‘गुन्टा तयार पारेँ। अब म हिँड्नु पर्छ।’
भारतीय सेनामा कार्यरत लाहुरेले परिवारका सदस्यहरूलाई अभिवादन गर्दै बिदाइ हुन खोज्यो। अनेकन् पीडाका बिच खिस्स हाँस्दै आँगनमा निस्क्यो।
ऊ दुई महिनाको बिदामा आएको थियो। परदेशमा हुने एक्लोपन घरमा आएर मेटाउने कोसिस गर्दै थियो। परिवारका सदस्यहरूसँग रमाउँदै थियो। अचानक कश्मीरमा चर्केको द्वन्द्वका कारण बिदा नसकिँदै पल्टन फर्कन पर्ने भयो।
काेठाभित्र रहेकी श्रीमती बाहिर आउन नपाउँदै ऊ हिँड्न खोज्यो, ‘ल हिँडेँ है त, आफ्नो ख्याल राख्नू। छोराछोरी र आमाको राम्रो हेरविचार गर्नू। म फेरि केही महिनापछि आइहाल्छु। सेनाको जागिरमा बिदाको भर नै हुँदैन,’ यति भन्दै उसले आँगनको डिल नाघ्न खोज्यो।
यत्तिकैमा अनायास घर भित्रबाट सुँक्कसुँक्क आवाज आयो। यसो नियाल्दा उसको अर्धाङ्गिनी।
‘हैन अचानक तपाईँ कहाँ हिँड्ने भनेको? दुई वर्षमा घरमा झुल्केको हजुर फेरि दश दिन पनि नबित्दै किन जानु पर्यो? हजुरलाई हाम्रो ख्याल छैन? जागिर मात्रै भए पुग्छ?’
उसले कुरा बुझिहाल्यो। लामो समयपछि घरमा आएको त्यसमा पनि बिदा नसकिँदै फर्कनु पर्ने। अनि फर्कन पर्ने कारण पनि भारत पाकिस्तान द्वन्द्व। श्रीमतीको मन न हो। पीडा त भइहाल्ने भये। परिणाम स्वरूप गुनासो रहने नै भयो। आँसु खस्ने नै भयो।
‘यस्तै हो लाहुरेको जिन्दगी, प्रिय। जे उद्देश्यले भर्ती भइएको हुन्छ, त्यो पूरा गर्नै पर्छ। यो मेरो धर्म हो,’ लम्किसकेको पाइला पुनः फर्काउँदै लाहुरेले उनलाई सम्झाउने कोसिस गर्यो।
‘मलाई थाहा छ तर...’ उनको बोली रोकियो। फेरि उही चित्कार।
हो, वास्तवमा ऊ गुलेली खेल्न हिँड्न लागेको थिएन। लड्न तम्तयार थियो। युद्धमा गोलीमार्फत परास्त गर्नु वा आफूले गोली खानु अनिवार्य थियो। यस्तो कठिन कार्यका लागि प्रस्थान गर्न लाग्दा उसको मनमा पनि अनेकन् पीडा थिए। भित्री मन मानेको थिएन। तथापि त्यो देखाउने छुट उसलाई किमार्थ थिएन। परिवारभन्दा ठुलो जागिर थिएन। तथापि जागिर नगरी बस्न सम्भव थिएन। त्यसैले मन बाँधेर विदेशी भूमितर्फ लम्कन लागेको थियो।
उसले श्रीमतीलाई सम्झाउन भ्याएको थिएन, पिँढीको छेवैमा बसेकी आमा झन् कहालिएर रुन थालिन्।
‘अहिले गइहाल्ने कुरा नगर बाबु। बिरामी वा अन्य कारण देखाएर केही दिन यतै बस्। कतै द्वन्द्व टर्छ कि?’
