सूर्यको पहिलो किरण जसले रातभरि निदाएको अन्धकारलाई चिर्दै झ्यालबाट पस्यो, गौतमका थाकेका आँखामा सिधै ठोक्कियो। उसले आँखा मिच्यो, निधार खुम्च्यायो र ओछ्यानबाट बिस्तारै उठेर झ्याल बाहिर हेऱ्यो— सहर बिउँझँदै थियो।
काठमाडौँको जुन जुन टोल, जहाँ ऊ भाडाको कोठामा बस्थ्यो, बिहानैदेखि कागहरूको आवाज र सवारी साधनको घर्काघर्क आवाजले आफ्नो पहिचान बताइरहेको थियो।
झ्यालको पाटनमा रातभरि थन्किएको छाया अझै फुकिँदै थिएन तर टोलको हल्लाले त्यसलाई पनि पखाल्दै लग्थ्यो। उसले हातले प्वाल परेको झ्यालको पर्दा समायो र बिहानको जाँतोझैँ चलिरहेको सडकतिर नजर घुमायो।
किचनबाट आमाको स्वर आयो— ‘गौतम! कति सुत्ने? घाम त टाउकोमाथि आइपुग्यो नि! उठ् है!’
गौतमले ओठमा हल्का मुस्कान खेलायो, ‘आइसकेँ आमा, आइसकेँ!’
ओछ्यानको सिलोटेपन छाड्दै, गोदामजस्तो सानो कोठामा टेकिँदा उसका नाङ्गा खुट्टामा चिसो सिमेन्टको स्पर्श पर्यो। उसले एकछिन उभिएर निधारमा हात लगायो, झ्यालको छेउको पुरानो क्यालेन्डर हेऱ्यो, दिन मितिहरूको हुलमुलमा हराएको आफ्नै समय झलझलाएर सम्झियो।
खाटमुनिको कुना कुनामा जमेका थुप्रै सपना उसले पुछ्न खोजेजस्तो गरी खुट्टाले हल्लायो अनि बिस्तारै पखेटा खोल्दै मानौँ बिहानसँगै आफैँलाई पनि पुनः सँगाल्दै थियो।
हातमुख धोएर ऐनामा आफूलाई नियाल्दा ऊ आफ्नै आँखामा रातभरि अल्झिएका असमाप्त चिन्ताहरू देख्थ्यो। कपालमा औँला चलाउँदै उसले आँखा कोक्रो मिच्यो र परपर टोलिइरहेको बत्तीको ह्यांगर जस्तो उज्यालो मनभित्र तान्न खोज्यो।
किचनमा पुग्दा आमाले कपमा खौलिँदो दूध चिया राखिदिइन्। आमाका हातको त्यो न्यानोपनमा गौतमले थकानभन्दा परको भरोसा भेट्टायो। आमाले उसलाई छोपेको त्यो न्यानोमा कुनै पुरानो कथा सुनिएजस्तो लाग्थ्यो, जुन कहिल्यै नसकिने बिसाउने गीत झैँ घन्किरहेको थियो।
चियाको कप समाउँदै उसले दुई घुट्कोमा चिया सकायो, कपको तलमा बसेका रित्तो बास्नामा उसले आफ्नै बिहान भेट्यो।
आमालाई ‘म एकछिनमा फकिन्छु है’ मात्र भनेर उसले बिग्रेको स्कुटर थाम्यो। चिसो हावा र टोलको गन्धसँगै ऊ सडक चिर्दै, भत्किएका पर्खालहरू, भिजेका गल्लीहरू र कहिलेकाहीँ सपनाको नाममा लेखिएका पोस्ताहरू पन्छाउँदै कतै लाग्यो।
सहर बिउँझँदै थियो तर गौतमका आँखामा अझै केही रात बाँकी थियो, जुन बिहानै हराएर उसलाई फेरि सहरभित्र हराउन हतारिँदै थियो।
आधा घण्टापछि ऊ ‘दीप्तिमान’ नामक पत्रिका कार्यालयको अगाडि रोकियो। स्कुटरको ब्रेकले थकित सडकलाई चिरेजस्तै गर्दै ऊ छेउमा उभियो। झ्यालमा झुन्डिएका पुराना पोस्टरहरू, हुलमुलमा हराएका विज्ञापनका टुक्राहरू र भित्तामा टाँसिएका घोषणापत्रहरूले पत्रिका कार्यालयको थकान र भरोसा दुवै बोलेका थिए।
