म त गाउँले। मलाई त माया के हो, कसरी गरिन्छ अनि कहिले गर्ने सम्म पनि थाहा थिएन। म सानैदेखि आफ्नै दिदी-बहिनीहरूसँग त धेरै नबोल्ने म, अरू नचिनेका साथीहरूसँग कसरी पो बोल्नु! झन् त्यो नि केटी साथी।
माया के हो? म जस्तो समझदारलाई कसले सिकाउने?
म सानो छँदा मेरा हजुरबुबाले भन्नुहुन्थ्यो रे, यो मेरो कान्छो नातिको लागि त म राजपुत्री नै खोज्छु र मलाई भन्नु हुन्थ्यो, ‘नाति, तिमी जसमा आफ्नो आमाको अवतार देख्छौ र तिमीलाई आमा जस्तै माया गर्छिन्, उसलाई आफ्नो सपनाको राजकुमारी ठान्नू।’
मेरा हजुरबुबाले भने जस्तै सत्कर्मलाई पछ्याउँदै गर्दा मैले एउटा साधारण, शालीन, इमानदार तिमीलाई भेटेँ। हामी चार दाजुभाइ मध्ये म कान्छो। सायद कान्छो भएर हो कि तिमीलाई नभेटेर हो! म त कता-कता रुमलिएको सिमलको भुवा जस्तो थिएँ। तिमीलाई भेटेपछि त म वसन्त ऋतुमा पलाउँदै गरेको एउटा हरियो बोट जस्तै हुँदै गएँ। म कहिल्यै गीत नगाउने, तिमीसँगको सम्बन्धले नयाँ-नयाँ गीतका भाकाहरू गाउन थालेँ।
तिमीसँग म महिनौँ दिन बोलेँ भनेर त कसरी भनूँ, म त केवल तिमीसँग आठ/दश दिन बोलेँ। तर मलाई त्यो आठ/दस दिन पनि कुनै महिनौँ भन्दा कम लाग्दैन। सायद तिमी मेरो लागि पहिलो दुर्घटना गराउने प्रेमिका भएर होला।
तिमी त्यो सिमलको भुवा जस्तै उडेर टाढा गयौ। तिमी त उडेर गएकी, जहाँ रहे पनि म तिमीलाई बिहानको चिसो शीत बनेर म हुनुको स्पर्श गराउने छु। चर्को घाम बनेर प्रत्येक किरणले तिमीलाई छुन पो सक्छु कि? वर्षा यामको तप-तप पानीको थोपा बनेर तिम्रो शरीर नै सिरिङ्ग पार्न पो सक्छु कि?
म धेरै बोल्ने अनि तिमी धेरै सुन्ने, म त्यो तिरमिरे अँध्यारोमा तिमीलाई भिडियो कल गर्दै थिएँ, तिमी खासै बोल्न नमान्ने अनि म बोलिरहने। त्यो रात सम्झिँदा आज पनि तिम्रो याद आइरहन्छ। म बोल्दै बोल्दै आफ्नो एकोहोरो सुरमा रातिको १२ बजेको पत्तै पाइन छु। त्यसै बखत तिमी अत्तालिएर मलाई ‘बाई बाई गुड नाइट! १२ बजिसक्यो’ भन्दा मलाई त्यो तिम्रो मिठो आवाज कति प्यारो लागेको थियो। त्यो तिमीले मलाई म्यासेज गरेको ‘खाना खानु भयो? सन्चै हुनुहुन्छ?’ शब्दले मलाई तिम्रो यादले अँगालो मारे जस्तो महसुस हुन्छ।
साँच्चै, पहिलो प्रेम भुल्न अति नै गाह्रो हुँदो रहेछ। त्यही भएर पहिलो दुर्घटनाले चिन्ने गर्छु म। त्यो तिमीसँगको प्रेम जिन्दगीमा सुखदुख हुँदो रहेछ। हामीहरूको सम्बन्ध स्कुल पढ्दादेखि भएको हो त म भन्दिनँ तर मलाई त्यो तिम्रो मिठो बोली र मुस्कान सम्झिँदा स्कुल पढ्दादेखि चिने झैँ लाग्छ।
