काठमाडौं महानगरपालिकाले करोडौं मूल्य बराबरको गाडी कवाडीमा लिलामी गरेको छ। महानगरले वर्षौदेखि थन्किएका ५० थान गाडी लिलामी गरेको हो।
लिलामीको लागि महानगरले २०७३ माघ १९ गरे सार्वजनिक सूचना प्रकाशित गरेको थियो। महानगरले ४२ लाख ९२ हजार १ सय ६९ रुपैयाँ न्युनतम मूल्य तोकेकोमा राज एण्ड रिवाज सप्लायर्सले ४३ लाख ४३ हजारमा सो सवारी साधनहरु खरिद गरेको हो।
महानगरले लिलामी गरेको मध्य धेरै गाडीहरु वर्षौदेखि काम नलाग्ने अवस्थामा खिया लागेर थन्किएका थिए। सार्वजनिक खरिद ऐन अनुसार आफूहरुले २० वर्ष पुरानो गाडी तथा अन्य पुराना काम नलाग्ने सामानहरु लिलामी गरेको काठमाडौं महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
यसबाट अएको पैसा महानगरको मुल खातामा जम्मा भई त्यसवाट विभिन्न कार्य गरिने उनले बताए। महानगरले २ वटा ट्रिपर, एउटा कन्टेनर ट्रक, ४ वटा डम्पर प्लेसर, २ वटा सक्सन ट्रक, एउटा हनोमाग कम्प्याक्टर, एउटा फेत एलिस १० सि डोजर, २ वटा फेत कार, एउटा च्याङ्गन पिक अप, एउटा जिप पाथ फाइन्डर, एउटा मारुती जीवाईपीएसवाई, ३ वटा ब्याक ह्वइ लोडर, एउटा स्किड स्टिर लोडर, र २८ वटा चाइनिज ट्याक्टर लिलामी गरेको हो।
लिलामी भएका गाडीहरु २०३८ सालदेखि २०६० सालसम्म दर्ता भएका हुन्। प्रवक्ता कार्कीले २० वर्ष पुराना र काम नलाग्ने गाडी लिलामी गरेको भने पनि यो लिलामीमा १४ वर्ष अगाडि मात्र दर्ता भएका ४ वटा गाडी पनि समावेस छन्। यसमा ३ वटा ब्याक ह्वइ लोडर, एउटा स्किड र स्टिर लोडर पनि लिलामीमा परेका हुन्।
लिलामीमा बिक्री भएका यी गाडीहरु नामसारी गर्न पाइँदैन। कार्कीले भने ‘यी गाडीहरु कसैको नाममा नामसारी गर्न पाइँदैन, यी गाडी कवाडीमै जाने हो।’
तस्वीर: नारायण महर्जन/सेतोपाटी