ऊ स्कुटरबाट झर्यो अनि कहिल्यै नफुक्लिने उसकै काँधमा बाँधिएको झोला बिस्तारै खोल्यो। त्यस झोलाबाट उसले दुई वटा पुराना कपी निकाल्यो— जिन्किएको मुखपृष्ठ, मुडिएका कुनाहरू र पाना पानामा पसिनाले आङ छोएका कथा।
सिँढी उक्लिँदै गर्दा गौतमको खुट्टा पिच्क पिच्क आवाज गरिरह्यो। मानौँ उसका पाइला युगौँदेखि यस्तै शब्दका गल्ली चिर्दै हिँडिरहेझैँ। कार्यालयको भित्तामा झुन्डिएका पुराना आवरणहरू, चिया कपका पहेँलिएका दागहरू र कागजका थुप्रा सबैले उसलाई चुपचाप स्वागत गरे।
सम्पादक भोजराज पाण्डेको कोठामा छिर्दा उसले ढोकाको कपाटलाई बिस्तारै धकेल्यो, मानौँ कुनै कठोर खबर बिस्तारै बाहिर झिक्न लागेको होस्।
‘हिजो नै दिन्थेँ सर तर ढिला भएर लेख सकिनँ,’ गौतमको स्वरमा आफ्नो पेसागत इमानदारी प्रस्ट सुनिन्थ्यो। त्यो स्वर शब्दको सिमाना नाघेर कोठाका पर्खालमा ठोक्कियो, चिया कपको बाफसँगै बिलायो।
भोजराजले आफ्नो गिलास समाउँदै चिया सुर्कँदै मुस्कान छर्कायो, ओठको कुनामा विश्वासको धर्का झल्किँदै थियो— ‘ठिकै छ, गौतम! महत्त्वपूर्ण कुरा त पुऱ्यायौ। अब सहरलाई थाहा हुने भयो यो अँध्यारो रहस्य।’
सम्पादकका ती शब्दमा आश्वासन मात्र थिएन, एउटा कडा सचेतना पनि थियो— सहरलाई नांगो पार्न लेखिएको एउटा नाङ्गो सत्य।
गौतम क्राइम रिपोर्टर थियो— सपनाभन्दा कठोर, डरभन्दा ठुलो पेसा। एक हप्तादेखि सहरभरि हराएको मान्छे, भिजेको छाया, भेटिएको लावारिस लास र गन्ध आउँदै नगएको रगतबिच ऊ रातदिन डुलिरहेको थियो। उसका पाइला रातको चिहान घरमा हराउँथे अनि बिहान शब्द बनेर सहरभरि छरिन्थे।
उसले पत्ता लगाएको थियो— मान्छे अपहरण गरेर शरीरका महत्त्वपूर्ण अङ्ग काटी बेच्ने एउटा गिरोह सहरमा घुसेको कुरा। ती प्रमाणहरू उसका नोटबुकका पानामा थिए— रित्तो रातजस्तै कालो अक्षरमा, आँसु र पसिनासँग मिसिएका चिरिएका कथाहरूमा।
गौतमले त्यस गिरोहको नाम, नक्सा र प्रमाणसहित प्रहरीलाई बुझाइदिएको थियो। उसले देखेको थियो रातका गुप्त गल्लीहरूमा मान्छेहरू कति सस्तोमा बेचिन्थे, कति महँगोमा कागजमा छापिन्थे।
आज उसै विषयको लेख ‘दीप्तिमान’ को मुख्य पृष्ठमा छापिन्थ्यो— सहरका लाखौँ आँखाले पढ्ने तर भोलि फेरि पुरानो पत्रिकाजस्तै कुना कुनामा थन्किने।
त्यो लेखमा उसका रातभरका अनिद्रा, उसले भेटेका धम्कीका शब्द र उसले देखेका लासका सुनसान आँखा सबै अड्किएका थिए।