‘हैन आमा, हामी सेनामा कार्यरतले देशको पक्षमा लड्ने कसम खाएका हुन्छौँ। देशलाई पीडा पर्दा हामी झुट बोल्ने कल्पना पनि गर्न सक्दैनौँ। त्यसैले हिँड्ने बेला मलाई आशीर्वाद दिनुहोस्। जितको शुभकामना दिनुहोस्,’ उसले दृढ भएर आमाको सवाल सामना गर्यो।
आमाले सुस्केरा हाल्दै इतिहास कहन थाल्नुभयो, ‘तेरा बा पनि भारतीय सेनामा थिए। तिमीहरू सानै छँदा कार्गिल युद्धमा ज्यान गुमाए...’ आमा शब्दविहीन भइन्। त्यहाँ एक प्रकारको सन्नाटा छायो।
पुनः साहस बटुलेर थपिन्, ‘उति बेला भारत सरकारले शहीद भन्ने बिल्ला त भिरायो तथापि मान्छे नै नरहेपछि शब्दले केही हुँदो रहेनछ। भन्न त कार्गिल युद्धमा भारतले पाकिस्तानमाथि विजय प्राप्त गर्यो भन्थे। हामीलाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात।’
‘आमा, त्यो सब मलाई थाहा छ। हजुरले कलिलै उमेरमा जीवनकालकै कठिन समय भोग्नु पर्यो। एकातिर बुवाको अकालमै मृत्यु भुल्न सक्ने क्षमता थिएन तपाईँमा। अर्कोतिर पोइ खाई भन्ने सामाजिक आक्षेप। रुढीवादी समाजले एउटा विधवामाथि करुणा भाव राख्न त सकेन। त्यसको ठिक विपरीत चराएको घाउमा नुन चुक छर्कने काम भयो। फलस्वरूप तपाईँले थप मानसिक तनाव झेल्नु पर्यो।’
आमाले कौतुहलताका साथ छोराको कुरा सुनिरहेकी थिइन्।
‘हामीलाई हुर्काउन तपाईंले हदैसम्म पीडा सहनु पर्यो। त्यो भनेर साध्ये छैन, आमा। बुवाले पाउनु पर्ने आर्थिक प्याकेज पनि दलालहरूले कब्जा गरे। फलतः चरम आर्थिक अभाव सहनु पर्यो। हाम्रा लागि मेलापातमा गएर दुई छाक जुटाउनु पर्ने अवस्था सिर्जना भयो। हजुरले हामीलाई कठोर पीडा सहेर हुर्काएको मेरो मानसपटलमा ताजै छ।‘
‘आमा, हजुरले श्रम बेच्नु भयो तथापि इमान बेच्नु भएन। दश नङ्ग्रा खियाउनु भयो तथापि नैतिकता बन्धक राख्नु भएन। दुःख गर्नु भयो तथापि भिख माग्नु भएन। तपाईँको साहसका कारण हामीलाई बुबा नभएको आभास भएन। परिणाम स्वरूप आज हामी आफ्नो खुट्टामा उभिन सक्ने भयौँ। हामीलाई यसमा धेरै गर्व छ। तथापि बुवाले एउटा नियति भोग्नु पर्यो भन्ने कारण देखाएर आज म काममा नगई कसरी बसूँ?’ उसले आमालाई ढाडस दिँदै भन्यो।
आमाले इतिहास सम्झाउने कोसिस गरिन्, ‘बाबु छोरा, भारत पाकिस्तान युद्ध कहिल्यै रोकिँदैन। सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि कैयन् पटक लडाइँ भयो। इतिहास साछी छ। १९४७, १९६५, १९७१, १९९९ र अहिले २०२५ मा समेत पुनः त्यस्तै संकेत देखिएको छ। यस्तो अवस्थामा तैँले जिद्दी गर्ने?’
‘हैन आमा’ ऊ बिचमा प्वाक्क बोल्यो।
तर आमा थप भावुक बनिन्, ‘बाबु, बरु जागिर खान नजा। कमाइ नभए जसरी हुन्छ जीवन धानौँला। खानै नपाए भोकै बसौँला। एक छाक खाउँला। त एक्लै पराइको भूमिमा गएर मर्नुभन्दा हामी सँगै जसf]t;f] गरौँला।’
‘आमा, सोच र जिन्दगी फरक हुन्छ। हिजोका दिनमा मानिसका आवश्यकता थोरै थिए। परिवारका सपना सामान्य थिए। नगद पैसा नभए पनि जीवन चल्थ्यो। आज त्यस्तो छैन। परिवेश बदलिएको छ। हाम्रा सपनाको दायरा चाहेर नचाहेर बढेका छन्। शिक्षा दीक्षा, पालन पोषण महँगो भएको छ। भड्काउ जीवनशैली नभए पनि पाइला पाइलामा पैसा नै चाहिन्छ। पैसा नै जीवन जस्तो भएको छ। भावना जस्तो वास्तविकता छैन। त्यसैले म जानुपर्छ आमा,’ उसले जिद्दी गर्यो।
हो, यस्तो परिस्थितिमा परिवारका सदस्यमा पीडाबाेध हुनु स्वाभाविक थियो। कसैले गफ गर्नु र आफू स्वयमले त्यो सामना गर्नुमा आकाश पातालको फरक हुन्छ। कल्पना गरौँ त हाम्रो परिवारका सदस्य लडाइँमा जान लागेको भए हामीलाई कस्तो अनुभूति हुन्थ्यो? मन कति अमिलो हुन्थ्यो? सम्हालिन कति गाह्रो हुन्थ्यो? सामान्य रूपमा घरबाट केही पर प्रशासनिक कामहरू गर्न जाने बेला त हामीलाई छुट्टिन अप्ठ्यारो लाग्छ। जीवन र मरणको सवालमा युद्धमा नै जाने भनेको चानचुन विषय हैन। उसकी जीवनसाथी, आमा र परिवारको रोदन स्वाभाविक थियो।
