रहेको चाहिँ के कुरा होला जुन कुराले मलाई तिम्रो याद दिँदैन? रिङरोडको चक्रमा आफ्नो दैनिक पेसा गरिरहेका ती महानगर बसका चालक र सहचालक सँगैको मेरो दैनिक भेट। ती नै बसको एउटा कुनामा बसेर काठमाडौँको सुकेधारादेखि म पढ्ने कलेज भएको ठाउँ सानेपा हाइटसम्मको मेरो दैनिक आउजाउ।
त्यो बसको लगभग अन्तिम सिटतिर टोलाउँदै बसेको म एक्कासि बसको सहचालकले आफ्नो स्वरको तरङ्ग निकाली सानेपा हाइट हुनुहुन्छ भन्दा झसङ्ग भएँ। ‘म छु है दाइ, रोकिदिनुस्’ भनेर आफ्नो स्वरको तरङ्गहरू निकाल्छु।
म किन टोलाएको होला है! टोलाउँदा टोलाउँदै मैले आफ्नो गन्तव्य बिर्सनु पुग्छु। मलाई के भएको छ? अहिले म ब्याचलर पढ्दै छु। न स्कुलमा जस्तो शिक्षकले पढाएको कुरा सोध्नुहुन्छ कि भन्ने डर न त होमवर्क गरेको छैन भन्ने डर। तर पनि मन मानिरहेको छैन। कसैको यादले मन र मस्तिष्कको ढोका ढकढक्याएको भान हुन्छ। ऊसँग बिताएको ती समय र जमलको एउटा क्याफेमा बसेर ऊसँग भएको ती मायाको कुराहरूको सम्झना आउँछ।
लजालु उसको गुलाफको जस्तो चेहरा, सुमसुम्याउन मन लाग्ने उसको ती केश। समय पनि कति चाडै बितेको हो कुन्नि! ऊसँग बस्दा त ६० मिनेट पनि एक मिनेट जस्तो लाग्ने।
तर थाह छ? अब त्यो दिन, त्यो समय, त्यो मीठो गफ फेरि फर्किएर आउँछ कि आउँदैन होला भन्ने कुराको निर्णय गर्ने उसको हातमा मात्र छ। खै हामी कसरी टाढा हुन पुग्यौ! सँगै भएर पनि हामी हिजोको जस्तै बोल्न सकिरहेका छैनौँ, घुम्न जान सकिरहेका छैनौँ। हुँदाहुँदै एक अर्कालाई हेर्न पनि डराइरहेका छौँ।
हिजो उसलाई मसँग समय बिताउन मन लाग्थ्यो भने आज उसलाई अरू कसैसँग। मान्छेको मन कति चाडै परिवर्तन हुँदो रहेछ है! अहिले मन परेको कुरा एक छिनपछि मन नपर्न नि सक्दो रहेछ।
तिमीलाई पनि पक्कै यही भएको हुनुपर्छ। तिमीले मलाई क्षणिकका लागि मात्र मन परायौ। तिमीले मलाई फुलिरहेको गुलाफ ठान्यौ, टपक्क टिपेर आफ्नो शिरमा राख्यौ। जुन गुलाफ तिम्रो टिपाइको केही समयपछि ओइलाउँदै गयो, आफ्नो सौन्दर्य मेटाउँदै गयो। त्यसपछि तिमीले त्यो गुलाफलाई शिरबाट निकालेर फ्याँकिदियौ।
सायद तिमीले म फुलिरहेको गुलाफलाई टिपेर आफ्नो शिरमा सजाउनुभन्दा माया गरेर दैनिक पानी हालेको भए, गोडमेल गरेको भए, घाम पानीबाट बचाएको भए म ओइलाउने थिइनँ। हो, यही हो मन पराउनु र माया गर्नुमा रहने भिन्नता। मन परेको कुरा सधैँ मन नपर्न सक्छ तर माया गरेको कुरा चाहेर पनि गुमाउन सकिँदैन।
हुन त दोष मेरो नै छ। म एक चोटि मात्र टिपिएको फूल होइन। धेरै चोटि टिपिएको फूल हुँ। मैले मेरो सौन्दर्य, मेरो सकारात्मक पक्षहरू सबैबाट लुकाउनु पर्ने थियो जसले गर्दा आज म टिपिन बाध्य भएको छु। यदि त्यसो गरेको भए कोही आउँथ्यो होला जसले मलाई पानी हाल्थ्यो, गोडमेल गर्थ्यो र हेरचाह गर्थ्यो।
म हाम्रो प्रेम सम्बन्धलाई एउटा फूलसँग तुलना गरिरहेको छु। वास्तवमा म फूल जस्तै भएको छु; धेरै चोटि लुछिएको, भाँचिएको र टिपिएको। अब फेरि म भगवानलाई बिन्ती गर्दै छु, मलाई फूल जस्तै नबनाइदिनुस्। मान्छेहरूले मलाई क्षणिकका लागि मात्र मन पराउन थालेका छन्।
तिमीले मलाई अन्तिम भेटमा ‘अब हामी एक हुन सक्दैनौँ, रहन सक्दैनौँ, मलाई तिमी मन पर्न छोड्यो’ भनेर आफ्नो कुरा राखिरहँदा ती तिम्रा शब्द चयन, ती तिम्रा ओठबाट गुन्जिएका शब्दहरू मिलेर एक-एक गर्दै मेरो मुटुमा छुरा हानिरहेको महसुस मैले मात्र गरेँ। तिमी आफ्नो शब्दहरू गुन्जित हुँदै गयौ, म आफ्नो भत्किँदै गएको मुटुलाई आलटाल गर्दै आँसुले भिजिएका मेरा परेलीहरूलाई ओभानो बनाउने कोसिस गरेँ। तर पानी माथिको ओभानो भइदियो।
कोही कसैको मुटु कसरी त्यति बलियो हुन्छ जब आफ्नो अगाडि कसैले मायाको भिक मागिरहँदा पनि ती कुराको बेवास्ता गरी आफ्नो काँडे तारले बेरिएका शब्दहरू झटारो हानिरहेको हुन्छ?