गौतमले सम्पादकको टेबुलमा कपी राख्यो मानौँ कुनै ठुलो शंखध्वनि राखिदिएको होस्, जुन शंखको आवाज सहरका कानले सुन्नुपर्ने थियो, सुनेर केही सोच्नुपर्ने थियो। भोजराजले ती कपी पल्टाउँदै, पाना पाना छुँदै, कागजका बिचबाट निस्केको सिस्कारो सुन्दै मुस्कान लुकायो— सहरले फेरि आफ्नो भित्रको घाउ देख्ने भयो।
कोठाको झ्यालबाट घामको पातलो पट्टी झर्दै थियो। त्यो पट्टी गौतमको काँधमा खस्यो अनि उसलाई सम्झायो— उज्यालो कहिल्यै आफैँ आउँदैन, कसैले न कसैले उज्यालो भित्र्याउन अँध्यारो चिरेर जानै पर्छ।
गौतम चुपचाप उभियो। सम्पादकको कुर्सीपछाडि चिया बाफ बास्ना आइरह्यो। उसका आँखामा भने त्यो बाफभन्दा धेरै बाक्लो रहस्य अझै कागजभन्दा बाहिर कतै तैरिरहेको थियो। उसले आफ्नो खल्तीबाट कलम निकाल्यो, एउटा पानाको कुनामा थप केही अक्षर कोरिदियो— मानौँ त्यो अक्षरले बाँकी सहरलाई अझै केही भन्न बाँकी थियो।
कागजका पानाभरि सहरको कालो छायालाई उसले शब्दमा बाँधिसकेको थियो। एउटा-एउटा अक्षर रातभरको चिहान घरतिर फर्किएका उसका पाइला थिए, जुन अब सहरले पढ्ने थियो र फेरि बिर्सिने थियो। भोजराजले पत्रिका बन्द गरेर पानालाई पन्छाउँदै गहिरो श्वास फेरे अनि हौसला थपे, ‘गौतम! अर्को एउटा जिम्मेवारी छ तिम्रा लागि।’
गौतमले आफ्ना थकित आँखा उचालेर हेऱ्यो, ओठको कुनामा हिजो देखिएको मुस्कान अझै बाँकी थियो।
‘के हो सर?’
भोजराजको स्वर अझै चिया बाफझैँ न्यानो तर कठोर लाग्थ्यो, ‘तिमी अर्को सहर जानुपर्छ। त्यहाँका सबैभन्दा पुराना प्रहरी अधिकृत बलबहादुर थापाको अन्तर्वार्ता लिनुपर्छ। पचास वर्ष प्रहरी प्रशासनमा काम गरेका मान्छे, कस्ता अपराध देखे, कस्ता रहस्य? ती कुरा सुनाउँछन् भने हाम्रो पत्रिकाले नयाँ उचाइ पाउँछ।’
भोजराजका शब्दहरू पर्खालमा झुन्डिएका पुराना कालो फोटोहरूजस्तै थिए— सुक्खा तर गर्जनाले भरिएका। गौतमको अनुहारमा थकान मिसिएको जोस छायो। त्यस जोसमा उसले रातभर खपेको निद्रा र बिहानभरिको उज्यालो सँगै मिसायो। उसले निधारमा हल्का पसिना पुछ्यो र मुन्टो हल्लायो— त्यो मुन्टोमा उसको सहमति मात्र थिएन, अर्को रातको बिसौनीको संकेत पनि थियो।
घर फर्किँदा साँझको मधुरो घाम सहरका गल्लीभरि अल्झिरहेको थियो। घरको ढोकामा पाइला राख्दा आमाको हातको न्यानो उसलाई कुर्न बसेको थियो— उस्तै चामलको गन्ध, सागको तत्सतिलो बास्ना र पुरानो भाँडोमा बम्किएको भातको पसिना।
आमाले तातो खाना पस्किँदा गौतमले त्यो चामलभन्दा धेरै कुरा खायो— घरको आँगन, आमाको मन र आफ्नै थकान।
