न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ।
कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीशप्रसाद शर्मालाई प्रधानन्यायाधीशका लागि परिषद्ले सिफारिस गरेको हो।
'नेपालको प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्नका लागि नेपालको संविधानको धारा १२९ को उपधारा (३) बमोजिम् योग्यता पुगेका सर्वोच्च अदालतका माननीय न्यायाधीशहरुको संवैधानिक परिषदमा नामावली पठाउने भनी गरेको निर्णय अनुरुप वरिष्ठताका क्रममा न्यायाधीशहरुको नामावली संवैधानिक परिषदको सचिवालयमा पठाइएको छ,' परिषद्की प्रवक्ता निर्मला पौडेलले बताइन्।
निवर्तमान प्रधानन्यायाधीश कार्कीले आफ्नो कार्यकालको अन्तिममा बैठक बोलाउँदा समेत परिषद्का कोहि सदस्य नआएपछी एक्लैले यीनै ६ न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइदिएकी थिइन्। उनले गरेको नाम सिफारिसमा न्यायाधीश पराजुलीको पुरानो जन्ममिति नै कायम थियो। जसअनुसार उनी साउन २१ गते अवकाश पाउने थिए।
परिषद्ले सोमबार भने नयाँ जन्ममिति २०१० बैशाख १६ गते कायम गरेर संवैधानिक परिषद्मा पठाएको छ।
'सर्वोच्च अदालतको आदेश समेतका आधारमा तत्कालीन माननीय न्यायाधीश श्री गोपाल पराजुलीको जन्ममिति २०१० बैशाख १६ कायम गरी सो को जानकारी संवैधानिक परिषदमा पठाई दिने,' परिषद्को निर्णयमा उल्लेख छ।
यो उमेर कायम भएपछी पराजुलीको कार्यकाल अझै ११ महिना बढेको छ। उनले अब बैशाख १६ गते अवकास पाउने छन्।
पूर्व प्रधानन्यायाधीश कार्कीले नागरिकता र त्यसको प्रतिलिपिमा दुईवटा उमेर भेटेपछि गत पुस १ गते पराजुलीको पुरानै उमेर कायम गरिदिएकी थिइन्। पुरानै उमेर अनुसार उनको जन्ममिति २००९ साउन २१ गते हो।
तर पराजुलीको अध्यक्षतामा सोमबार बसेको परिषद् बैठकले भने उनको नयाँ उमेर कायम भएको गरेको हो।
उच्च अदालतका न्यायाधीश सुरेन्द्रवीर बस्नेतको यस्तै उमेर विवादमा सर्वोच्चले कार्कीको निर्णय उल्ट्याएको थियो। त्यही फैसलाका आधारमा पराजुलीको पनि नयाँ उमेर कायम गरेर परिषद्ले संवैधानिक परिषद्मा पठाएको जनाएको छ।