म आफैलाई प्रश्न गर्न थाल्छु- तँ किन अरू केटाहरू जस्तो बन्न सकिनस्? काला गए गोरा आउँछ भन्ने भावना तेरो मन र मस्तिष्कले किन स्विकार्न सकेन?
म फेरि हतार हतार आफूले गरेको प्रश्नहरूको उत्तर दिन हतारिन्छु र भन्छु- आफूले आफैलाई तैँले कहिले पनि अरूको हृदयसँग खेल्न जानिनस्, सधैँ अरूको भलो चाहिस्। जे कुराको तँलाई माया लाग्छ त्यो कुरामा आफ्नो मन मुटु सबै समेटेर हासिल गर्न खोज्छस्। सायद यही भएर होला तँलाई माया लागेको कुरा तैँले सजिलै हातबाट फुत्कन नदिएको हैन र भनेर आफैलाई बुझाउन खोज्छु।
अझ अर्को कुरा थाह छ, सबैभन्दा बढी मन कति बेला दुख्छ? जति बेला आफूले माया गरेको मान्छेले आफूले आफ्नो समय, पढाइ सँगसँगै हरेक कुराहरूको त्याग गरेको मान्छेले छुट्टिएर जाने बेला भन्ने गर्छ कि ‘तैँले मेरो लागि केही पनि गरिनस्, तैँले मलाई माया गरिनस्, तैँले सधैँ आफ्नो लागि मात्र हेरिस्।’ यस्ता कुराहरूको झटारो आउने गर्छ तब लाग्छ हो रहेछ, यो दुनियाँ साँच्चै नै स्वार्थमा नाच्दो रहेछ। जसलाई जति गरे पनि कहिले सन्तुष्ट भने चाहिँ नहुँदो रहेछन्।
कसैले तेरो चाहिँ कोही प्रेमिका छैन भनेर सोध्दा मेरो ठाडो जवाफ हुन्थ्यो- ‘यो माया प्रेम सम्बन्धबाट मैले सन्यास लिइसकेको यार।’
मेरो उत्तर सुनेर धेरैले उडाउँथे, कसैले कारण सोध्थे भने कोहीले त्यसो भनेर हुँदैन नि एक जना त हुनै पर्छ जसले तिम्रो दुख सुखमा साथ दिन्छ। यी कुराहरू सुनेर म आफैलाई पनि प्रश्न गर्थेँ- के त साँच्चै अब यो प्रेम सम्बन्धमा होमिन चाहँदैनस् कि यत्तिकै मजाक गरेको?
माया के हो? प्रेम सम्बन्धमा बस्दैमा आफूलाई अगाडि बढाउन सकिन्छ? के एक्लै जिउन सकिँदैन? के एक्लै सफलता हासिल गर्न सकिँदैन? यी यावत् कुराहरूले मेरो मन भने पोलिरहन्थ्यो र अझै पनि पोलिरहन्छ।
म फेरि एक पटक हार्न बाध्य भएँ। हिजोसम्म थाकेको मेरो शरीर, मन, मस्तिष्क आज भने हार्न नै बाध्य भएको छ। मैले फेरि आफूलाई एक्लो भएको महसुस गरेको छु। महानगर बसमा कुनै दिन तिमी र म एक अर्काको हात समाउँदै मिठो गफ गर्दै घर जाँदाको त्यो क्षण आज त्यही बसमा आफूलाई मात्र पाउँदा साँच्चै नै मन पोल्दो रहेछ। साँच्चै नै हार खाएको, हार भएको महसुस हुँदो रहेछ।
मलाई फेरि तिमी चाहिएको छ। भाँचिएको, लथालिङ्ग भएको, चुँडिएको मेरो जीवनलाई तिमीले आएर गोडमेल गरिदिनु पर्छ। जब तिमीले मलाई एक्लो छोडेर गयौँ त्यहाँदेखि मैले आफूले आफैलाई पाएको छैन। म पछाडि तानिएको छु। म अगाडि बढ्न सकिरहेको छैन। मलाई तिम्रो यादले अझै पोलिरहेको छ, सताइरहेको छ।
झरीमा रुझ्न मन पराउने मान्छे म आज झरी परेपछि ओत लाग्न हतारिन्छु। तिमीसँग वसन्तपुर र असनमा रुझेको त्यो पलले गर्दा होला अहिले एक थोपा पानीले मेरो शरीरलाई जिस्काउँदा पनि डर लाग्छ।
के अब तिमी फर्किन्छौ? मेरो प्रश्न तिमीलाई।