खाना सकिनु त थियो तर उसको बाटो सकिँदैन थियो। ओछ्यानको कुनामा राखिएको झोलामा उसले रेकर्डर हाल्यो— शब्दहरू च्यात्नका लागि। कलम राख्यो— रहस्यहरूमा आँखा खोप्नका लागि। र नोटबुक राख्यो— सबैभन्दा पुराना अपराधी कथाहरूलाई थुन्नका लागि।
दिउँसोको उज्यालो अझै पर्खालमा अल्झिँदा उसले आँगनबाट आमालाई हेर्यो। त्यो नजरमा कता कता अपराध र भरोसाबिचको सम्झौता लुकेको थियो।
स्कुटर होइन, यो पटक ऊ बस चढ्दै थियो — सहर पछाडि छुट्दै थियो, सडकको कुना-कुनाबाट धुलो उडाउँदै। गेटभरि पसिनाको बास्ना र टिकटको पुरानो गन्ध मिसिएको त्यो बस एउटा नयाँ सहरतिर गइरहेको थियो जहाँ उसले फेरि नयाँ रहस्यसँग हात मिलाउनु थियो।
अघिल्तिर सडक बिस्तारै कालो भएर बिलाउँदै थियो तर गौतमका आँखामा नयाँ अक्षरहरू झल्किरहेका थिए, जुन ऊ भोलि बिहान फेरि कोरिरहनेछ।
गौतम साँझ पर्दा बलबहादुर थापाको घरमा पुगेको थियो। टिनको छाना भएको पुरानो घर, पुराना गारोहरूमा उम्रिएका स-साना झारजस्ता सम्झनाहरू अनि अगाडि फूलबारीमा रातो गुलाब फुलेका थिए— रातो गुलाबहरू जो जति नै फुलुन्, बलबहादुरको अनुहारमा जमेको कठोरता झैँ कहिल्यै झर्दैनथे।
गेटबाट भित्र छिर्दा एउटी अधबैँसे महिलाले न्यानो तर थकित मुस्कानसहित स्वागत गरिन्। उनी बलबहादुरकी श्रीमती हुन् भन्ने अनुमान गर्न गौतमलाई धेरै समय लागेन। ती आँखाहरूमा वर्षौँको पर्खाइ थियो— सायद कहिल्यै नफर्किने कथाहरूको बोझ पनि।
भित्र बलबहादुर थापा करिब सत्तरी काटिसकेका, उमेरले शरीरमा सिलोटा पारे पनि छाती अझै ठाडा थिए, अनुहारमा बाघजस्तो कठोरता र हाँसोमा सगरमाथाजस्तो शान्ति मिसिएको थियो। कुर्सीमा ढल्केर बसेका बलबहादुरलाई देख्दा गौतमले महसुस गर्यो— कुनै मानिस कहिलेकाहीँ आफ्नो जीवनभन्दा धेरै ठुलो हुन्छ, उसको कथा कागजका पानामा कैद गर्न गाह्रो हुन्छ।
गौतमले केही सामान्य प्रश्नहरू सोध्यो— साना अपराधहरू, उनले पक्रेका डाँकाहरू, रातको घेराभित्र पसेर उस्तै काँपेका गोप्य छायाहरू, उनका केही साहसी कारबाहीहरू जसमा उनले बारम्बार मृत्युलाई चिमोटेझैँ गरेका थिए। बलबहादुरको आवाजमा कहिल्यै नदेखेको क्रूरता मिसिएको थियो— अपराधीका नसा चुँडाउने कठोर हात अनि त्यही आवाजमा कहिल्यै नसुनिएको करुणा पनि मिसिएको थियो— निर्दोषका आँखा पुछ्ने एउटै हत्केला।
अन्धकार कोठामा रेकर्डरको रातो बत्ती झुल्किरहेको थियो, बलबहादुरका शब्दहरू त्यो रातो बत्तीमा टिपिँदै थिए, सायद सहरले भोलि बिहान पढ्नेछ।
अन्ततः गौतमले त्यो प्रश्न सोध्यो— ‘तपाईंले प्रहरी जीवनमा कहिल्यै यस्तो घटना भोग्नुभयो जसले तपाईंलाई आजसम्म अफसोस गराउँछ?’
