तीन नम्बर प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिको अभिमुखिकरण आज सकिँदैछ। धुलिखेलमा बिहीबारदेखि सुरु भएको तीन दिने कार्यक्रम आज सकिने आयोजक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले जानकारी दिए।
आजै स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरूले 'धुलिखेल घोषणापत्र' समेत जारी गर्ने तयारी गरिरहेका छन्। स्थानीय तहका संवैधानिक अधिकार रक्षा र प्रभावकारी प्रयोगका लागि तथा सहकार्य र समन्वयलाई प्रभावकारी बनाउन घोषणापत्र जारी गर्दै आज सकिन लागेको हो।
मन्त्रालयले आयोजना गरेको तीन दिने अभिमुखिकरणमा तीन नम्बर प्रदेशका स्थानीय तहका २३० भन्दा बढी जनप्रतिनिधि सहभागी छन्। तीन नम्बर प्रदेशमा रहेका ११८ स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष, र उपाध्यक्ष सहभागी छन्।
संघीय मामिला तथा स्थानीय विकास लगायत विभिन्न मन्त्रालयका अधिकार र विभिन्न विषयका विज्ञले छलफललाई सहजीकरण गरेका छन्। यसपछि ४ नम्बर प्रदेशका जनप्रतिनिधिका लागि पोखरा र ६ नम्बरका प्रतिनिधिका लागि सुर्खेतमा अभिमुखिकारण गर्ने तयारी मन्त्रालयले गरेको छ।