परिवारका सदस्यलाई खुसी पार्न भावनालाई भुलेर यथार्थमा रम्नु उसको बाध्यता थियो। एउटा कुराले उसको मन सारै बिझाइरहेको थियो। नेपाली नागरिक भएर भारतको लागि लड्नु पर्ने? यो दुर्भाग्यपूर्ण अवस्थाले भने उसको मन थप पोलिरहेको थियो।
‘देशमा बाँच्न त परै जाओस्, मर्न समेत पाइने भएन। के गर्नु, खोक्रो राष्ट्रवादले जीविकोपार्जन सम्भव रहेनछ। आदर्श र दर्शनले भोको पेट नभरिने रहेछ। भावनाले जीवन नचल्ने रहेछ। नेताका बोलीमा झुन्डिएको समृद्ध, विकसित नेपाल भन्ने दशकौँ देखिको नाराले पेट भरिने रहेनछ। आज स्वदेशमा रोजगारीका अवसर नहुँदाको परिणति गोर्खा पल्टनमा भर्ती हुनु पर्यो। भारतीय सेनामा राम्रो सेवा सुविधा पनि छ। त्यसैको लागि उसको दास बन्नु पर्यो। अर्काको देशको लागि जीवन आहुति दिन तयार हुनु पर्यो। अरू देशको लागि रगत बगाउन बाध्य हुन परेपछि मातृभूमि त नाम मात्रको भयो,’ ऊ मनमनै भक्कानियो।
‘नेपालमा लाखौँ युवा बेरोजगार छन्। बेरोजगारीले मानिसको आयआर्जन शून्य हुन्छ। आयआर्जन नभएपछि मानिसले अन्य त परै जाओस्, आधारभूत आवश्यकता पनि पूरा गर्न सक्दैनन्। जबसम्म मानिसका आधारभूत आवश्यकता पूर्ति हुँदैनन्, तबसम्म मानिसले शान्तिको सास फेर्न सक्दैन। त्यसैले मनलाई शान्त राख्न आधारभूत आवश्यकताको पूर्ति हुनु अनिवार्य छ। आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्दा परिवार, गाउँ गर्दै समग्र देशमा अशान्ति हुन जान्छ। बेरोजगारीले गरिबी, अशिक्षा, तनाव सृजना गर्दै मानिसमा डिप्रेसन तथा आत्महत्यासम्मको विकराल रूप लिँदै जान सक्छ। यस्तो भयावह समस्याका बारेमा सोच्ने कसले? राजनीतिक नेतृत्वहरू कुम्भकर्ण झैँ निद्रामा मस्त छन्। पीडामा सधैँ जनता।’
उसले सुस्केरा हाल्यो।
युवा बेरोजगारीको अवस्था सम्झँदै ऊ थप उदासीन बन्यो।
‘बिहान उठ्यो। बाहिर घुम्यो। काम नभएका साथीभाइसँग भेट्यो। कुनै दलको कार्यक्रम भए नारा जुलुस लगायो। उतै रल्लियो। पाए नास्तापानी खायो। त्यो नि नभए भोकै गल्ली चहार्यो। समय गुजार्यो। यसरी देश निर्माणमा खर्चनु पर्ने युवा जोस त्यसै रल्लियर गएको छ। देश बनाउनु पर्ने हातहरू अनावश्यक झन्डाहरू बोक्न प्रयोग भएका छन्। समृद्धिका लागि उठ्नुपर्ने आवाजहरू वाहियात नारा जुलुसमा घन्केका छन्। सिर्जनामा बित्नुपर्ने पलहरू व्यर्थमा बितेका छन्। निर्माणमा लाग्नुपर्ने जवानहरू डोजरले भत्काएको हेर्न विवश हुनु परेको छ। यस्तो विडम्बनाबाट अधिक युवाका दिनहरू गुज्रिरहेका छन्। यस्तो अवस्थामा म यहाँ रहेर के नै गर्न सक्छु?’
‘हो, म पनि यो सब परिदृष्यबारे ज्ञात छु। तिमीहरूभन्दा अझ बढी व्यवस्था र तिनका नेतृत्व झेलेको छु। अधिक खरानी घसेका नयाँ र बद्धहरूको बेतुकको वचनबद्धताले रोजगार सिर्जना नहुने रहेछ। भाषणले देश विकास हुने भए हाम्रो देश उहिल्यै स्वर्ग भइसक्थ्यो। जनताले गाँस, वास, कपास, सामाजिक सुरक्षा सहितको समावेशी लोकतन्त्रको अनुभूति गर्थे,’ आमाले नेताहरूप्रति आक्रोश पोखिन्।
यो सब गलफती उसकी श्रीमतीले सुनिरहेकी थिइन्। जति कुरा गरेर अल्झाउन खोजे पनि ऊ जानै पर्थ्यो। मन कठोर पार्दै गन्तव्य उसले तर्फका पाइला अगाडि बढायो।
आमाले बिदाइ गर्दै आशीर्वाद दिइन्।
‘शुभयात्रा छोरा। युद्धमा विजय भएर आएस्।’
‘हस्, ल म हिँडेँ। तिमी पनि पिर नगरी बस है त,’ ऊ औपचारिक रूपमा बिदा भयो।
बढो कठोर मनका साथ उसकी अर्धाङ्गिनीले केही बोल्न खोजिन् तर आवाज आएन। केवल बिदाइका हात हल्लाइन्।
आमा र श्रीमती दुवैले उसलाई देखुन्जेल हेरिरहे। जीवनको एउटा झिनो आशामा उसलाई पर्खिरहे।