तिमी निरन्तर थियौ र त
धर्ती उज्यालो भयो
झिसमिसेको साँझसम्म पनि
तिमी घर नफर्कँदा
तिम्रा बा-आमा तिमीलाई खोज्न
जंगलसम्म पुग्ने गर्दथे।
तिम्रो भविष्यका लागि भनेर नै
कति संघर्ष भएका छन्
परिवर्तनका नाराहरूसँगै
पश्चगमनका नाराहरू घन्किरहेका छन्
तिमीले परिवर्तनलाई बुझ्नुपर्छ
किनभने हरेक चिज
निरपेक्ष नभई
सापेक्ष हुनुपर्छ
किनकि तिमी निरन्तर छौ।
हिमालका काखहरूले
तिम्रो श्रमका दानाहरू खोजिरहेको छ
जसले मोतीका दानाहरू फलाउन सकुन्
उर्वर फाँटहरूले तिम्रा हत्केलाहरू खोजिरहेका छन्
जहाँबाट हजारौँ मनहरू सन्तुष्ट पार्न सक्ने
अनाज फलाउन सकूँ
बस्ती-बस्तीमा रहेका धार्मिक स्थलहरूले
तिम्रा कर्म खोजिरहेका छन्
जहाँ हजारौँ मनहरूको संगम जोड्न सकूँ।
उमारेर फूलका बीजहरू
तिम्रो नयनमा बिस्कुन लगाउने मन छ
दिनदिनै परदेशिएका मनहरूलाई
फुलका मालाले स्वदेशमा नै सम्मान गर्ने मन छ
तर
निरन्तर बिदेसिएका मनहरू
कोही जवान सकेर फर्किन्छन्
कोही जवान बेचेर फर्किन्छन्
यात्राका अनमोल पलहरूमा
तिम्रै लागि निरन्तर छु म।
हरेक पल मृत्युको संघारमा रहेको बेला
सायद मृत्यु पनि पर भाग्छ
निरन्तर श्रमलाई देखेर
स्वदेशमै श्रम बेचेर जिउनपर्छ
प्रदेशमा जवान सकेर हैन
जवान स्वदेशमा नै प्रयोग गर्नुपर्छ
हामीले निरन्तर लाग्ने बेला भएको छ
नसोच्नु कसैले देला भनेर
आफैले आफ्नै श्रमलाई
बेच्न सिक्नु पर्दछ यहाँ।
तिमीले देखेको विश्वासले
तिमी मन्दिरको पूजा गर्छौ
जहाँ संसार अडेको छ
तिमीले ल्याएको परिवर्तनको
एउटा झिल्को हो
मन्दिर-गुम्बा-मस्जिद-चर्च-बौद्ध र स्तुपाहरू
हामी परिवर्तनका लागि निरन्तर छौ
तिमीले ल्याएको परिवर्तनले
सबैको विश्वास अडाउन सकोस्
आऊ अब परिवर्तनको यात्रामा निरन्तर-निरन्तर
हिजोको जस्तो एउटा सपना
एउटा विचार, एउटा व्यक्ति होइन
सही बिचार र सही नेतृत्वमा विश्वास गरौँ
जसले सिंगो नेपाललाई हराभरा बनाउन सकोस्
जली रहेको मनहरूलाई अमृत जलले
मत्थर बनाउन सकोस्
जहाँबाट न्यायको आधारशिला बनाउन सकियोस्
साँच्चै हामीले सार्थक इतिहास
रच्ने बेला भएको छ
कसैले-कसैको आशाभन्दा माथि उठेर
सबैले-सबैमा विश्वास गर्ने
वातावरण निर्माण गर्न सकूँ
जहाँ हजारौँ-हजार फूलका सुगन्धले
मनमोहक बनाउन सकोस्
किनकि यात्रा जारी
निरन्तर-निरन्तर फेरि निरन्तर।