'ए तैँले सुनिस्, भवानी काकाका छोरीज्वाइँ त विदेश जाने भएछन् नि। पोहोर छोराबुहारी विदेश लागे, यसपालि छोरीज्वाइँ जाने भएछन्। कस्तो राम्रो भएछ। भाग्यमानी रहेछन् है सबै। हाम्रो मात्रै भाग्यमा गोबर परेछ,' बनिताले सुनन्दालाई सुनाई।
'विदेश जानु भाग्य हो र? विदेशीलाई यहाँ ल्याएर काम गराउनु पो भाग्य होला त,' गोबर सोहोरिसकेर गाईलाई घाँस दिन लागेकी सुनन्दाले बनिताको कुरालाई खासै वास्ता नगरी जवाफ दिई।
'नसक्नेले यस्तै त भन्छन् नि! कुन दिन म पनि हिँड्छु अनि तँ एक्लै हुन्छेस्। बोल्ने साथी पनि हुँदैन तेरो! भवानी काकाले कस्तो होच्याएर कुरा गर्छन् हामीलाई। पढ्न जान त हामीले सक्ने भएनौँ, काम गर्न भए पनि जाऔँ न हामी पनि,' बनिता गोठकै छेउको एउटा ढुङ्गामा बसेर अझै के-के भन्दै थिई, सुनन्दा गाईलाई घाँस हालिदिएर गोठकै छेउमा रहेको धारामा हातखुट्टा धुन थाली।
एकछिनपछि कुर्तामा हात पुस्दै उसले भनी, 'बनिता, तँलाई किन विदेशको भूतले तर्साउँदै छ हँ? फेरि तेरो र हाम्रो परिवार उस्तै हो। हामीले चाहेर पनि विदेश जान सक्छौँ? हामीसँग पैसा छ? घरबारी बेचेर पनि पुग्दैन। नजाने गाउँको बाटो नसोध्नु भनेजस्तो यस्ता विषयमा चासो राख्नु त्यति राम्रो होइन। बरु आज कोदो रोप्नु छ, आइज हाम्रो मेलामा, दिनभर गफ गरौँला। जा भात खाएर आइज। काकाका छोराबुहारी, छोरीज्वाइँको कुरा छाडिदे। भविष्यले आफैँ देखाउँछ को भाग्यमानी भनेर। पैसा नभए पनि बुद्धि र हातखुट्टा त छन् नि हाम्रा पनि।'
बनिता घरतिर लागी। बनिता सुनन्दाकी सबैभन्दा मिल्ने साथी हो। आठ कक्षा पढ्दै गर्दा उसकी आमा साह्रै बिरामी पर्नुभयो। घरको काम गर्नुपरेकाले उसले स्कुल छाडी। अहिले उसको बिहे गर्ने कुरा चलेको छ तर ऊ २५ वर्ष नभई बिहे गर्न चाहन्न। बिहेको कुराबाट बच्न ऊ विदेश जान चाहन्छे।
घरका सबै कुरा थाहा भएर पनि ऊ मसँग यस्ता कुरा गर्छे। विदेशमा काम गर्ने एउटा केटाले बिहे गरेर लाने कुरा गरेको पनि रहेछ तर बनिताको पनि भित्री मन विदेश जाने छैन।
सुनन्दाका बा अलिक रोगी हुनुहुन्छ। बाको अवस्थाकै कारण सुनन्दाले पनि कक्षा ९ पढ्दा पढ्दै स्कुल छाडी। दुई जना भाइबहिनीलाई पढाउने जिम्मेवारी उसको र आमाको काँधमा छ। उसले विदेशको सोच बनाइन। आफ्नै देशमा बसेर केही गर्ने सोच छ तर आर्थिक अभावका कारण केही गर्न पनि सकेकी छैन। ऊ माटाको ममतालाई राष्ट्रियता ठान्छे।
खाना खाएर बनिता आई। सुनन्दा र बनिता कोदो रोप्न बारीमा गए। साउनको अन्तिम सातामा गर्मी निकै थियो। उनीहरू कोदाको बिउ लिएर मकैधारीभित्र पसे। सुनन्दा कोदालाले मकै जोगाउँदै बारी खनेर झार पुर्न लागी। बनिता कोदो रोप्न थाली।
'कति गर्मी भएको है। मकैका पातले पाछेर घाउ नै पारिसक्यो। यो कोदो रोप्दा रोप्दा पनि हैरान भइसकियो। कोदो राम्रो फलेन भनेर यसपालि मुड्के कोदाको बिउ राखेको, कस्तो फल्ने हो कुन्नि? यो कोदो रोप्नु सट्टा अर्को राम्रो उब्जनी हुने बाली लाउन पाए पनि हुने है,' सुनन्दाले कुरा राखी।
'खै के रोप्ने र! विदेश जानेले कति पैसा कमाइसके। हाम्रो भने बिहान बेलुका खान धौधौ। ती सुन्दरी काकीको फुरफुर हेर् न कस्तो छ, छोरो कोरिया गएर दुई लाख कमाउँछ रे। जन्तरे दाइ पनि ठुलो सुटकेस बोकेर आएका हैनन् अस्ति!'
