निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको कार्यतालिका निकाल्नुपूर्व दलहरूसँग छलफल नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रश्न उठाएको छ।
बुधबार बसेको पार्टी सचिवालय बैठकमा यसबारे छलफल भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
‘चुनावको कार्यतालिका निकाल्नपूर्व निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल, परामर्श गर्नुपर्थ्यो भन्ने सचिवालय बैठकमा कुरा उठेको छ, यसबारे हामी छलफल गर्दैछौं,’ उनले सेतोपाटीसँग भने।
रास्वपा सचिवालय बैठक शुक्रबार पनि बस्दैछ। त्यो बैठकमा यसबारे ठोस धारणा आउने पनि उनले बताए।
सरकारले दलहरूसँग संवाद, छलफल गरेर निर्वाचन कार्यतालिका अघि बढाउँदा चुनावको माहौल बन्ने पनि उनले बताए।
बुधबारको बैठकमा भदौ २३ र २४ को राजनीतिक उथलपुथल र त्यसपछि उत्पन्न परिस्थित, समाजमा विद्यमान अन्यौल चिर्न सद्भाव यात्राको पनि तयारी गर्दैछ। त्यसबारे शुक्रबार निर्णय गरिने उनले बताए।
हिजोकै बैठकमा कात्तिक १४ र १५ गते गर्ने विस्तारित बैठकको कार्यसूची पनि यस बैठकले तय गर्ने उनले बताए।