उच्च शिक्षा अध्ययनका लागि तपाईं वा तपाईंका छोराछोरीलाई पैसा चाहियो ? अब तपाईले बैंकबाटै शैक्षिक कर्जा लिएर आफ्नो वा छोराछोरीको अध्ययनलाई अगाडि बढाउन सक्नुहुन्छ। एनएमबि बैंकले उच्च शिक्षा अध्ययनका लागि १ करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दै आएको छ।
बैंककी रिलेसनसिप म्यानेजर इशा पालिखेका अनुसार यस्तो शैक्षिक कर्जा लिनका लागि कलेज वा विश्वविद्यालयको ‘अफर लेटर’, धितो वा धितोको प्रमाणित सक्कली कागजात र कर्जा प्रस्ताव गर्ने वा अभिभावकको आम्दानी खुल्ने कागजात बुझाउनुपर्दछ।
सबै कागजात बुझाएर प्रक्रिया पुरा भएमा ५ दिनमै यस्तो कर्जा प्रदान गरिने उनले जानकारी दिइन्।
यस्तो कर्जाको व्याजदर बैंकले हालका लागि १३ प्रतिशत मात्रै तोकेको छ। कर्जा लिइसकेपछि ब्याज र साँवाको तोकिएको हिस्सा थपेर महिना महिनामा भुक्तानी गर्दै जान सकिन्छ।
‘इएमआई प्रणालीमार्फत किस्तावन्दीमा महिनैपिच्छे रकम भुक्तानी गर्दै जानुपर्दछ’ पालिखेले भनिन् ‘भुक्तानी हुने रकम भने कति अवधिका लागि लिइएको हो त्यसमा भर पर्दछ।’
८ वर्षसम्म कर्जाको सम्पूर्ण रकम चुक्ता भइसक्नु पर्दछ। यदी आम्दानी धेरै छ र किस्तामा धेरै रकम भुक्तानी गर्दै गएमा त्योभन्दा छोटो आफूले चाहेसम्मको अवधिका लागि ऋण लिन सकिने उनले जानकारी दिइन्।
उच्च शिक्षा अध्ययनका लागि एकैपटक रकम चाहिने तर रकम नभएर समस्या पर्नेहरुका लागि लक्षित गर्दै यस्तो कर्जा प्रदान गरिएको बैंकले जनाएको छ।