यो प्रश्नसँगै कोठामा झुल्केको रातो बत्ती झन् गाढा भयो, बलबहादुर थापा एकछिन मौन भए। उनका हत्केलाहरू कुर्सीको हत्थामा बिस्तारै थरथराए मानौँ कुनै पुरानो बुलेटको आवाज अझै कानभित्र घन्किरहेको होस्। अनुहारको कठोरता च्यातिएझैँ भयो— भित्तामा टाँसिएको पुरानो पारिवारिक फोटोले पनि त्यो मौनतालाई छेक्न सकेन।
‘प्रहरी जीवनको अपूरो कथा छ… जसलाई सम्झिँदा आज पनि निद्रा आउँदैन…’ बलबहादुरको स्वर चिसो हावा झैँ बिस्तारै फुट्यो।
गौतमले आफ्नो रेकर्डर बलबहादुरतिर झुकायो— कलमले नोटबुकको पाना च्यात्दै नयाँ कथा लेख्न कम्मर कस्यो। कोठाभित्रको जुन एकछिन निसास्सियो, रातो गुलाबको गन्ध झन् गाढा भयो। बाहिर अँध्यारो बाक्लिँदै थियो, बलबहादुरभित्र अझै बाक्लिएको अन्धकार अब शब्द बन्छ भनेर।
‘आजभन्दा करिब दस वर्ष पहिले, रातको करिब एक बजे, हाम्रो चौकीमा एउटा केटी रुँदै आइपुगी। नाम थियो— निर्मला।
उसको जस्तो रुवाइ मैले प्रहरी जीवनभर थुप्रै पटक सुनेको थिएँ तर त्यो रुवाइमा एउटा यस्तो चिरफार थियो, जुन गाडीको साइरनभन्दा ठुलो लाग्थ्यो, बन्दुकको आवाजभन्दा पैठारिलो।
लुगा च्यातिएका थिए। ती च्यातिएका कपडाभित्र एउटा मान्छे लुक्न खोज्दै थियो, आँसुमा आफैँलाई पखाल्दै। खुट्टामा चप्पल थिएन— हिलो, धुलो, काँडा सबै उसकै नाङ्गा पाइला पछ्याउँदै आएका थिए। शरीर काँपिरहेको थियो, ओठ खुलेर शब्दभन्दा अघि भित्रको हिम्मत च्यातिँदै निस्किरहेको थियो।
मैले पानी दिएँ। त्यो पानीमा ऊ आफ्नो भागदौड धुने प्रयास गर्दै थिई। मेरो अगाडि उसको आँखा भिज्दै थियो, शब्दहरू गिजोलिँदै थिए। बिस्तारै मैले केही कुरा सोधेँ— नाम, ठेगाना, के भयो भनेर।
तर नामभन्दा पहिले उसले आफ्नो प्राण बचाउने भिक मागी— ‘सर! मलाई बचाइदिनुस्! म बाँच्न चाहन्छु… मेरो पछि मान्छेहरू छन्।’
त्यो स्वरमा कतै युद्धको धमिलो आवाज मिसिएको थियो जस्तो उसले आफैँसँग थुप्रै रात लडिसकेकी थिई।
उनी को थिइन् भन्ने थाहा पाउन मलाई धेरै समय लागेन। युनिभर्सिटीमा पढ्दै गर्दा एक जना युवकसँग प्रेम गरेकी रहिछिन्— रमेश नाम थियो उसको। मायाको झुटो जाल बुन्दै, सपनाको तानाबाना पछ्याउँदै उसले निर्मलालाई गाउँसम्म लगेछ। त्यो गाउँ कुनै सधैँको चुलो चौकोको गाउँ थिएन, त्यो गाउँ रमेश र उसको गिरोहको ‘साम्राज्य’ रहेछ। जहाँ सहरका निर्दोष केटीहरूलाई मायाको मधुरो गीत सुनाएर फसाइन्थ्यो अनि पर्खालभित्र थुनेर शरीर टुक्र्याइन्थ्यो— जिउँदो सपनाको हड्डी बिक्री हुन्थ्यो। निर्मला पनि त्यसैको एउटा टुक्रा बनेकी थिई।
ऊ भागेर रातभर जंगल छिचोली, खोला, काँडा, भिर… कहाँ बाटो थियो, कहाँ बाटो थिएन, उसले थाहा पाइन। हाइवेमा आएर बस लिएर कता-कताबाट त्यहाँ आएकी थिई।
चौकी आइपुग्दा उसको खुट्टाको घाउमा माटो भरिएको थियो, गोडा काटिएका थिए तर आँखा अझै थकाइले बन्द भएका थिएनन्।
मैले सोधेँ— ‘गाउँ कहाँ हो?’
