साना साना कुरामा सधैँ झगडा तर आँखाभरि सपना र मुटुभरि माया। यसरी नै सुरु भएको थियो तिम्रो अनि मेरो प्रेमिल प्रेम कथा।
कति माया गर्छौ भनेर तिमीले कहिले मलाई सोधिनौ। यति माया गर्छु भनेर पनि त मैले कहिल्यै सुनाइनँ। किनकि हाम्रो माया मापन गर्न मिल्ने थिएन। यो त अपार थियो।
त्यो हाम्रो पहिलो भेटमा नै मैले महसुस गरेको थिएँ, तिमी फरक छौ। अरूभन्दा भिन्न छौ। तिमीलाई माया गर्न मलाई कुनै बाँकी दिन कुर्न जरुरी छैन। म तिम्रो हाँसोमा सधैँ हराउन सक्छु।
यही कुरा उनलाई सुनाउँदै गएँ। उनी मेरो हाँसोमा हराउँदै गइन्।
दिन बित्दै गए, रात बित्दै गए। क्रमशः समय पनि बित्दै गयो। हामी एक अर्काको आदत बन्दै गयौँ। जो हामी आफैलाई महसुस हुँदैन थ्यो। कहिलेकाहीँको दूरी, कहिले करिअरको दबाब, यस्तै यस्तै।
एक दिन जिस्किँदै भनिन्, ‘अब त हामी छुट्टिन गाह्रै हुन्छ होला है?’
मैले मेरा हातमाथि उनका हात राखी भन्न थालेँ, ‘अब हामी केवल प्रेमी मात्र हैनौँ। जीवनसाथी पनि हौँ।’
‘होला खुब! छोरा मान्छे यसै भन्छन्। जब बिहे हुन्छ नि, त्यसपछि देखाउन थाल्छन् आफ्नो असली रूप।’
‘होला नि, त्यसै भन। बिहे गरेर त हेर। अनि कुन कस्तो बुझी हाल्छ्यौ नि।’
समय क्रम बित्दै गयो। अन्ततः बिहे भयो। उनको अनि मेरो जीवनको प्रेमिल कहानी यहाँबाट सुरु हुन थाल्यो।
साँझमा अफिसबाट सबेरै फिर्थेँ म। उनी भान्सामा हुन्थिन्। पुग्नासाथ एक कप मिठो चिया पकाएर उनलाई खुवाउँथेँ। नजिकै बसेर उनी गुनगुनाउँथिन्। हरेक बिहान हामी एक अर्कालाई ‘माया गर्छौँ’ भन्न बिर्सिँदैन थ्यौँ। कहिलेकाहीँ झगडा हुन्थ्यो। तर निधारमा चुमेको हाम्रो चुम्बनले त्यो सहजै मेटिन्थ्यो।
एक दिन जिस्किँदै सोधेँ, ‘के म आज पनि तिमीलाई उति नै माया गर्छु जस्तो लाग्छ?’
हाँस्दै उत्तर दिइन्, ‘हैन रहेछ। हरेक दिन अलिक बढी नै लाग्छ।’
‘देख्यौ नि? बुझ्यौ नि? मैले भनेको थिएँ नि!’
‘उम्, बुझेँ।’
हरेक साँझ, हातमा हात समाएर हामी चन्द्रमा हेर्दै महसुस गर्ने गर्थ्यौँ; हामीले प्रेम मात्र गरेनौँ, प्रेमलाई बचायौँ पनि।
उनी मक्ख पर्थिन्। मेरो त के कुरा!
एक दिन अफिसबाट फर्किएपछि मात्र पो थाह भये, आज त म चिया नै पिइन छु!
हाँस्दै उनले भनिन्, ’‘ए, अनि किन पिउन बिर्सिनु भएको त? कि म सँगै नहुँदा चिया नि रङिलो भएन अफिसमा र?’
‘हैन, चिया त थियो तर तिमीजस्तै रङिलो नभएको। फिक्का फिक्का त कसरी खानु?’
‘ल ल, कत्ति रसिला कुरा गर्नु हुन्छ। यत्तिका वर्ष भइसक्दा पनि उस्तै मिठा कुरा! सायद मान्छे मिठो भएर हो कि?’
उनी मुस्कुराउँदै भित्र पसिन्।
ऐना हेर्दै हल्का शृङ्गार गर्दै थिइन्, नजिकै गएर सुमसुम्याउँदै भनेँ, ‘कुरा मीठो किन नहोस्, तिमी त अझै पनि उस्तै चिनी हौ नि। थोरै हाल्दा पनि मेरो जिन्दगी मीठो बनाइदिने।’
उनी पनि थप्ने गर्थिन् र भन्थिन्, ‘म पनि त तिमीबिना बास्ना नआउने सुगन्ध जस्ती हुन्छु। जसको के काम? तिमी बिनाको जिन्दगी न एक छिन सम्झन सक्छु न त तिमीबिना बाँच्न सक्छु भन्ने कल्पना गर्न सक्छु। बुझ्यौ नि?’
‘प्रेम त प्रेम हो। दुःख पर्दा हात समाउने साधन हो। र त खुसी हुँदा पहिलो नजरमा म तिमीलाई सम्झन्छु।'
उनी नजिकै आउँछिन्, निधारमा अर्को चुम्बन गर्छिन् र भन्छिन्, ‘मलाई यसै गरी माया गर्नु है।'
‘भन्न पर्छ र श्रीमती ज्यु?’
‘हस्।’