबै शिक्षित मानिसहरू नै देख्छु। सिस्टममा देश कसरी चल्छ भन्ने प्रायःले देखेकै छन्। केही अपवादबाहेक सबैलाई सही र गलत छुट्याउन सक्ने क्षमता छ जस्तो लाग्छ। यद्यपि शिक्षित भइकन पनि ज्ञानीहरू भेट्न साह्रै मुश्किल पर्छ। म ज्ञानीको खोजीमा पनि छैन।
जब मेरो सानो सामाजिक सञ्जालको भित्ता हेर्छु, म देख्छु – यहाँ पनि नेपालमा जस्तै अनेकौँ राजनैतिक पार्टी, संघ, संस्था, सञ्जाल, कम्युनिटी, एसोसिएसन आदि इत्यादिका प्रचारप्रसार तथा कार्यक्रमहरू निरन्तर कतै न कतै भइरहेको हुन्छ। धेरैको उद्देश्य समाजसेवा गर्ने देख्दा मन खुशीले फुरुङ्ग पनि हुन्छ। ती कल्याणकारी आत्माहरूलाई मेरो नमन् जस्ले व्यस्तताको वावाजुद समय निकालेर यस्तो सामाजिक कार्यमा समय दिइरहेछन्। मैले सकिनँ, म त्यो सम्मानको लायक छैन।
यति धेरै संघ, संस्था दिनप्रतिदिन खुलिरहेको देख्दा म आत्तिन पुग्छु। प्रत्येक जातजातिका लागि छुट्टै संस्था चाहिने। नेपालको प्रत्येक जिल्लाको लागि यहाँ पनि छुट्टै संस्था चाहिने। अस्ट्रेलियाको प्रत्येक सबर्ब (गाउँ)को लागि छुट्टै संस्था चाहिने। प्रत्येक धर्म, जाति, भाषा, लिङ्ग, पेशा आदि आदिका लागि पनि छुट्टाछुट्टै संस्था खडा हुँदैछन् यहाँ। त्यो पनि हरेक राज्यका आफ्नाआफ्न} संस्था। सोंच्छु, सबैलाई पदकै लोभ त होइन ? अनि निराश हुन्छु। प्रश्न गर्छु। किन त्यति धेरै संस्थाहरू चाहिए हामीलाई ? किन हामी केही प्रमुख बलियो, दरिलो संस्थाभित्र सबैजना अटाउन सकेनौँ ? किन हामीलाई टुक्रिन मात्र मनपर्छ ? किन हामीलाई जोडिन गाह्रो लाग्छ ? उत्तर भेट्न मलाई हम्मेहम्मे पर्छ।
कसैले भन्छ – ‘नेपाली मन जहिले पनि माथि हुन खोज्छ, जस्लाई पनि शिरमा ताज पहिरिन मन लाग्छ।’ पहिलेपहिले गाउँहरूमा जताततै राजा हुन्थे रे। बाइसी, चौबिसी कति हो कति ? कति राजा रजौटा थिए भनेर यकिन तथ्य त थाहा छैन, त्यही पनि सबैलाई राजै हुन पथ्र्यो चाहे ठूलो होस् या सानो, युद्ध गरेर होस् या अरू कुनै उपाय लगाएर। यो विग्रहलाई जोड्न पृथ्वीनारायण शाहलाई जन्मनु पथ्यो। हाम्रोमा मात्र होइन रहेछ। भारत पनि स्वतन्त्र हुनुपूर्व त्यस्तै हालत थियो। खैर, म त्यतातिर जान चाहन्न। यो परदेशको विग्रहलाई एकीकृत गर्ने कोही आत्मा आउलान् भन्नेमा मलाई विश्वास भने छैन।
कसैले मलाई सम्झाउने प्रयत्न गर्छ – ‘जति संस्था भए पनि के भो त ? सबैले समाजसेवा नै गर्नेहुन्। सबैले नेपालीको हीतकै लागि सोंचिरहेछन्। सबैले नेपालका दुःखी, गरीव, पीडितहरूको उत्थानका लागि नै काम गर्नेहुन्।’ होला जस्तो लाग्यो।
एकपटक मेरो एकजना मित्रको घरमा थिएँ। उनलाई एउटा संस्थाले आयोजना गरेको कार्यक्रममा जानका लागि आग्रह गरेँ। कार्यक्रमको उद्देश्य नेपालमा कुनै न कुनै रूपमा पीडितहरूको सहयोग गर्नु नै थियो। मैले भनेँ – ‘मित्र यस्तो सहयोग गर्ने कार्यक्रममा त जसरी पनि जानैपर्छ है। टिकट त्यति धेरै महँगो पनि छैन।’ मेरा ती मित्र सिधा बोल्छन्, सत्य बोल्छन्, सत्य तीतो पनि हुन्छ। त्यसैले उनका धेरै साथीहरूको सञ्जाल छैन। मलाई उनको यही वानी नै बढी मनपर्छ। उनको उत्तर थियो – ‘सर, म फेसबुकमा फोटो हाल्नका लागि सामाजिक काम गर्दिनँ। यिनीहरू कोही पनि आर्थिक रूपमा पारदर्शी छैनन्। त्यसैले म कहिल्यै यस्तो कार्यक्रममा जान्नँ। म सामाजिक सेवा कसरी गर्छु, आउनुस् म देखाउँछु’ भन्दै कोठाबाट एउटा पत्र लिएर आए अनि मलाई देखाए।
