व्यवसायिक सम्झौता भएको सात महिना वितिसक्दा पनि नेपाल टेलिकमले चीनबाट ल्याउने भनेको इन्टरनेट अझै आउन सकेको छैन। सम्झौताको तीन महिनाभित्रै व्यवसायिकरुपमा इन्टरनेट ल्याउने भनिएकोमा सात महिना बित्दा पनि इन्टरनेट कहिले आउँछ भन्ने कुरा अनिश्चित बनेको छ।
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्बन्धमा मंसिर २१ गते व्यावसायिक सम्झौता भएको थियो। त्यसबेला हिउँ पग्लिने भएकाले मार्चपछि मात्रै चिनियाँ इन्टरनेट आउने बताइएको थियो।
चीनतर्फको भागमा रहेको अप्टिकल फाइबर रिस्टोर गर्नुपर्ने बेला बाक्लो हिउँ जमेपछि अप्टिकल मार्गको २० किलोमिटर बाटो परिवर्तन गरियो। मार्ग परिवर्तनको क्रममा एक जना कामदारको मृत्यु भएपछि अवरुद्ध बनेको काम सुचारु हुन नसकेको हो। मे महिनासम्म उक्त काम सम्पन्न हुने चिनियाँ पक्षले आश्वासन गराएपनि कामदारको मृत्युपछि अनिश्चित बनेको टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
चीनतर्फको भागमा अप्टिकल ‘ब्रेक’ भएकोले सोही रुटबाट ब्यान्डवीथ पठाउँदा अवरोध हुने र व्यावसायिक रुपले आदान प्रदान गर्न अप्ठेरो पर्ने भएकोले रिस्टोर गरेर मात्र पठाउने भन्दै चाइना टेलिकमले नेपाल टेलिकमलाई जानकारी गराएको अधिकारीले बताए। चिनियाँ पक्षले उक्त मार्ग निर्माणको काम सकिनेवित्तिकै व्यवसायिक रुपमा इन्टरनेट नेपालमा आउने जानकारी गराएपनि कहिलेसम्म उक्त काम सम्पन्न हुन्छ भनेर एकीन हुन सकेको छैन।
टेलिकमले धादिङको गल्छीदेखि रसुवासम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ। ‘नेपाल तर्फको सबै पूर्वाधार तयार छ’ अधिकारीले सेतोपाटीसँग भने, ‘तर चिनियाँ भूभागमा मर्मत गर्नुपर्ने भएपछि केही समय लिएको हो।’ रसुवाको जिलोङ गेटवे हुँदै चिनियाँ इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिने छ। यसरी चीन र नेपाल आइपी नेटवर्कमा जोडिएपछि अहिलेसम्म इन्टरनेटमा रहेको भारतीय एकाधिकार औपचारिक रुपमै समाप्त हुने छ।
पहिलो चरणमा टेलिकमले चीनबाट तीन जिबि भोल्यूमको इन्टरनेट ल्याउने भएको छ। यसरी आएको इन्टरनेट नेपाल टेलिकमको नेटवर्क हुँदै केन्द्रिय प्रणालीमा जोडिने छ र सबै उपभोक्तामाझ पुग्ने छ। हाल नेपाल टेलिकमले भारतका विभिन्न सेवाप्रदायकहरुबाट २२ जिबिभन्दा बढीको भोल्यूममा इन्टरनेट ल्याएको छ। चीनबाट आउने इन्टरनेटको मूल्य भने त्यति सस्तो नभएको स्रोतले जानकारी दियो।
तत्कालको फाइदा भन्दा पनि चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने बताइएको छ। टेलिकमले भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकमार्फत ब्यान्डविथ खरिद गरिरहेको छ। यसको गेटवे भने सबमेरिन केवलमार्फत छ, जसमा सिमितता हुने प्राविधिकहरुको भनाइ छ।
हाल टेलिकमले भारतका बिएसएनएल, भारत पन्जाव, टाटा, एयरटेल र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ। चीनबाट ल्याइएको ब्यान्डविथ खरिद गर्दा के कति मूल्य हुने भन्नेबारे भने दुवैपक्षले गोप्य राखेका छन्। मूल्य सार्वजनिक गर्ने प्रचलन नभएकोले आफूले त्यसबारेमा भन्न नमिल्ने साहयक प्रवक्ता अधिकारीले बताए।
दीर्घकालीन फाइदा हुनेब्यान्डविथको मूल्य प्रविधिको गुणस्तरमा भर पर्ने भएकोले एकीकृत मूल्य नहुने भएपनि प्रतिस्पर्धी हुने टेलिकमका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए। अहिले भारतबाट ल्याइरहेको भन्दा महँगो मूल्य नपर्ने उनको भनाइ छ। ‘मूल्यमा प्रतिस्पर्धा हाम्रो अन्तिम लक्ष्य हो’ उनले भने, ‘तर त्यसमा प्रविधिले पनि भूमिका खेल्ने भएकोले ठिक यति नै हुन्छ भन्ने छैन।’
हालको लागि उपभोक्ताले महसुस गर्नेगरी मूल्य कमी नभएपनि भविष्यमा चीनका अन्य सेवाप्रदायकबाट पनि ब्यान्डवीथ ल्याएपछि मूल्य घट्ने र त्यसबाट उपभोक्ताले पनि लाभ लिने बताइएको छ।
चीनसँग कनेक्टीभिटीमा जोडिने कुरा नै अहिलेका लागि ठूलो भएकोले तत्काल यसबाट व्यावसायिक लाभभन्दा पनि भविष्यमा यसबाट लिनसकिने लाभ प्रमुख भएको टेलिकमका उच्च अधिकारीहरुको भनाइ छ।