उसले निधार समाउँदै भनिन्— ‘मलाई थाहा छैन सर। जंगल रातभर दौडेर आएको। गाउँको नाम पनि याद छैन।’
त्यो गाउँ कुनै नक्सामा थिएन। त्यो गाउँ त अपराधीहरूको गुप्त धरोहर थियो जुन रातले मात्र चिन्दथ्यो।
ऊ साह्रै थकित थिई, श्वास हराएर झुल्दै थिई। मैले उसलाई हाम्रो गेस्ट कोठामा राखेँ। त्यो कोठा उसको लागि एउटा अस्थायी ज्यानको सुरक्षा कवच थियो। खाना दिएँ तर उसले दुई चम्चाभन्दा धेरै खान सकिन। प्रहरी अस्पतालबाट नर्स बोलाएँ— नर्सको हातले निर्मलाको निधार छुनु नै उसलाई जीवनतिर फर्काउने आशा थियो।
उसको बयान लिन खोज्दा उसले आफ्नो ओठमा चिर्के मुस्कान ल्याई। त्यो मुस्कानले डराएझैँ भन्यो— ‘सर, म बाँच्न चाहन्छु… तपाईंले मलाई बाँच्न दिनुहुन्छ नि?’
त्यो प्रश्न मेरो बर्दीभन्दा ठुलो थियो— त्यो प्रश्न मेरो तम्घाभन्दा गहिरो थियो।
त्यस रातभर मैले झ्याल खुला राखेर गेस्ट कोठा बाहिर पहरा दिएँ। चिहान घरतिर फर्किएजस्तो लाग्यो त्यो रात। उसको सास सुनिरहेँ— कहिले त्यो सास सानो हुन्थ्यो, कहिले चर्केर निस्किन्थ्यो। म केही गर्न सक्दिन थिएँ— केवल प्रहरी थिएँ, भगवान् होइन।
भोलिपल्ट बिहान म पुनः सोध्न कोठामा पुगेँ। तर त्यो कोठामा निर्मला थिइन। ओछ्यानको चिसो सिरकमा मात्र उसको रातभरको पसिना बस्न बाँकी थियो। निर्मला शून्य भइसकेकी थिइन्, उनी कता गइन्, कसरी गइन् अथवा कसैले लग्यो— प्रमाण छैन। रिपोर्टमा लेखियो— साइकोजेनेक कार्डियाक अरेस्ट।
तर म पुलिस भएर पनि थाहा पाउँछु छोरा— त्यो मृत्यु अटेक होइन, त्यो मृत्यु कुनै न कुनै रातको पुरानो साजिस थियो।
त्यसपछि मैले त्यो गाउँ खोज्न थुप्रै जंगलपारि दौडेँ तर त्यो गाउँ जति खोजे पनि कहिल्यै भेटिनँ। त्यो मानव तस्करीको जाल भत्काउन सकिनँ। त्यो केटी जसले मेरो चौकीको ढोकामा बाँच्ने भिक मागेकी थिई, मैले उसको जिन्दगी जोगाउन सकिनँ।
म प्रहरी भएर पनि अपराधीलाई समाउन सकिनँ। त्यो अपराध मेरो फाइलमा छैन तर मेरो निधारमा छ, मेरो निद्रामा छ, मेरो पसिनामा छ। रातभर जब म निदाउँछु, कहिलेकाहीँ निर्मला मेरो अगाडि आइपुग्छे— च्यातिएका लुगा, भिजेको अनुहार, भोकाएको सपना लिएर। भन्छे — ‘सर! मलाई बचाइदिनुस्!’