पत्र नेपालमा कक्षा १ मा अध्ययन गरिरहेका एउटा बालकले ती मित्रलाई पठाएका थिए। ती बालक जो अनाथ थिए उनको शिक्षा र पालनपोषणका लागि ती मित्रले महिनाको ३० डलर २ वर्षदेखि निरन्तर दिँदै आएका रहेछन्। पत्र पढ्दा म पनि भावुक भएँ। तर उनले यो कुरा कसैलाई पनि भनेका थिएनन्। उनले मलाई भने – ‘मलाई महिनाको ३० डलर यो बच्चाको लागि खर्च गर्न कदापि दुःख लाग्दैन। मेरो अकाउण्टबाट जान्छ। मलाई मतलव छैन। तर जब म त्यो बालकले पठाएको चिठी पढ्छु, उसले कोरेका चित्र हेर्छु। मेरो मनमा स्वर्गीय आनन्द आउँछ। मलाई लाग्छ, मेरो पैसा सही ठाउँमा उपयोग भएको रहेछ। कसैको जीवन साँच्चै सुध्रिदैछ। मेरो लागि यही नै सेवा हो। मलाई यो सेवा फेसबुकमा देखाउनु छैन। मेरो मनका लागि मात्र गर्छु। म ढुक्क छु किनकि मेरो पैसाको सदुपयोग भएको छ भन्ने मैले प्रत्यक्ष रूपमा थाहा पाउँछु। तपाईंको संस्थाको कार्यक्रममा गएर म त्यो महसुस गर्न कदापि पाउँदिन।’
त्यसपछि मलाई पनि सोँच्न बाध्य बनायो। यति धेरै कार्यक्रमहरू सधैँ भइरहन्छन्। सामाजिक सञ्जालमा हरेक हप्mता केही न केही कार्यक्रम भइरहेको देख्छु। सबैले सामाजिक सेवा गर्ने भन्छन्। टिकटहरूका, कार्यक्रमहरूका पोस्टर, पम्पलेट यति धेरै देख्छु तर साँच्चै मैले कहिल्यै कुनै पनि सञ्जाल, संघ, संगठन, एसोसिएसन आदि आदि जे नाम भए पनि उनीहरुको कार्यक्रम सकिएपछि यो कार्यक्रमबाट यति पैसा उठ्यो, यति पैसा हामीले यहाँ हाल्यौँ, यति पैसा पुगेन वा यति अब उठाउन बाँकी छ है भनेर देख्न सकिनँ। साँच्चै आर्थिक पारदर्शिता कुन चरीको नाम हो, कसैले मलाई सम्झाउन चाहन्न। कुनै संस्था भेटिनँ जो आर्थिक पारदर्शिताको कुरा गरोस्।
मैले धेरै मागेको पनि होइन। जो जस्ले कार्यक्रम गर्छन्, जति पहिला प्रचारप्रसारमा खर्च गर्छन्, एकपटक कार्यक्रम सकिनासाथ फेसबुकको भित्तामा सानो अक्षरमा भए पनि यति पैसा उठ्यो है। अब यहाँयहाँ खर्च हुन्छ भनेर भन्ने संस्था मैले कहिल्यै भेटिनँ।
मेरा मित्रलाई नमन्। उनले पहिल्यै बुझेछन्। उनको सामाजिक कार्य कहिल्यै फेसबुकको भित्तामा आउँदैन तर उनको कार्य जति प्रशंसनीय कार्य गर्ने आत्मा कमै होलान् जस्तो लाग्छ। यदि छन् भने पक्कै पनि उनीहरूले त्यो पुनित कार्यको स्वर्गीय आनन्द आफैले महसुस गरेको हुनुपर्छ जून अरूलाई देखाउन आवश्यक छ जस्तो मलाई लाग्दैन।
मेरा अर्का एक मित्र छन् जो एक पार्टीको कार्यकर्ता र सानोतिनो नेता नै हुँ भन्छन्। प्रायः राजनीतिक कार्यक्रमहरूमा भ्याएसम्म सरिक भइरहन्छन्। उनलाई एकपटक भेट्दा सोधेँ – ‘मित्र किन तपाईं राजनीतिमा लाग्नुभएको ? केका लागि गर्नुहुन्छ राजनीति ?’ उनले खुलस्त भने – ‘के गर्नु साथी, अलिअलि समाजसेवा गर्न। अनि पछि मलामी पनि त चाहियो नि।’ मैले सुनिरहेँ, केही बोलिनँ। सोचें, मान्छेलाई मृत्युपछिको पनि चिन्ता हुँदोरहेछ। के त्यसैका लागि मान्छेहरू नयाँनयाँ संघ, संस्था, पार्टी आदिआदि खोल्न तत्पर भएका हुन् त ? म अझै निरुत्तर छु।