'कुरा त्यसो होइन, कोरिया नपुगे पनि हामीले भिडियो देखेका छौँ त्यहाँको। कति दुःख छ भन्ने तिनले यहाँ आएर भन्दैनन्। मानिसले कहाँ पैसा मात्र ल्याएका छन् र, बाकसमा लास कति आउँछन्। कति रोग लिएर आउँछन्। धेरै कमाएर ल्याएको भए यहाँ पनि तिनको स्थिति देखिन्थ्यो नि! ऋण काढेर जाने अनि आएर ऋण तिर्ने, के काम भयो र! ठुलो टिभी र महँगो मोबाइल मात्र जिन्दगी हो र बनिता? आफैँले चलाएको मेसिनले हर्के दाइको हात काट्यो तर कम्पनीले बिमासम्म दिएन। खोलाघरेकी छोरी दोजिया भएर फर्की। चर्चरी लोग्नेले पठाएको सबै पैसा लिएर अर्कैसँग भागी, छोराछोरीको बिचल्ली छ। असलेले अर्को बिहे गरेर घरमै आएन, भाउजूको हालत त्यस्तो छ। यी विदेशका राम्रा कुरा हुन् र? छाड्दे विदेशका कुरा। भवानी काकाको पनि शुभ हुँदैन। बरु यतैका कुरा गरौँ,' सुनन्दाले निकै लामो सुस्केरा हाली र फेरि भनी,' बसौँ एकछिन। पानी खाऔँ। कि काँक्रो खाने हो? म टिपेर ल्याउँछु है। काँक्रो रोपेको भए पनि पैसा कमाइन्थ्यो होला। यसपालि चेतन दाइले काँक्रा बेचेर एक लाख कमाए रे भन्छन्।'
'ए साँची थाहा पाइस्, नगरपालिकाले राम्रो योजना ल्याउने युवालाई पचास हजार सहयोग गर्छ रे! यो हप्ता सूचना आउँछ रे। योजना छानियो भने त्यो पैसा तिर्नै पर्दैन रे। तँ र म पनि योजना हालौँ न। आइडिया निकाल् न केही? तँ त मभन्दा जान्ने छेस्,' काँक्रो चबाउँदै बनिताले भनी।
'के गरौँ त! काँक्रा खेती गरौँ? हैन, अकबरे खुर्सानी रोपौँ? तरकारी खेती गर्दा पनि फाइदा हुन्छ साथी,' सुनन्दाले अनुहार हँसिलो बनाई।
दुवैले आफ्नो परिवारमा सल्लाह गरे। बाआमाकै सल्लाहमा उनीहरूले योजना बनाए र नगरपालिकामा पेस गरे।
एक दिन सुनन्दा र बनिता काँक्राको टनेलमा काम गर्दै थिए, भवानी काका लौरो टेक्दै आइपुगे। उनलाई हतार हतार नमस्कार गर्दै दुवैले सोधे, 'काका आज कताबाट यहाँ आउनुभयो? दाजु भाउजू, दिदी भिनाजुको खबर के छ?'
उनले यताउता हेरे, चार/पाँच जना काँक्रा टिप्दै थिए। व्यापारी गाडी लिएर बाहिर बसेको थियो। सुनन्दा हिसाब गर्दै थिई। दुई क्विन्टल जति काँक्रा टिपिसकिएको थियो। केही कामदार काँक्रा तौलँदै थिए। सुनन्दा र बनिताका बाआमा घाममा बसेर कुरा गर्दै थिए। भवानी काका खुइय्य गर्दै एउटा मुढामा बसे र भन्न थाले, 'उनीहरूको कुरा नगरौँ नानी, मन पोल्छ। काकीलाई काँक्रा खान मन लाग्यो रे। बरा हिँड्न सक्दिनँ। अन्त काँक्रा छैनन्। अनि यहीँ आएँ म त। दुई किलो जति देऊ न नानी, कसरी छ अहिले?'
सुनन्दाले राम्रा-राम्रा पाँच वटा काँक्रा आफैँले टिपेर दिई र भनी, 'काकालाई पनि पैसा लिन्छौँ त हामी। काकीलाई हेर्न आउन पाइएको छैन। कामको चटारो छ। केही दिनमा आउँछौँ है काका।'
उसले एउटा काँक्रो चिरा पारी र एक चिरो काकालाई दिई। अरू बाहिर खेल्ने केटाकेटीले खाए।
सुनन्दाले नगरपालिकामा आफूहरूले योजना हालेको र योजना राम्रो लागेर दुवैलाई पचास-पचास हजार दिएको कुरा सुनाई। त्यसबाट उनीहरूले आफ्नै बारीमा पहिले अकबरे खुर्सानीको खेती गरेको पनि सुनाई। त्यसबाट नाफा भएपछि तरकारी र काँक्रा खेती बढाएको र अब कुखुरा पालन गर्ने योजना बनाएको कुरा सुनाई।
बनिताले पनि छोराबुहारी विदेश गएपछि काकाले बनिताको परिवारलाई हेपेको सङ्केत गर्दै आफू पनि खान लाउन सक्ने भएको कुरा सुनाई।
यो सुनेर काकाले भावुक बन्दै भने, 'विदेश भनेर के गर्नु नानी, जाने बेलामा मात्र खुसी हुने रहेछ। अहिले त सन्तान हामीसँग बोल्न पनि भ्याउँदैनन्। तिमीहरूले त ठिक गरेछौ नानी हो। आफ्नै घरमा बसेर आफ्नै माटोमा यत्रो उन्नति! कति भाग्यमानी रहेछन् तिमीहरूका आमाबा!'
काकाले काँक्राको झोला उचाल्दै हातले कोस पुछे र लौरो टेक्दै भने, 'विदेशको सानभन्दा त माटाको मान निकै ठुलो रहेछ नानी हो। धन्य छ तिमीहरूको सोच र व्यवहारलाई!'
सुनन्दा र बनिताले भवानी काका निकै टाढा पुगुन्जेल एक टकले हेरिरहे।