म बुढो शरीर लिएर पल्टिरहेको हुन्छु, मसँग बन्दुक हुँदाहुँदै केही गर्न सक्दिनँ। त्यसैले छोरा, म प्रहरी हुँ तर म अपराधमुक्त छैन। मेरो अफसोस यही अपूरो छ जुन मसँगै मर्छ। तर सायद कहिल्यै मर्दैन।’
गौतमको घाँटी सुकेको थियो। सायद त्यो घाँटीमा थुप्रिएको थियो बलबहादुरको नबोलिएको आँसु, निर्मलाको अधूरो सास अनि आफ्नै मनभित्र गढेर बसेको अपराध बोध। उसले बलबहादुरतिर हेर्यो, त्यो अनुहारमा उमेरले खिचेका चिराहरूमा नदेखिने कता-कता एउटा अधुरो उज्यालो जमेको थियो, जुन उज्यालो आँसु भएर नखसेको भए पनि कोठाको हावाभरि बिझिरहेको थियो।
गौतम चुपचाप उठे। कुर्सीले हल्का चरर भन्यो, सायद त्यो चरर आफैँमा एउटा नबोलेको शोक थियो। उनले रेकर्डर आफ्नो झोलामा हाले तर त्यो रेकर्डरले थापेको आवाजभन्दा बढी आवाज अहिले उसको छातीकै भित्र घन्किरहेको थियो। बलबहादुरले भनेका हर एक शब्द, निर्मलाको त्यो अन्तिम ‘सर! मलाई बचाइदिनुस्!’— यी सबै उसलाई नयाँ आवाजजस्तो लागेन, बरु आफ्नै आत्माको कुनामा थुनिएका पुराना आवाजहरू जस्तो लाग्यो।
बाहिर निस्कँदा आकाशमा रातको निलो छायाले सबै छोपिसकेको थियो— गुलाबका फूल पनि बिसाइन जस्ता देखिन्थे, चौतारीको बत्तीसम्म लोभ्याउन नसक्ने जस्तै— एउटा थकित उज्यालोको बाँकी चमक पनि रातले थिचेर लुकाएको थियो।
सडक सुनसान थियो। हावाले पातहरू उडाउँदै पुरानो बाटो छामिरहेको थियो, पाइलाहरू चुपचाप पिच्क पिच्क गर्दै सुनिएको थियो। तर गौतमको मनभित्र भने सडक एकदमै व्यस्त थियो— सडकभरि निर्मलाका आवाजहरू, बलबहादुरको अफसोस अनि आफ्नै थकाइसँगै अब जागेको अठोट गुन्जिरहेको थियो।
गौतमले बाटोमा पाइला राख्दा हावा त्यसको कानमा सुस्केरा हालेजस्तो लाग्यो— त्यो सुस्केरा निर्मलाको अन्तिम सास जस्तै लाग्यो जसलाई उसले अहिले पनि सुन्दै थियो— ‘म बाँच्न चाहन्छु… म बाँच्न चाहन्छु…।’
उसले आफ्नो छाती थाम्यो। त्यो मुटुको ढकढक कुनै रोगको होइन, एउटा बाँच्न नसकेकी आवाजलाई फेरि जिउँदो बनाउने तिर्सनाको ढकढक थियो।
राति एक्लै सडक चिर्दै जाँदा गौतमको ओठ खोलियो तर त्यो आवाज कसैलाई सुनाउन होइन, आफ्नै भित्रको डर र वाचा जाँच्न थियो। बिस्तारै उनले आफैँसँग भने— ‘म पत्रकार भएको नाताले त्यस गाउँ पत्ता लगाउनेछु… म त्यो नक्सामा नदेखिने गाउँलाई आफ्नो कलमको पानामा उतार्नेछु। म समाजका ती नारी व्यापारीहरूको नकाब उघार्नेछु जसले निर्मलाहरूलाई बेच्ने खेल खेल्छन्, उनीहरूको आङमा च्यातिएको कपडाभित्र आफ्ना महल ठड्याउँछन्।’
