दुई विकास बैंकलाई आफूमा गाभेको सेञ्चुरी कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु भएको छ।
बैंकले ८ अर्ब पुँजी पुर्याउने क्रममा इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार सुरु गरेको हो।
एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले पानसमा बत्ति बालेर उदघाटन गरे। सो अवसरमा गभर्नर नेपालले आफू गभर्नर हुँदा आर्थिक वृद्धिदर ७ प्रतिशत नजिक पुगेको बताए। उनले भने ‘एमाले र माओवादीका अर्थमन्त्रीले आर्थिक वृद्धिदरको जस लिन खोजे पनि म त गभर्नर नै छु।’
एकीकृत कारोबार पश्चात् बैंकको चुक्ता पुँजी ४ अर्ब ७१ करोड पुगेको छ। निक्षेप ३८ अर्ब ५० करोड, कर्जा ३५ अर्ब तथा ५३ वटा शाखाहरु भएका छन्। अब बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ। सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्सलाई गाभेको बैंकले समयमै ८ अर्ब पुर्याउने जनाएको छ।