राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार पनि बस्दैछ। आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाले जानकारी दिएको छ।
आज बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले गरेको सदरपछि उत्पन्न परिस्थितिबारे मिहीन छलफल हुने रास्वपाले बताएको छ।
शनिबार पनि रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बसेको थियो। बैठकले अदालतको आदेशको सम्मान गर्ने बताए पनि सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐनअनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशंकासमेत गरेको थियो।
‘राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत चिन्ता व्यक्त गर्दछौं,’ रास्वपाले भनेको थियो।