गौतमको पाइला अझै भारी लाग्दै थियो तर त्यो भारीमा अब डर थिएन, केवल नयाँ जिम्मेवारी थियो। उसका पाइला कत्ति कत्ति बलबहादुरको पुरानो बुटजस्तै लाग्थे जसले युगौँसम्म अपराध चिर्दै हिँडे तर कतै पुगेर आफैँ चिप्लिए। अब ऊ त्यो चिप्लिएको बाटो सिधा पार्नेछ भन्ने अठोट त्यो सुनसान बाटोमा उसकै पाइला पछ्याउँदै हिँडिरहेको थियो।
गौतमलाई थाहा थियो— उसले भेट्नेछ अर्को निर्मला, अर्को रमेश, अर्को गाउँ तर यो पटक ऊ चुप लागेर कुर्सीमा बस्ने छैन। ऊ रिपोर्टर मात्रै भएर शब्द लेख्ने होइन। ऊ खोज्नेछ, पछ्याउनेछ, टोल टोलमा हिँड्नेछ, रातभर सडकमा सुत्नेछ तर ती मानव तस्करहरूको रात उसकै कलमले उज्यालोमा उघार्नेछ।
उसको आँखामा बलबहादुरका आँखा मिसिएका थिए। ती आँखाभित्रको अफसोस उसकै आँखामा घुलिएको थियो। तर एउटा फरक थियो— बलबहादुरले भनिसकेका थिए, ‘म पुलिस भएर पनि केही गर्न सकिनँ…’ तर गौतमको मनले भर्खरै जवाफ दिएको थियो— ‘म पत्रकार भएको कारण गर्न सक्नेछु।’
सडक अझै सुनसान थियो तर त्यो सुनसानभित्र उसले देखेको थियो निर्मलाहरू जस्ताको भीड। ती निर्मलाहरूको आँखामा नयाँ उज्यालो अड्किएको थियो जुन उज्यालो अब उसले एक्लैले पनि बल्न दिनेछ।
उसले हत्केला खल्तीमा राखेर आफ्नो पुरानो नोटबुक छोयो। त्यस नोटबुकमा अब कुनै सामान्य रिपोर्ट लेखिने थिएन। अब लेखिने थियो एउटा यस्तो दस्ताबेज जसले बलबहादुरको अफसोस मेटाइदिनेछ, निर्मलाको अधूरो स्वर पूरा गरिदिनेछ र आफैँलाई फेरि फेरि सम्झाइदिनेछ— ‘साँचो पत्रकारिता भनेको यही हो।’
रातको आकाश एकछिन चिरबिर भयो, कता कता ताराले हल्का टिमटिमाए। गौतमले त्यस टिमटिममा निर्मलाको अनुहार देख्यो। त्यो अनुहारले फेरि बिना शब्द भनेझैँ लाग्यो— ‘म बाँच्न चाहन्छु…।’
गौतमले निधार छामेर आफ्नो सास गहिरो तानेर बिस्तारै फुसफुसायो—
‘म ती निर्मलाहरूलाई फेरि मर्न दिने छैन… म फेरि मर्न दिने छैन…’
रात चुप थियो तर त्यो चुप्पी भित्र अब एक जना रिपोर्टरको कथाको नयाँ अध्याय बिस्तारै जाग्दै थियो। अनि कुनै अपूरो उज्यालो त्यो रातको छायाभित्रै कतै एकछिनका लागि हाँसेजस्तो लाग्यो।