एक मुठी अधकल्चो सपना
एक मुठी जीवनको संवेदना
एउटा झोलामा खाँदखुँद पारेर
मान्छेहरू हतारो गरिरहेछन्
चौतारीमा जिन्दगी बिसाउन
धैर्यता सबै गुमेपछि
हराएको बाटो खोज्दै
मान्छेहरूको कोलाहल
सडकमा पछारिएको छ हिजो आज।
नदुखेको ठाउँ छैन
नदुखेको गाउँ छैन
शोक ग्रस्त अनुहारहरू
मौन धारण गरी बस्छन्
शोक सन्तप्त परिवारजनप्रति
समवेदना प्रकट गर्दै
परिस्थिति संवेदनायुक्त छ
समय मौन हुँदा
आँखी झ्यालमै कैद छ समय।
गुडुल्की परेका जिउँदा लासहरू
काल पर्खिरहेछन्
रित्तो पेट ठटाएर
भोकाग्नी दन्कँदो छ
निभाउने साधन भेटिएको छैन
सुकेनासले ख्याउटिएका छन् बालकहरू
अनिकाल वर्ष मनाइरहेछ समय।
धरतीमा टेक्ने ठाउँ छैन
एक चोक्टो जमिनको आसमा
आकाश ताकेर
चाउरी अनुहारहरू
वर्षौँदेखि लडिरहेछन् हुटिट्याउँ जस्तो
जीवनको हिसाबकिताब खोज्ने कसरी?
जीवन्त हराइरहेछ
हराएको जीवन
कसले खोजी गर्ने?
बेघरबार छन् मान्छेहरू
आवास वर्ष मनाइरहेछ समय।
ट्रकमा जबरजस्ती कोचेर
सिमाना कटाइँदै छ
निर्मम यातनासहित
देशभक्त आवाजहरूलाई
बलात्कारका कथाहरू आलै छन्
सुत्केरी व्यथा पनि उस्तै छ
नाबालकको घाँटी रेटिएपछि
समय रोइ बस्छ
सैतान अहंकारले गर्जँदै
मानवता कुल्चिएर
नाङ्गो छातीमा बुट बजार्छ
आमा-बाहरू भावविह्वल छन्
लालावालाको पीडा खप्न नसकी
देश हराइरहेको छ
नियति नियालिरहेछन् आँखाहरू
अवरुद्ध छन् गन्तव्य
शरणार्थी फिर्ता भट्याइरहेछ समय।