आइतबार बिहान सवा १० बजेतिर तुलसीपुर बसपार्कको टिकट काट्ने घर (टर्मिनल भवन) नजिकै अरू दिनभन्दा फरक दृश्य थियो।
एक समूह पञ्चेबाजा बजाउँदै थियो भने केही व्यक्ति बाजाको तालमा नाच्दै थिए। केही बस बिहेका सवारीजस्तै सजाइएका थिए।
कतिले त यस्तो तामझाम देखेर बिहेको जन्ती रहेछ कि भन्ने अड्कल पनि काटे।
तर यो कुनै जन्तीको तामझाम थिएन। अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले आफ्ना सुपर लक्जरियस बस उद्घाटन गर्न आयोजना गरेको समारोह थियो।
कम्पनीले तीनवटा नयाँ बस सञ्चालनमा ल्याएको छ। यी बस दाङबाट काठमाडौं चल्ने छन्। भाडा प्रतिव्यक्ति दुई हजार रूपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्ष घनश्याम बस्नेतका अनुसार हरेक दिन टिकट काटेका यात्रुमध्ये बसभित्रै गोला तानेर चिठ्ठा पर्नेलाई पैसा फिर्ता गरिनेछ।
एउटा बस झन्डै एक करोड रूपैयाँ लगानी गरेर किनेको कम्पनीले जनाएको छ। यी बस जिल्लाकै सबभन्दा आधुनिक र सुविधायुक्त सार्वजनिक यातायात भएको कम्पनीको दाबी छ।
यी बसमा डबल सस्पेन्सर सिटका साथै सिंगल लेडिज सिट, कपल सिट र ट्रिपल सिल्पर सिट गरी ६ वटा सिल्पर सिट छन्। सिल्पर सिट सबैमा टिभी छ।
यो बसमा ब्रेक लगाउँदा अरूमा जस्तो आवाज नआउने र यात्रुहरू हुत्तिने वा हल्लिने समस्या पनि नहुने अध्यक्ष बस्नेतले दाबी गरे।
कम्पनीसँग करिब तीन सय गाडी छन्। एक एसी बससहित नौवटा हायस गाडी काठमाडौं सञ्चालन हुँदै आएका छन्।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नयाँ बस उद्घाटन गरेका थिए। उनले दाङबाट चल्ने रात्रि बसहरूले काठमाडौंसँगको सम्पर्क सहज बनाएको बताए।
'विगतमा काठमाडौं वा नेपालगन्ज जाँदा कुन बसमा चढ्ने, समयमा पुर्याउँछ कि पुर्याउँदैन भन्ने ठूलो चिन्ताको विषय हुन्थ्यो,' उनले भने, 'अहिले आधुनिक बसहरूमा भएको लगानीले जिल्लाको यातायात क्षेत्र सहज भएको छ।'

