मैले गाउन नजानेका सबै गीत
समयले गाइदिनेछ
नचाहेका गीतहरू
झनै उँचो स्वरमा गाइदिनेछ।
झुक्किने छ
वा म झुक्किने छु
मेरो नामै नकाढी गाउने छ मेरो गीत
खरानीको गीत।
चुपचाप लयमा
अस्तव्यस्त छन्दमा
उसले लेपिदिनेछ मलाई साधुको ललाटमा
र म दिव्य हुनेछु।
छड्किरहेको खोलेबाट
एक डाडु अभाव खाएर लागेको प्रेत
भगाइदिने छ धामीको फूँ–फूँमा मलाई राखेर
र म आशीर्वाद हुनेछु।
मृत प्रायः चुलोहरूमा
जलाएर केही थान कंकाल दाउराहरू
भरिदिनेछ सृष्टि संयन्त्र मेरो जन्मले
र म प्राण हुनेछु।
हिँड्दा हिँड्दै
वाक्क भइसकेपछि हिँडिसकेका बाटाहरू
जलाएर चिताहरू साटिदिनेछ मसँग मुक्ति
र म पथ हुनेछु।
समयले खरानी बनाएर मलाई
जीवनको गीत गाइदिनेछ
र म मस्तसँग झुम्नेछु
खरानीको गीतमा।