केही दिनअघि आफन्त बितेको खबरसँगै आर्यघाटको सिँढी ओर्लँदै गर्दा मनै अमिलो भयो। जीवनमा धेरै चोटि यस्ता आर्यघाटका सिँढीहरू चढ्ने र झर्ने गरिएको छ। आर्यघाट भित्र धमिलो बाग्मतीको किनाराका दृश्य हेर्दा जीवन 'खै के रहेछ' भन्ने लाग्छ।
काठमाडौँमै मरिएछ भने कुनै दिन हाम्रो यात्रा पनि यसरी नै प्रवेश गर्ने छ, वरिपरि यसरी नै हाम्रा मान्छेहरू पछि लागेर आउनेछन्। अनगिन्ती लासहरूको पछि लाग्दालाग्दै कैयन् मलामीहरूको यात्रा यही चितामा सकिएको देखेको छु।
हामी मलामी, परिस्थिति सामान्य भएमा हाम्रो यात्राको समापन पनि सायद यसरी नै होला। त्यो दिन हामीलाई हाम्रो नामले बोलाइने छैन, मान्छेको पहिचान गुमाएर एउटा लासको उपाधि पाउनेछ।
कतिले भन्लान्, 'यतैबाट अफिस जानु छ, अहिले छुनु हुन्न, छोएपछि ननुहाए यसको प्रेतले दुःख दिन्छ।'
जब चिताको आगो दन्कन सुरु गर्छ अनि घडीतिर आँखा लगाएर मन बिथोलिन्छ- लौ अबेर भयो, अब फर्कनु पर्छ। जब आर्यघाट ओझेल परेर गौशालाको जाममा पुगिन्छ, जीवनको त्यो अन्तिम सत्य हराउँछ र जीवन दैनिकीमा लतारिन थाल्छ।
त्यस दिन आर्यघाटमा झर्दै गर्दा एउटा लास आयो। मलामीहरू ५ जना थिए। मलामीहरूले लासलाई चिताको अगाडि भुइँमा सुताए र ठिङ्ग उभिए। मलामीमध्ये एउटाले न्याउरो मुख लगाउँदै तारनतार मोबाइलबाट कसैलाई केही भन्न खोज्दै थियो, सायद उठेन। मलामी आएकाहरू थकित र निराश देखिन्थे। कैयौँ दिनदेखिका अनिदो र भोका जस्ता।
छेउमा एउटी अधबैँसे महिला मुख छोपेर भित्ताको अडेस लगाएर रोइरहेकी थिई। साथमा सुतेको लास उनको श्रीमानको थियो। सायद उनका गाउँतिर केही भन्ट्याङभुन्टुङ छोराछोरी पनि होलान्। जीवनमा साथ दिएको लोग्नेले उनलाई एक्लै छोडेर गयो, छोराछोरीको जिम्मा लगाएर।
कुस्मा बजारमा ज्यालादारी गरेर खाने लोग्नेले सम्पत्ति नै के जोड्यो होला र? हरेक दिनको ज्यालाले आफू र जहानको आँत रसाउँदै आएको एउटा जिउँदो प्राणीले आज आत्मसमर्पण गर्यो। ऊ जान त चाहँदैन थियो र कमसेकम आफ्नो नभए पनि जहान परिवारको माया र जिम्मेवारीले उसलाई जाने अनुमति दिँदैन थियो। हुन पनि कतिपय जिम्मेवारीहरू यस्ता हुन्छन्, जसले मानिसलाई बाँच्ने कुनै योजना र चाहना नभए पनि सबैलाई छोडेर एक्लै मर्न र आफूलाई मार्नबाट रोक्छन्।
बिस्तारै ती महिला डाँको छोडेर रुन थालिन्। उनीमाथि माया, अभाव र जिम्मेवारीको बोझले एकै चोटि न्याक्यो र रुवायो। उमेरमै लोग्ने मरेको एउटी महिला। अब विधवा, एक्लै। दिनभर घर नभए पनि राति थोत्रा थाङ्नाहरू सुमसुम्याउँदा साथमा लम्पसार परेको मान्छे, जसको भरोसामा दुखी जीवन खुसीसँगै चलेको थियो। तर अब छैन। छ त चिन्ता, पिरलो, त्यसमाथि चुहिने छाप्रो, रित्ता भाँडा, बढ्दै र हुर्कँदै गरेका छोराछोरीको सारङ्गी पेट। उनीहरूको पढाइ त हिजो पनि थिएन, अब झन् टाढाको विषय भयो।
