आज फेरि गरिबको बस्तीमा
अर्को बाढी आएको छ
एकाएक उपत्यका लगायत
सबै तिर दुःखद खबरले
मन उदासताले लोलाएको छ।
हैन, अब यो जीवनले
कति बाढी खप्छ
र कहिलेसम्म?
कहिले आउँछ भूकम्पको बाढी
गर्ल्याम्म ढल्छन् घर अनि
कालको मुखमा बसेर फेर्नु पर्छ सास।
हामीले कति बाढीको
सामना गरिरहने?
कहिले आउँछ बेरोजगारीको बाढी
र एक हुल जमातको देशमा
बस्ने सपना बगाउँदा
एक्लिन्छन्
जन्मभूमिका बाटा घाटा र पाखो पखेरा
अनि
बिछट्टै माया गर्ने केही थान मनहरू।
कहिले आउँछन्
जनयुद्धका बाढी र बगाउँछन्
आफ्नै करेसोमा बसेका
भाइचाराका सम्बन्ध।
कहिले आउँछ
दुर्घटना, पहिरो साथै
महामारी र अनेक विपत्तिका
बाढी र भत्काउँछन्
परिश्रमको टहरो अनि
बेस्मारी पुरिन्छ ईश्वर प्रतिको विश्वास
त्यही ढलेका घर, पर्खाल र कान्ला भित्र।
कहिलेकाहीँ त आउँछन्
चम्किला हर भित्र दिन दहाडै
असुरक्षा र द्विविधाका
अनगिन्ती बाढी
जब हावा हुरी जसरी गरिबको ठेला
पोलेको मकै अनि सानातिना सडक
व्यापार गर्दा नै जघन्य अपराधको
आरोपमा लाठीका बर्सात
अनि मन भित्र जान्थ्यो अनौठो बाढी
ती विवश पेटहरूको
र आफैँलाई गर्थे प्रश्न
होइन खोलाको साँच्चै बाढी आयो भने
त्यो मेरो सडक व्यापारका सामान
जसरी जोडले तुरुन्त हटाउन सक्छन् कि
सक्दैनन् होला?
प्रकृतिले पीडा पोख्ने यत्रो ठुलो सहरमा
एउटा सानो पेटीमा मैले किन ठाउँ लिन
पाइनँ होला केही बेरलाई?
अहिले त सडक पेटी होइन
पूरा बस्ती डुबानमा छ
अब खै कता छेकियो
कता फोहोर भयो
कता गयो
प्रशासन अनि कता
हराए एक हुल
लाठी बर्साउने र थर्काउने मानिस?
व्यस्त सहर
मानिसका भिड हुने ठाउँ
यसो साइड लगाएर
साधन राख्न नहुने
केही थान साग, पानी, मास्क अनि
मकैसम्म बेच्न नहुने ठाउँमा
आज सिंगो बाढी पसेछ
सुन्दर सहरको त कुना कुना
सफा हुन आँटेछ
प्रकृतिको पनि आँखा हुने रहेछ
र त कुचो आफैँ लिएर आइन्
बाढी बनेर
सबै अटेर गर्ने भुइँमान्छे अनि ठुलो मानिसले
सबै थोक गर्न पाउने सुन्दर सहरमा।
कतै
फेरि आफैँ मिली बस्छौँ
कि म आउनु पर्छ भनी
प्रकृतिले सोधेको त होइन?
कति सज्जनका
पसिना र आँसुलाई
सुटुक्क लगेका उपत्यकाका
हनुमन्ते, गोदावरीदेखि
मनोहरा र बागमतीसम्मले
फोहोरको डङ्गुर अनि
दुष्ट, कठोर र अमानवीय जमात
समेतका फोहोरी क्रीडालाई
विरोध गरी नयाँ पाठ
पढाएको त हैन?
पक्कै बाढीको विपत्तिमा
मानवको हरकतलाई
पुनर्विचार गर्नु पर्ने बेला आएको छ।