तिमी यो मेरो मनमा यसरी बस्यौ कि न मेटाउन सकिने, न पखाल्न सकिने। तिमीलाई भुल्न खोज्छु तर अहँ सक्दिनँ! कत्ति पनि! समय कहाँसम्म पुग्यो थाहा छैन। समय आफ्नै रफ्तारमा बगिरहेको छ तर म भने अझै पनि मनभित्र तिम्रो मायाको तस्बिर खडा गरी पूजापाठ गरिरहेको रहेछु।
तिमी जीवनमा यसरी आयौ कि आकाशको पानी बनेर जाँदा जाँदै बेसरी भिजायौ। म निचोरिएर सुक्न पनि सकिनँ, सधैँ भिजिरहेँ तिम्रो यादहरूमा। हो, तिमीलाई पलपल हर क्षण सम्झिरहेको छु। यसरी मैले तिमीलाई सम्झिनु कुनै अर्थ पनि छैन तर पनि यो मनले तिमीलाई सार्थक ठानिरहेको छ।
कहिले रुनु अनि हाँस्नु पर्दो रहेछ जिन्दगीमा। जुन चिज आफूसँग हुँदैन, त्यो चिजको महत्त्व किन लाग्छ? त्यो थाहा छैन, आफूले नपाएपछि त बिर्सिदिए हुन्थ्यो होला नि? तर किन त्यस्तो गर्न सक्दिनँ म? मनमा खै कुन चिज छ। कुनै त्यस्तो चिज हुनुपर्छ। खै निष्ठुरी मान्छे। तिमीलाई के लाग्छ थाहा छैन तर मलाई त यही लाग्छ।
यो जिन्दगीको यात्रामा धेरै मान्छेसँग भेटघाट परिचय सम्बन्ध हुन्छ। कोही त एक पटक भेटेपछि भेट हुन नै मुस्किल हुन्छ। उदाहरण तिमी नै हौ। भेटिएका मान्छे कहिले नछुटिने भएको भए त्यो सम्बन्ध कस्तो हुन्थ्यो होला?
बिना अर्थ तिमीलाई यो दिलको भित्तामा ‘भित्ते पात्रो’ जसरी टुङ्गाएर सजाएको छु। म महिना, बार, वर्ष सबै फेरेँ त भन्दिनँ। भनूँ पनि कसरी? म त तिमीसँग आठ/दश दिन पो बोलेको। तर यसो लाग्छ कि सबै फेरेँ तर तिमीलाई फेर्न सकेको छैन।
तिमीले एउटा गृहकार्य दिएर गएछौ मलाई, सधैँ तिमीलाई सम्झिरहनु पर्ने गृहकार्य। तिमीलाई मात्र सम्झिने हो कि मैले, तिमी पनि मलाई म जस्तै गरी सम्झन्छौ? यो प्रश्न मनमा खेल्ने गर्छ। त्यति मात्र कहाँ हो र, तिम्रो नाम सर्च गरेर तिमीले पोस्ट गरेको फोटाहरू हेर्ने मन लाग्छ। तिमी हाँसेको फोटो देख्दा रमाइको लाग्छ। तिम्रो स्ट्याटस हेर्छु, पढ्छु। तिमी दुखी छौ या सुखी छौ तिनै तिम्रा स्ट्याटसले सबै भन्छ। तिम्रो त्यो फोटो देख्दा भित्रैबाट भतभत पोले जस्तो हुन्छ मनमा अनि फेसबुक नै ‘लग आउट’ गरिदिन्छु।
म चाहन्थेँ कि हामीबिच यति मिठो सम्बन्ध होस् कि जुन कसैले पनि कुनै किताब या चलचित्रमा मात्र सुनेको, देखेको होस्। तर बिस्तारै बिस्तारै अगाडि बढ्दै गर्दा भेटिएकाहरू छुट्टिन्छन् र छुट्टिएकाहरू याद दिएर जान्छन्। ती यादहरूको पोको पुन्तुरो सुमसुम्याउँदै अगाडि बढिरहेको छु।