त्यति बेला आर्यघाटमा उसले व्यथा पोख्ने कुनै मान्छे पाएकी थिइन र एक्लै रुँदै थिई। सायद सुनिदिने र सुनाइमाग्ने पनि कोही थिएन। ऊसँगै मलामी आएका आफन्तहरू पनि उसको व्यथा सुन्न योग्य थिएनन्। अर्थात् उनीहरूका पनि खुटा चरचरी चिरिएका थिए, हातका औँलामा ठेला उठेका थिए। उनीहरूले लगाएको टोपी पनि धागो निस्किएर एकापट्टि कपाल देखिएको थियो। उमेरले ३०/३५ वर्षका भए पनि ५० कटेका जस्ता देखिन्थे। लाग्छ, यिनीहरूले गएको दसैँदेखि पेटभर खान पनि पाएका छैनन्। ५ जना मलामीमा एक जनाको टिकटिके फोन थियो र उसले कसैलाई गुहारिरहेको थियो।
भिरबाट भारीसँगै लडेर ऊ कुस्मा, पोखरा हुँदै काठमाडौँसम्म आएको थियो। बाँचुन्जेल कुस्मा बजारभन्दा ठुलो बजार नदेखेको ऊ अहिले पोखरादेखि काठमाडौँसम्मको यात्रामा निस्कियो। सद्दे छँदा कहिल्यै बस नचढेको ऊ अहिले गाडी चढेर आयो, अन्तिम यात्रा बिसाउन। उसलाई सरकारी हस्पिटलमा राखियो।
रुने र फुल्याउने मान्छे धेरै नभएपछि फगत एउटा भरियाको जीवन न हो, रोइदिने त्यही एउटी श्रीमती र आँसु झार्ने पनि नजान्ने ती लाल बाला। उसले जीवनमा कमाएको यत्ति नै थियो र मन अमिल्याउने ती ४ जना मलामीहरू पनि बोनसको रूपमा पाएको थियो। कति हल्का जीवन! यति हलुङ्गो जुनीको अन्त्यले अरू धेरैलाई न रुवायो, न आँसु चुहाउनु पर्यो। कुस्माका साहुले भरिया फेरिदिएपछि अरूको बाँकी जीवन जस्ताको त्यस्तै चल्यो।
भारी बोकेर भरे साहुले दिने पैसाले चामल किन्ने र बेलुकी परिवारसँग लुपुक्क सुत्ने उसको सपना भारीसँगै लड्यो। एउटा गरिबको सपना के नै पो हुन्छ र? ठुलठुला सपना देख्न त बिपनाका दृश्यहरू देख्न र जान्नु पनि पर्छ, जो उसलाई थाहा थिएन। जस्तो कि अहिलेका बच्चाहरू स्कुल पढ्दा अमेरिका, अस्ट्रेलिया, युरोपका सपना देख्छन्। आज लाख रुपैयाँ कमाएको मान्छे, करोडको सपना देख्छ र करोड भएकाले अरबको सपना। तर सपनाको हकदार त ऊ छँदै थिएन।
उसको हरेक दिन एउटै सपना हुन्थ्यो। हरेक दिन बोक्ने भारी पाइयोस् र दिनभर बोक्न पाइयोस्। यो बाहेकका सपना देख्न पनि जान्दैनथ्यो। भनिन्छ, दिमागमा नभएका कुराहरू सपनामा आउँदैनन्। जस्तो, कुनै भैँसीले मिठो घाँस खाएको सपना देख्छ, उसले गाडी चढेको, उडेको, रत्यौली नाचेको सपना त देख्दैन। त्यस्तै गरी उसले पनि भारी बोकेको र १,२ किलो चामलको पोको बोकेर घर फर्केको सपना बाहेक केही देखेन। अब त सपनाको पनि अन्त्य भयो।
आर्यघाटको माथिल्लो चितामा अर्को लास ओर्लियो। तिलगंगादेखि गाडीका लाइन लागेर एउटा शव वाहन। सुकिला, गोरा, झपक्क गहनाले झकिझकाउ बनेका मलामीहरू। घरभरि आफैँले कमाएर जोडेका गाडीका ताँती भए पनि उसलाई आज आफ्नो निजी गाडी चढ्ने अनुमति नभएर होला, सायद ऊ शव वाहनमा सवार थियो।
आर्यघाटको पेटी ढपक्कै ढाकियो। भित्तो समाएर रुँदै गरेकी अघिकी नवविधवा महिलाले आँसु पुछेर परतिर आँखा फाल्न थाली। सायद सोची होली, हामी गरिब मात्रै होइन, धनी पनि मर्दा रहेछन्। त्यो लासमाथि यति धेरै फूलका माला थिए कि, लाग्थ्यो कुनै फूल बगान नै रित्याएर ल्याइएको थियो। खादा र मालाले ढाकिएको लासका सयौँ मलामीहरू कुनै राजपरिवारका सन्तानजस्ता सुकिला देखिन्थे। उनीहरू अङ्ग्रेजीमा कुरा गरिरहेका थिए, कोही कुराकानीकै क्रममा हाँस्दै फेरि मुख बिगार्दै थिए। लासका आफन्तहरूलाई देख्दा लाग्थ्यो, त्यो लास हुनु र नहुनुमा कसैलाई कुनै पहाड खस्ने वाला थिएन, जसरी ती महिलालाई थियो।
त्यो लास जो धेरै महिनादेखि कुनै सुविधा सम्पन्न हस्पिटलको स्पेसल क्याबिनमा सुतेको थियो र उसका लागि त्यो गर्न उसले सबैलाई सम्पन्न बनाइदिएको थियो। लासलाई ब्रह्मा नालमा सुताएपछि फूलहरू उतारिए, खादाहरू उतारिए, लास लास नै रहन गयो। उसका आवरणमा ढाकिएका शृङ्गारका पाप्राहरू उप्किएपछि ऊ र कुस्माको भरिया उस्तै भए। फरक थिए त मलामीका आवरण, उनीहरूका दौलत, रवाफ, जो पछि यसरी नै नाङ्गै ब्रह्मा नालमा सुतेर बिदा हुन्थे।
बाँचुन्जेल सम्पन्नताको पहाडमा चढेका र पातालमा धसिएकाहरू मरेपछि उनीहरूको वार्तालाप हुन्थ्यो कि हुँदैनथ्यो थाहा भएन। एउटा भरिया र काठमाडौँको अरबको मालिकबिच कुनै सांसारिक सुख, धन सम्पत्तिको बहस होला कि नहोला? यी दुईको गन्तव्य स्वर्ग होला कि नर्क होला? गन्तव्य जता भए पनि आर्यघाटबाट हुने उडानको जहाज त एउटै होला र ट्रान्जिटमा पुगेपछि बदली होला। त्यति बेलासम्म त यिनीहरूले पक्कै पनि केही वार्तालाप त होला।
जस्तो कि भरियाले आफूले बोकेका डोका, नाम्ला, साहुका भारी, भारी बोक्दा हिँड्ने अक्कडे पहाड, उसले भारी बोकेर तरेका उर्लेका खोलाहरू, गिठा भ्याकुर, ५ वर्षमा एक पटक दसैँमा श्रीमतीलाई किनिदिएको एउटा गुनियो, छोराछोरीको जागे, भोटो अनि वर्षमा एक पटक दसैँमा पलेटी कसेर डकार्ने खाएको मासु भात।
अर्कोले सायद उसका घरमा पार्क गरिएका गाडीको मोडेल जस्तो टोयोटा, मर्सिडिज्, ल्यान्ड रोभर, युरोप र अमेरिकाको सयर, बैंक ब्यालेन्स, घरजग्गा, शेयर अनि आफूले रातारात कमाएको अथाह सम्पत्ति। आखिर यी दुवै आज रिटर्न टिकट नलिई आफ्नो गन्तव्यमा जाँदै छन्, सबै छोडेर। सायद उनीहरूको वार्तालापको लाइभ टेलिकास्ट हुन्थ्यो भने बाँच्ने मान्छे अथवा मलामीहरूले सबैभन्दा ठुलो शिक्षा लिन सक्थे। तर हुँदैन, किनकि जन्मँदा एक्लै जन्मेझैँ हरेक अन्तिम यात्रा पनि एक्लै तय गर्नुपर्छ, जसरी उनीहरूले गर्दै छन्।